काठे पुल पुनर्निर्माण नहुँदा ओहोरदोहोरमा समस्या

युग संवाददाता     317 पटक पढिएको    

काठे पुल पुनर्निर्माण नहुँदा ओहोरदोहोरमा समस्या

धनगढी / कैलालीको कैलारी गाउँपालिका–७ रामपुरस्थित कटैनी नदीको अस्थायी पुल पुनर्निर्माण नहँुदा स्थानीयलाई सास्ती भएको छ । 
महत्वपूर्ण कृषि सडक अन्तर्गतको सो पुल बिग्रेको एक महिना भए पनि पुनर्निर्माण नभएपछि स्थानीयलाई आवजावत गर्न सास्ती भएको हो । गएको असारमा आएको बाढीले कटैनी नदीको काठे पुललाई बगाएको थियो । तर, सो स्थानमा अहिलेसम्म अस्थायी पुल पुनर्निर्माण हुन नसकेको छैन । 
काठे पुल नहुँदा ओहोरदोहोर गर्न सास्ती भएको रामपुर गाउँका भलमन्सा रामलाल चौधरीले जानकारी दिए । उनले नदीमा काठे पुल नहुँदा कैयौं गाउँवासीलाई ओहोरदोहोर गर्न निकै सास्ती भएको बताए । पुल नभएपछि सवारी साधन आवतजावत पनि ठप्प भएको छ । 
पक्की पुल बन्न नसकेका स्थानमा गाउँवासी आफ्नै बलबुटामा काठे पुल बनाएर हिडडुल गर्दै आएका छन् । त्यस्ता अस्थायी पुलमा सवारी साधनसमेत गुडाउने गरिएको छ । गाउँघरमा काठे पुलको अभ्यास गतविगतबाटै हुँदै आएको छ । असार दोस्रो साता आएको बाढीले रामपुरस्थितमात्रै नभइ छटकपुर बसन्तामा रहेको काठे पुल पनि बगाएको थियो । 
कटैनीको बाढीले अस्थायी पुल बगाएपछि निरीक्षण गर्दै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सकेसम्म चाँडै अस्थायी पुल पुनर्निर्माण गरिने प्रतिवद्धता जनाएका थिए । तर, पुल बिग्रेको एक महिना भए पनि अहिलेसम्म पुनर्निर्माण हुन नसकेको स्थानीयको गुनासो छ । वर्षा याममा कटैनी वारपार गर्न कठिनाइ रहेकाले तत्कालै पुल बनाउन आवश्यक रहेको उनीहरुको भनाइ छ । आफूहरुलाई धेरै समस्या रहेको उल्लेख गर्दै भलमन्सा चौधरीले गाउँघरमा अझै पनि सरकार आएको महसुस हुन नसकेको बताए । 
‘हाम्रो जनश्रमदानलेमात्रै पुल पुनर्निर्माण गर्न सक्ने अवस्था छैन’, उनले भने । ‘काठ किन्नका लागि पैसा आवश्यक छ ।’ बाढीले बाँकी राखेको पुलको काठ जेसीबी प्रयोग गरेर निकालिएको थियो । जेसीबीको खर्च रामपुर र भुईयाँफाँटा गाउँको कोषबाट व्यहोरेको भलमन्सा चौधरीले बताए ।  
जनताको जनजीविकासंग जोडिएको महत्वपूर्ण कृषि सडकस्थित काठे पुल पुनर्निर्माणका लागि गाउँपालिकाले डेढ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा नम्बर ७ का वडा अध्यक्ष दीपेन्द्र बमको भनाइ छ । उनले सो नदीमा पक्की पुल निर्माणका लागि डीपीआर भएको उल्लेख गर्दै चाँडै पुल निर्माण गर्न आफूले पहल गरिरहेको बताए ।  



आइतबार ०८, साउन २०७९ ०८:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.