सर्च एण्ड अरेस्ट अपरेसनुमा भेटिएनन् विप्लव, प्रहरी भन्छ– नेपालमै छैनन्

देश

Yugnepal     707 पटक पढिएको    

सर्च एण्ड अरेस्ट अपरेसनुमा भेटिएनन् विप्लव, प्रहरी भन्छ– नेपालमै छैनन्

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि गएको फागुन २८ गते प्रतिबन्धको घोषणा गर्यो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई आपराधिक तथा विध्वंशकारी ठहर गर्दै प्रतिबन्धको घोषणा गरिएको हो । 

सरकारले सुरक्षा निकायलाई विप्लव समूहका गतिविधिमाथि निगरानी–पक्राउ गर्न परिचालन गर्यो । सरकारको प्रतिबन्धपछि विप्लव समूहका २ सय बढी नेता नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रतिबन्धअघि देशभरबाट ३ सय ९७ जना नेता–कार्यकर्ता पक्राउ परेका थिए । अहिलेसम्म विप्लव समूहका तेस्रो वरीयताका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, मोहनबहादुर कार्की ‘जीवन्त’, सूर्यबहादुर भुजेल, वसन्त श्रेष्ठ, शङ्कर अधिकारी, बुद्धबहादुर स्याङ्तान, देवराज घिमिरे, रामकृष्ण खतिवडा लगायतका नेता–कार्यकर्ता पक्राउ परेका छन् । 

विप्लव समूहको हिंसात्मक र विध्वंशात्मक क्रियाकलाप बढाउँदै लगेकाले त्यस्ता गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न प्रतिबन्ध लगाइएको प्रधानमन्त्री, गृहमन्त्री र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बताउँदै आएका छन् । तर, सरकारले विप्लवलाई पक्राउ भने गर्न सकेको छैन । तत्काल सरकारसँग वार्ता नगर्ने अडान लिएको विप्लव समूहले विभिन्न स्थानमा विष्फोट, चन्दा आतंक लगायतका क्रियाकलाप भने जारी राखेको छ । गत फागुनमा प्रतिबन्धअघि मात्रै विप्लव समूहले मुलुकका २५ स्थानमा बम राखेको थियो भने तीमध्ये ४ स्थानमा विष्फोट भएको थियो ।

२४ स्थानमा आगजनी गरेका थिए भने विष्फोटमा एकजनाको मृत्यु भएको थियो । अन्य २ जना घाइते भएका थिए । विप्लव समूहले उपत्यकाका विभिन्न स्थानमै विभिन्न स्थानमा बम राखेका थिए । सुरक्षा निकायले विप्लव विरुद्धको कारवाही तिव्र पारेपछि बम आतंक भने कम भएको छ । 

किन पक्राउ पर्दैनन् विप्लव रु
एक साताअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विप्लव समूहमाथि संकेत गर्दै प्रहरी कठोरताका साथ अगाडि बढेको बताएका थिए । उनले सांकेतिक रुपमा विप्लवलाई खोजिरहेको दाबी गरे । पूर्व माओवादी जो अहिले सरकारमा छन्, उनीहरुको बुझाइमा विप्लवलाई समात्नेबित्तिकै उसका गविविधिमा पूर्णविराम लाग्नसक्छ । 

विप्लव तत्कालीन माओवादी अध्यक्ष दाहालका कुनै समय निकै विश्वासपात्र समेत मानिन्थे । असन्तुष्ट लडाकु, पूर्व माओवादी नेता–कार्यकर्ताको मनोविज्ञान बोकेर राजनीतिक नारा दिँदै अघि बढेका विप्लवको खोजी प्रहरीले सर्वत्र गरेको छ । देशभर आन्तरिक सर्कुलरसमेत जारी भएको छ । विभिन्न जिल्लामा विप्लवविरुद्ध मुद्दा छन् । प्रहरीले विप्लवसहित नेता–कार्यकर्ता खोज्न गाउँ–गाउँमा प्रहरी परिचालित छ । तर प्रहरी अधिकारी भने विप्लव नेपालमै नभएको दाबी गर्छन् । एक प्रहरी अधिकारीले भने, ‘‘नेपालमा भएको भए अहिलेसम्म विप्लव पक्राउ परिसक्थे । उनी नेपालमा छैनन् । प्रतिबन्धअघि नेपालमा आउने¬जाने गर्ने गरेको सूचना थियो । तर अहिले उनी आउन छाडेका छन् ।’’ सुरक्षा संयन्त्रले विप्लव भारतमा बस्दै आएको बताउँदै आएको छ । 

देशभर कार्यकर्ताको कार्यक्षेत्र हेरफेर
प्रतिबन्धपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले एक्लाएक्लै र संयुक्त रुपमा ‘सर्च एण्ड अरेस्ट अपरेसन’ सुरु गरेको थियो । अपरेसन चलाएपछि सबैजसो नेता–कार्यकर्ताले सदरमुकाम र गाउँ छाडेका छन् । प्रहरी अधिकारीका अनुसार विप्लव लगायतका सबै शीर्ष नेता भूमिगत छन् । यसअघि गाउँमा रहेका नेता–कार्यकर्ता सुरक्षा कारवाहीबाट बाँच्नका लागि विकट ग्रामीण इलाका, चुरे पहाड तथा जंगलमा लुक्न थालेका छन् ।

विप्लव समूहले सबैजसो नेता–कार्यकर्ताको कार्यक्षेत्र समेत हेरफेर गरेको छ । पुराना सिमकार्ड सबैले फेरेका छन् । विप्लव समूहका नेता–कार्यकर्ता टेलिफोनभन्दा इमो, भाइबरमार्फत् पार्टीका आन्तरिक सन्देश आदानप्रदान गरिरहेको अनुसन्धानबाट खुलेको छ । पार्टीका बैठक, भेला र प्रशिक्षण पनि जंगलमै हुने गरेको छ । ‘‘हामीले विप्लव समूहका नेता–कार्यकर्ताको कल डिटेल, लोकेसनलगायत हेर्न थालेपछि शीर्ष नेताहरुले मोबाइल प्रयोग गर्न छाडेका छन् भने तल्लो तहका नेता–कार्यकर्ताले मोबाइल सेट र सिमकार्ड फेर्न थालेका छन्,” एक अधिकारीले भने ।बाह्रखरीबाट साभार



सोमबार १६, बैशाख २०७६ ०३:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.