पुलमा हिड्ने सपना अधुरै

युग संवाददाता     151 पटक पढिएको    

पुलमा हिड्ने सपना अधुरै

धनगढी,  / ग्रामीणवासीको झोलुङ्गे पुलमा हिड्ने कैयौं वर्षदेखिको सपना पूरा नहुँदै नदीमा बगेको छ । 
कैलालीको कैलारी गाउँपालिका–३ वडावासीको झोलुङ्गे पुलमा हिड्ने सपना सपनामै सीमित भएको हो । सो वडाको खोनपुर घाटस्थित मोहना नदीमा निर्माणधीन झोलुङ्गे पुलको एकतर्फको पिल्लरलाई मोहना नदीले कटान गरेपछि स्थानीयको चाहना यो वर्ष पनि पूरा नहुने भएको छ । केही दिन अगाडि बाढीले पिल्लर कटान गरको थियो । 
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र पूर्वाधार विकास कार्यालयमार्फत झोलुङ्गे पुल निर्माणको कार्य सुरु गरिएको थियो । २०७७ मा टेन्डर गरी निर्माणको कार्य अगाडि बढाइए पनि अहिलेसम्म पुलको पिल्लरमात्रै ठ¥याइएको थियो । 
यस वर्ष पुल निर्माण कार्यलाई पूरा गर्ने कुरो भए पनि बाढीले पिल्लर नै बगाइ दिएको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए । पिल्लर बगेपछि झोलुङ्गे पुल निर्माणमा कार्य फेरि पछाडि ढकेलिएको छ । 
वडा नम्बर ३ को मोहना नदी पारिको बस्ती शिवरत्नपुरलाई वारिसंग जोडनका लागि झोलुङ्गे पुल निर्माणको कार्य अगाडि बढाइएको थियो । यसैगरी, त्यहाँ पुल बनेमा खोनपुर, भर्री, के गाउँ, हसुलिया, गोबरैला लगायतका गाउँका स्थानीयलाई आवतजावत गर्न सहज हुनेछ । 
निर्माणाधीन पुलको पिल्लर नै नदीमा बगेपछि वडावासीहरुको झोलुङ्गे पुलमा हिड्ने सपना सपनामै सीमित भएको वडा अध्यक्ष सन्तराम चौधरीले बताए । उनका अनुसार पुल नभएका कारण स्थानीयवासी जोखिम मोलेर डुङ्गामार्फत मोहना नदी वारपार गर्दै आएका छन् । 
खोनपुर घाट लगायत विभिन्न क्षेत्रमा मोहना नदीले कटान गरिरहेको छ । नदीले सोही वडाको निमुवाबोझीस्थित धनबेलिया सामुदायिक वनका अत्यधिक भू–भागलाई कटान गरिसकेको बसन्ता सामुदायिक वन समन्वय समितिका अध्यक्ष रमेश चौधरीले बताए । नदीले धेरै रुख कटान गरेर लगिसकेको उनले जानकारी दिएका छन् । 



आइतबार २२, साउन २०७९ ०८:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.