कर्णाली र सुदूरपश्चिम जोड्न कर्णाली नदीमा दुई पुल निर्माण

युग संवाददाता     359 पटक पढिएको    

कर्णाली र सुदूरपश्चिम जोड्न कर्णाली नदीमा दुई पुल निर्माण

टीकापुर / कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन् । पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवद्र्धनमा पनि सहज हुने जनाइएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि तराई, पहाड र हिमाली जिल्लाका नागरिकलाई सहज हुनेछ । सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्लाका बासिन्दाले पैदलयात्रा गर्दै आएको सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक सञ्चालनमा छन् ।

सो बाटो भएर कैलाली र सुर्खेतका नागरिकमात्र आवतजावत गर्ने नभई सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक पनि हिँड्ने गर्छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का वडाध्यक्ष हरिप्रसाद ढकाल घाटगाउँ, गल्टा, तातापानी जोड्नेमात्र पुल नभई दैलेख, अछाम, कालिकोट, हुम्ला, जुम्लाका मानिसलाई पनि यो पुलले सहज हुने जानकारी दिए । “पहिला डुङ्गाबाट तर्नुपथ्र्यो त्यसमा निकै असहज हुन्थ्यो । डुङ्गा तर्नुपर्दा दुईदेखि चार दिनसम्म कुर्नुपर्ने बाध्यता थियो”, उनि भन्छन् “अहिले धेरै सहज भएको छ । यो बाटोमात्र नभई अछाम, दैलेख, कालिकोट, हुम्ला, जुम्लाका मानिसलाई तराईसँग जोड्ने माध्यम पनि हो ।”

यी बाटाहरू पुराना बाटाका रूपमा चिनिएका बाटा हुन् । विगतमा यी बाटा भएर हिँड्ने नागरिकले निकै नै कष्टकररूपमा यात्रा गर्नुपथ्र्यो । कर्णाली नदीमा झोलुङ्गे पुल पनि नहुँदा दुई–तीन दिन कुरेर डुङ्गाबाट नदी तर्ने गरिन्थ्यो । पुल बनेपछि सबै समस्या समाधान भएका चौकुने गाउँपालिका–१० का वडाध्यक्ष नन्दराम खनालले बताए । “यो धेरै पुरानो बाटो हो । विगतमा घोडा चढेर आउने, डुङ्गा कुर्नुपर्ने बाध्यता थियो । तर अहिले जतिखेर हिँडे पनि सजिलो छ”, उनले भने, ‘‘पहाडी जिल्लाका मानिसलाई पुल बनेपछि निकै सहज भएको छ ।”

पश्चिम नेपालको तराई, पहाड  हुँदै  हिमालसम्म जोड्ने छोटो दूरीका रूपमा रहेका यी बाटा पहिलेदेखि नै चलनचल्तीका हुन् । इतिहास बोकेका बाटा भएकाले त्यहाँ पुल बनेपछि आवतजावतमा सजिलो हुनुका साथै चिसापानी कुइने क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा पनि विकास गर्न सकिने मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउद जानकारी दिए ।

“परम्परागत इतिहास बोकेका बाटा हुन् । पहाडी जिल्लाका मानिस हाट आउने बाटा हुन् यी, चिसापानी कुइने पर्यटकीय दृष्टिले पनि यो सुन्दर ठाउँ हो”, उनि भन्छन् , “यो बाटोले तराई, पहाडमात्र नभएर हिमाली जिल्लालाई जोड्ने भएकाले यहाँ धेरै फाइदा भएको छ ।”

अनक कन्ट्रक्शन रोशन जेभीले विसं २०७४ बाट निर्माण सुरु गरेको चिप्लेघाट पुलको निर्माणकार्य सम्पन्न भइसकेको छ । कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको चौकुने गाउँपालिका–१० जोड्ने चिप्लेघाट पुुल रु ६२ करोडको लागतमा निर्माण भएको हो । पाँच सय ५० मिटर लामो पुलको आठवटा स्पान रहेका छन् ।

अर्को पुल कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पञ्चपुरी नगरपालिका–११ जोड्ने कुइनेघाटमा निर्माण भएको छ । अनक लुम्बिनी जेभीले निर्माण गरेको यो पुलको पनि निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । तीनसय मिटर लामो मल्टी स्पान आर्क ब्रिज रु ३२ करोडको लागतमा निर्माण भएको हो । पुलको निर्माणकार्य अन्तिम चरणमा पुगिसकेको र आउँदो दशैँभित्र पुलमाथि सवारीसाधन हिँडाउने तयारी भइरहेको पुल निर्माण कम्पनीका प्रबन्धक दिनेश श्रेष्ठले बताए । “अहिले कर्णाली चिप्लेघाटमा बनेको पुल सम्पन्न भइसकेको छ । अर्को पुलमा साइडमा मानिस हिँड्ने बाटो बन्दैछ । अब केही दिनमा सञ्चालन हुन्छ”, उनले भने,  

यी दुवै पुल नेपाल सरकार सडक विभागको पुल आयोजनाअन्तर्गत बनेका हुन् । यसरी पुल पुलेसा बन्नु भनेको विकासका कार्य हुनुका साथै नागरिकलाई सडक, सुविधासँग जोड्ने काम हुने स्थानीय रेवती धामी बताए । “डुङ्गाको जोखिमपूर्ण यात्राबाट मुक्ति पाएका छौँ”, उनले भने, “पुल बनेकाले अब यहाँसम्म सहजरूपमा पुग्ने सडक सञ्जालको विस्तार गर्नुपर्छ ।”



आइतबार ०१, साउन २०७९ ०८:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.