जनताको सेवक भएर काम गर्न जनप्रतिधिलाई रेशमको सुझाव

युग संवाददाता     250 पटक पढिएको    

जनताको सेवक भएर काम गर्न जनप्रतिधिलाई रेशमको सुझाव

धनगढी / जेल जीवन बिताइरहेका निलम्बित सांसद् रेशम चौधरीले कैलालीको स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीबाट जितेका जनप्रतिधिलाई मालिक नभइ जनताको सेवकको रुपमा काम गर्न सुझाव दिएका छन् । 
सो पार्टीबाट कैलालीका चार स्थानीय तहमा जितेका प्रमुख÷उपप्रमुखहरुले आज डिल्ली बजारस्थित काराकारमा गरेको सामूहिक भेटघाटका क्रममा उनले यस्तो आग्रह गरेका हुन । कैलालीको चार पलिकाको प्रमुख र तीन पालिकाको उपप्रमुखमा नागरिक उन्मुक्तिका उम्मेदवारहरूले जितेका थिए । निर्वाचन भएको करिब २ महिना पछि सामूहिक रूपमा आज रेशम चौधरीलाई डिल्लीबजारस्थित कारागारमा भेट्न पुगेका हुन् ।
टीकापुर नगरपालिकाको प्रमुख रामलाल डगौरा, जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी र उपाध्यक्ष रेखादेवी कठरिया, भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र उपप्रमुख राजु तिरुवा र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी र उपाध्यक्ष लालमति रावतले रेशम चौधरीलाई भेटेका हुन् ।
उनीहरूबीच करिब २ घण्टा छलफल भएको थियो । छलफलका क्रममा सुरूमा पार्टीका जनप्रतिधिले अहिलेको अवस्थाबारे चौधरीलाई जानकारी गराएका थिए । सबैको प्रतिक्रिया सुनेपछि चौधरीले जनप्रतिनिधिलाई राम्रो काम गर्न सुझाव दिएका थिए ।
‘अरू पालिकामा भन्दा तपाईँहरूले जितेको पालिकामा राम्रो काम हुनुपर्छ’ रेशम चौधरीले जनप्रतिनिधिलाई भनेका थिए, जनताको साशस होइन सेवक भएर काम गर्नुहोला ।’
जनप्रतिनिधि आइतबार नै काठमाडौं पुगेका थिए । केही प्रतिनिधिले सोही दिन  चौधरीलाई भेटेका थिए । सोमबार भने सामूहिक रूपमा भेट गरेका हुन् ।
भेटका क्रममा स्थानीय तहले राम्रो नीति तथा कार्यक्रम ल्याएको समेत चौधरीले बताए । चौधरीले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई कारागारबाटै नीति तथा कार्यक्रमको पनि सुझाव दिएका थिए ।
भेटमा चौधरीले अब पार्टीलाई कैलालीमा मात्र सीमित राख्न नहुने बताएका थिए । उनले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पनि जित्ने गरी तयारीमा लाग्न निर्देशन दिएका थिए ।
‘पार्टी कैलालीमा मात्र नभइ देशव्यापी रूपमा लैजान उहाँले सुझाव दिनु भयो’ रेशम चौधरीलाई भेटेर फर्किएका टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौराले भने, ‘त्यहाँ पनि जित्ने गरी लाग्नुहोला भन्नुभएको छ ।’
कानुनी अड्चनले आफ्नो नाममा पार्टी दर्ता गर्न नपाएपछि रेशमकी श्रीमती रन्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी दर्ता गराएकी हुन् । गत माघमा निर्वाचन आयोगमा दर्ता भएको पार्टीले कैलालीमा १३ मध्ये चार पालिकामा जित हात पारेको थियो ।
स्थानीय तह निर्वाचनको परिणामले हौसिएको पार्टी अहिले संसदीय निर्वाचनमा केन्द्रित छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट भारी मतले विजयी भएका थिए । अहिले उनी कारागारमा छन् । अबको प्रतिनिधिसभा सदस्यमा उनकी श्रीमती चुनाव लड्ने तयारी गरेकी छन् ।
चौधरीले जनप्रतिनिधिलाई कैलालीमा मात्र नभई अन्य क्षेत्रमा पनि प्रभाव पार्ने गरी काम गर्न सुझाव दिएका छन् ।
संविधान जारी हुनुअघि ७२ साल भदौमा थरुहट प्रदेशको माग गर्दै भइरहेको आन्दोलनले टीकापुरमा हिंसात्मक रूप लियो । घटनामा आठ सुरक्षाकर्मी र एक नाबालकले ज्यान गुमाए । टीकापुर क्षेत्रमा थरुहट आन्दोलनको नेतृत्व गरिरहेका रेशम घटना भएपछि फरार भए ।
उनीसहितलाई अभियुक्त बनाएर अदालतमा मुद्दा चल्यो । रेशम भने फरार अवस्थामै ०७४ मा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । चुनाव जितेपछि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरीसहित आठजनालाई जन्मकैदको सजाय भएको छ ।
थरुहट पक्षले अधिकारको आन्दोलनका क्रममा भएको घटना निर्दोषलाई जेल हालिएको भन्दै विरोध गर्दै आएको छ । टीकापुर घटना राजनीतिक भएकाले त्यसको समाधान पनि राजनीतिक रूपमै हुनुपर्ने उसको तर्क छ । नेपालप्रेसबाट 



सोमबार १३, असार २०७९ ०३:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.