बैतडी जिल्लाको पाटनमा​​​​​​​ बसपार्क निर्माणको काम अलपत्र, बजारमै पार्किङ

युग संवाददाता     258 पटक पढिएको    

बैतडी जिल्लाको पाटनमा​​​​​​​ बसपार्क निर्माणको काम अलपत्र, बजारमै पार्किङ

बैतडी / बैतडी जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा पनि अहिलेसम्म पूरा हुन नसकेको हो ।

पाटनमा सवारीसाधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाइए पनि समयमै निर्माणको काम सम्पन्न नहुँदा स्थानीयबासिन्दा समेत निराश भएका छन् । आठवटा बस र चारवटा जीप एकैपटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या भएको उनीहरुले बताए । बसपार्क निर्माणको काम ढिलाइ हुँदा सवारीसाधन बजारमै पार्किङ गर्ने गरिएको स्थानीय दीनेश विष्टले जानकारी दिए । उनले भने, “बसपार्क निर्माण गर्न ढिलाइ भएको छ, अव्यवस्थितरुपमा बजारमै पार्किङ गरिँदा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।”

बसपार्क निर्माणअन्तर्गत अपाङ्गमैत्री शौचालय, बस र जीपका लागि छुट्टाछुट्टै पार्किङ, आरसिसी बाटो, काउन्टर भवन निर्माण गरिने उल्लेख भए पनि अहिलेसम्म काउन्टर भवन बन्न सकेको छैन । सुरुमा बजेटको अभाव, सङ्घीयतापछि सम्बन्धित कार्यालय केही समय सङ्घ र केही समय प्रदेश मातहत रहँदाको अन्यौल, कोभिडलगायत कारणले बसपार्क निर्माणमा ढिलाइ भएको भनिए पनि एउटै बसपार्क आठ वर्षदेखि निर्माण पूरा नहुँदा स्थानीयवासी निराश भएका हुन् ।

पाटन नयाँ सहर आयोजनाअन्तर्गत बसपार्क निर्माण भइरहेको भए पनि निर्माण सुरु भएको आठ वर्ष बितिसक्दासमेत निर्माणको काम सम्पन्न हुन सकेको छैन । पाटन नयाँ सहरमा व्यवस्थित बसपार्कको अवधारणाअन्तर्गत बसपार्क निर्माणको काम सुरु भए पनि विभिन्न कारणले अझै पनि निर्माण हुन नसकेको पाटन नयाँ सहर आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनीयर रोहितराज भण्डारीले बताए । 

एक सय ३० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बसपार्कको  ९० प्रतिशत काम पूरा भइसकेको भए पनि केही काम अझै बाँकी छ । उनले भने, “बसपार्कअन्तर्गत काउन्टर भवन र आरसिसी बाटो निर्माण गर्न बाँकी रहेको छ । त्यसका लागि ठेक्का जिम्मा पाएको प्रमोद कन्सट्रक्सनले यो वर्ष काम अघि बढाउन सकेको छैन ।” समयमै बसपार्क निर्माण नहुँदा बनेका संरचनासमेत जीर्ण हुन थालेका छन् । 



शनिबार २५, असार २०७९ ०३:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.