सेतीमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह

युग संवाददाता     305 पटक पढिएको    

सेतीमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह

डोटी /  तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको जनाउँदै सचेत रहन जिल्ला प्रशासन कार्यालयले यहाँका सबै नागरिकलाई आग्रह गरेको छ ।

जिल्लाको गोपघाट र दिपायलमा रहेको बाढीमापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ५.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ ।

नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ ।

सेतीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कमला श्रेष्ठले बताए ।

लगातारको वर्षाका कारण बाढीपहिरो आउने खतरा बढेकाले प्रजिअ श्रेष्ठले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी)लाई ‘हाइअलर्ट’ मा बस्न निर्देशनसमेत दिएका छन् ।  

विपद् तथा नदीबाट हुने खतराबाट जोगिन प्रशासनले चौबिसै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशनसमेत दिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । जिल्लामा लगातार वर्षा भइरहे पनि अन्य साना नदीमा पानीको बहाव समान्य अवस्थामै रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ,भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । 

वर्षा सुरु भएसँगै पहिरा खस्दा जिल्लाका ग्रामीण भेगका अधिकांश सडक अहिले सवारीसाधन गुड्न नसक्ने अवस्थाका भएका छन् । उता जिल्लाको जोरायल तथा बडिकेदार गाउँपालिकाको बिपीनगरमा रहेको ठूलीगाडमा समेत पानीको सतह निकै बढेकाले सतर्क रहन त्यहाँका नागरिकलाई आग्रह गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए। 



बिहिबार ०५, साउन २०७९ ०६:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.