कर्णालीमा आफ्नो शक्ति नाप्दै एकीकृत समाजवादी

युग संवाददाता     221 पटक पढिएको    

कर्णालीमा आफ्नो शक्ति नाप्दै एकीकृत समाजवादी

कर्णाली / आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावलाई लक्षित गरेर नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेशमा आफ्नो शक्ति सन्तुलनको अवस्थाबारे बुझ्नका लागि नेताहरूलाई जिल्लाहरूमा खटाएको छ ।

प्रदेश कमिटीको विस्तारित बैठकले आन्तरिक शक्तिलाई मूल्याङ्कन गर्न र नेताहरूको जनस्तरमा आधार मापन गर्नका लागि प्रदेश कमिटीका पदाधिकारीलाई जिल्लाहरूमा खटाउने निर्णय गरेको हो । सोही अनुसार शनिबारदेखि नेताहरू आफ्नो भाग परेको जिल्लामा खटिसकेका छन् । पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य एवम् सुर्खेत जिल्ला अध्यक्ष मोहन बडूवालले नेताहरूले एक हप्तासम्म जिल्लामा बसेर पार्टीको वस्तुस्थिति बुझ्ने बताए ।

‘एक हप्ताभित्र पार्टी नेता, कार्यकर्ता पत्रकारहरू, नागरिक समाजका अगुवाहरूसँग बसेर हाम्रो पार्टीको शक्तिको सन्दर्भमा र नेताको जनस्तरमा उसको भूमिकाको विषयमा प्रतिवेदन तयार गरिनेछ,’ रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभाको सम्भावित उम्मेदवारको निर्क्योल पनि त्यसैले गर्नेछ ।’ उनका अनुसार पार्टीका प्रदेश अध्यक्ष अमरबहादुर थापालाई सुर्खेतमा खटाइएको छ । उनको गृह जिल्ला दैलेखमा भने प्रदेश इञ्चार्ज समेत रहेका प्रकाश ज्वाला खटिएका छन् । ज्वालाको गृह जिल्ला सल्यान हो ।

यस्तै हुम्लामा केन्द्रीय कमिटी पोलिटब्युरो सदस्य शेर बहादुर केसी, सल्यान र डोल्पामा प्रदेश कमिटी सचिव खगेन्द्र पुरी खटिएका छन् । कर्णाली सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहेका सह–इञ्चार्ज चन्द्रबहादुर शाहीलाई जाजरकोटमा खटाइएको छ । उनी मन्त्री भएकाले नजिक पायक पर्ने जिल्लामा खटाइएको हो । यस्तै कुर्मराज शाहीको गृह जिल्ला कालिकाटमा प्रदेश कमिटी उपसचिव कृष्ण बिसी र शाहीलाई भने जुम्लाको जिम्मेवारी दिइएको छ । बडूवालका अनुसार रुकुममा हंशबहादुर शाही र मुगुमा देविलाल थापालाई जिम्मेवारी दिइएको छ ।

‘नेताहरूलाई अन्तर जिल्लामा खटाइनुको मुख्य उद्देश्य पार्टीको सांगठनिक गतिविधिलाई चलायमान गर्ने र समन्वय कमिटीहरूको बैठक गर्ने हो । ‘आफ्नो जिल्लामा त हामीले राम्रै छ भनेर आफ्नो वस्तुस्थितिको बारेका रिपोर्टिङ गर्छौँ नै,’ बडूवालले भने, ‘अन्य जिल्लाबाट आएका नेताले त्यो जिल्लामा पार्टीको शक्तिलाई आङ्कलन गर्ने, गठबन्धन पार्टीहरूको सम्बन्धबारेमा छलफल चलाउने र सो जिल्लाको राजनीतिक शक्ति सन्तुलनका विषयमा प्रतिवेदन तयार गर्नेछन् ।’

अन्तर जिल्लामा खटिएको नेताहरूको प्रतिवेदन प्रदेश कमिटीमा प्रस्तुत गरिनेछ । सोही प्रतिवेदनमाथि छलफल पछि संघ र प्रदेशको निर्वाचनमा उम्मेदवारको छनोट हुने बडूवालले  बताए । 



सोमबार २३, साउन २०७९ ०९:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.