कञ्चनपुरको पुनर्वास नगरपालिकाले ल्यायो ७७ करोड २४ लाखको बजेट

युग संवाददाता     300 पटक पढिएको    

कञ्चनपुर / कञ्चनपुरको पुनर्वास नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा ७७ करोड २४ लाख ४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न एघारौँ नगर सभामा नगर उपप्रमुख भुलिया कुमारी रानाले नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् ।

नगरपालिकाले बजेटको स्रोत अन्तर्गत आन्तरिक श्रोत ३ करोड ५० लाख सङ्घीय सरकार वित्तीय समानिकरणबाट १६ करोड ९५ लाख , प्रदेश सरकार वित्तीय समानिकरण १२ करोड ४१ लाख ६ हजार नेपाल सरकार सशर्त अनुदान चालु २४ करोड ३६ लाख, नेपाल सरकार सशर्त अनुदान पुँजिगत २ करोड ७७ लाख, राजश्व बाँडफाँड (सङ्घ) १२ करोड ५७ लाख ६३हजार, सङ्घीय सरकार विशेष अनुदान १ करोड ३० लाख सङ्घीय सरकार समपूरक अनुदान ८० लाख प्रदेश सरकार समपूरक १ करोड ३५ लाख ४ हजार, प्रदेश सरकार विशेष ७० लाख, सवारी साधन कर बाँडफाँड (प्रदेश) १ करोड ७ लाख १ हजार स्थानीय राजश्व बाँडफाँड १ करोड, अनुमानित अल्या भएर आउने रकम १०करोड प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै गरी नेपाल सरकारको आगामी आर्थिक वर्षको विनियोजन ऐन र आर्थिक ऐनको कानुनी व्यवस्था अनुरूप निम्न शीर्षकमा प्राप्त हुने रकमहरू जुन स्थानीय सरकारको विनियोजन ऐन र आर्थिक ऐनमा राख्नु नपर्ने साथै रातो किताबमा समेत देखाउनु नपर्ने तपसिल अनुसारका शीर्षकमा सामाजिक सुरक्षा अनुमानित रकम रु २० करोड, सडक बोर्ड नेपाल अनुमानित रकम रु ५० लाख,तराई मधेस समृद्धि कार्यक्रम अनुमानित रकम रु ३० लाख, प्रदेश पूर्वाधार विकास कार्यक्रम अनुमानित रकम रु १ करोड ५० लाख बजेटको स्रोतको रूपमा रहने जनाएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुनर्वास नगरपालिकाले आर्थिक विकास, पर्यटन प्रवर्द्धन क्षेत्रको विकास, सामाजिक विकास, विद्युतीय समस्याको समाधान, वन, वातावरण तथा सरसफाइ, सुशासन प्रवर्द्धन, प्राकृतिक तथा मानवीय विपद् व्यवस्थापन आदिलाई प्राथमिकताका राखेका छन् ।

आर्थिक वर्ष ०७९/०८० को नीति,कार्यक्रम तथा बजेटमा पुनर्वास नगरपालिकाले शिक्षा,स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिइएको छ । यसै गरी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासी लालपुर्जा वितरणका लागि आवश्यक पर्ने वजेट विनियोजनका साथै सम्पूर्ण कानुनी प्रक्रिया पुरा गर्ने नीति अवलम्बन गरि जग्गाधनी लालपुर्जा वितरण कार्यलाई तीव्रता दिइने जस्ता कार्यक्रम समावेश गरिएको छ ।

यसै गरी नीति तथा कार्यक्रममा पुराना र अधुरो योजनालाई प्राथमिकतामा राखी केही नयाँ कार्यक्रम लाई अगाडि सारेका छन्।नीति तथा कार्यक्रममा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यलाई अगाडी बढाउन पुनर्वास नगरपालिकामा ढल निकासको कार्यलाई आवश्यक सहकार्य र समन्वय गरिने, फोहोर प्रशोधन केन्द्र र फोहोर कम्पोस्ट केन्द्र सञ्चालनमा ल्याइने, लगायत विपद् व्यवस्थापन,सिचाई व्यवस्थापन,स्वच्छ खानेपानी तथा सरसफाइ,सडक,पुल तथा यातायात,भूमि व्यवस्थापन,सूचना प्रविधि तथा सञ्चार अन्तर्गतका नीति समेत कार्यक्रममा समावेश गरिएका छन् ।



शनिबार ११, असार २०७९ ११:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.