कैलालीका १२ पालिकाले ल्याए बजेट, कुनमा कति ?

युग संवाददाता     231 पटक पढिएको    

धनगढी / कैलालीका १३ मध्ये १२ पालिकाले शुक्रबार बजेट कार्यक्रम प्रस्तुत गरेका छन् । स्थानीय तहले असार १० गते भित्रै नीति तथा कार्यक्रम सँगै जेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप कैलालीका १२ पालिकाले शुक्रबार आफ्नो पालिकाको बजेट कार्यक्रम सार्वजनिक गरेका हुन् । कैलालीको जोशीपुर गाउँपालिकाले भने शुक्रबार बजेट प्रस्तुत गर्न सकेको छैन । शुक्रबार प्रस्तुत गरिएको पालिकाको बजेट यस प्रकार रहेको छ ।

सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ८३ करोड ८९ लाखको बजेट ल्याएको छ । आठौं अधिवेशनको दोश्रो बैठकमा उपमेयर कन्दकला रानाले  प्रस्तुत गरेका बजेटमा चालुतर्फ १ अब ३ करोड १९ लाख ७० हजार र पुजीगततर्फ ८० करोड ७० लाख ६२ हजार रहेको छ ।

आगामी आर्थिक बर्षका लागि ल्याएको बजेट चालु आर्थिक बर्षको बजेट भन्द १  करोड ७ लाखले बढी छ । धनगढी उपमहानगरपालिकाले चालु आवमा १ अर्ब ८२ करोड ८२ लाखको बजेट पारित गरेको थियो । उपमहानगरपालिकाले आन्तरिक आयबाट २६ करोड, राजश्व बाडफाडबाट ४७ करोड २९ लाख, अन्तर सरकार बित्तीय हस्तान्तरण  (संघीय सरकार)बाट ९६ करोड ४८ लाख, अन्तर सरकार बित्तीय हस्तान्तरण  ९प्रदेश सरकार०बाट ३५ करोड ३४ लाख र  मौज्दातबाट १० करोड हुने अनुमान गरेको छ ।

उपमहानगरपालिकाले आर्थिक बिकास तर्फ १४ करोड ४२ लाख ( ७ दशमलब ८४ प्रतिशत), सामाजिक बिकास तर्फ ७४ करोड ७८ लाख (४० दशमलब ६ प्रतिशत), पुर्वाधार बिकास तर्फ ४५ करोड  १० लाख (२५ दशमलब ५३ प्रतिशत)  बिनियोजन गरेको छ ।  त्यस्तै कार्यालय सञ्चालनमा ४१ करोड ८५ लाख (२२ दशमलब ७६ प्रतिशत)बिनियोजन गरिएको छ ।

धनगढी उपमहागरपालिकाले बिकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने निति लिएको छ ।  आव २०७९/०८० को बजेटमा बिकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने प्रस्ताव गरिएको छ । 

त्यस्तै, करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने प्रस्ताव बजेटमा गरिएको छ । खरिद प्रकृयालाई पारदर्शि बनाउँदै समयमै समयमै खरिद कार्य सम्पन्न हुने र आफ्नै आन्तरिक श्रोतले चालु खर्च धान्ने गरि आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने प्रतिवद्धता बजेटमा उल्लेख गरिएको छ ।

कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको गाउँसभाले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ६३ करोड ५१ लाख ८५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको हो । 

बजेट प्रस्तुत गर्दै पालिका अध्यक्ष राज समझ चौधरीले गाउँपालिकाले सशर्तका कार्यक्रमतर्फ २५ करोड ८५ लाख, कार्यालय सञ्चालन प्रशासनिक (चालु)तर्फ १० करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेका हुन् । यसैगरी, समपूरक कोषतर्फ ६ करोड ५० लाख, क्रमागत तथा अधुरा योजनातर्फ ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । 

कैलारी गाउँपालिकाले शुक्रबार नै पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । विगतका असल अभ्यासलाई गाउँपालिकाले संस्थागत गर्दै लैजाने र कमी कमजोरीलाई न्यूनीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै, समावेशी सिद्धान्तका आधारमा पूर्ण पारदर्शी रुपमा बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने बताए । त्यस्तै, भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको राष्ट्रिय भूमि आयोग तथा अन्य सरोकारवालासँग समन्वय गरेर व्यवस्थापन गरिने उल्लेख गरे ।

कैलारी गाउँपालिकाले गाउँपालिकाको साझा सवालको सम्बोधन तथा समग्र कैलारी गाउँपालिकाको दिगो विकासका लागि गाउँपालिकामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि, भलमन्सालगायत सरोकारवालासँग समन्वय तथा सहकार्य गर्ने जनाइएको छ । 

कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षमा अन्य स्थानीय तहसँग समन्वय गरी दमकल सञ्चालन गर्ने, वन तथा वन्यजन्तु पशुपन्छी संरक्षणका कार्यक्रम सञ्चालन गर्ने लगायत नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँसभाको अर्को बैठक असार १६ गते बोलाइएको छ ।

कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब २५ करोड बराबरको अनुमानित बजेट प्रस्तत गरिएको छ । शुक्रबार बसेको गोदावरीको नगरसभामा आगामी आर्थिक बर्ष २०७९/८० को बजे प्रस्तुत गर्दै नगरप्रमुख बिरेन्द्र भट्टले १ अरब २५ करोड ८ लाख ५० हजारको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । 

आगामी आर्थिक बर्षका लागि गोदावरी नगरपालिकाले चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुँजिगततर्फ ५३ करोड ८५ लाख २५ हजार बिनियोजन गरेको छ । नगर सभामा बजेट प्रस्तुत गर्दै नगरप्रमुख भट्टले स्वास्थ, शिक्षा र कृषिलाई मुख्य प्राथमिकता दिईने बताएका छन् ।

कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८५ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको ११ औं नगरसभामा बैठकमा नगर उपप्रमुख खडकबहादुर शाहले ८५ करोड ८ लाख ८४ हजार १ शय ६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

नगरसभामा प्रस्तुत बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत ४ करोड ६६ लाख, राजश्व बाँडफाँडमा १४ करोड २१ लख ५८ हजार, विशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा ८० लाख रुपैयाँ सीमा अनुमान गरिएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ५७ लाख ९७ हजार, राजश्व बाँडफाँडमा ९१ लख ५९ हजार, समपुरकमा ३० लाख र विशेष अनुदानमा ५० लाख सीमा अनुमान गरिएको छ । नगरपालिकाको आन्तरिक श्रोतबाट ७ करोड ५० लाख ७० हजार १ सय ६० रुपैयाँ, मालपोत दर्ता ३ करोड ७५ लाख, वचत हुने अनुमान ८२ लाख र वन रोयल्टीबाट २० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

नगर सभामा प्रस्तुत बजेटमा विपद व्यवस्थापन कोषमा १ करोड ५० लाख, समपुरक कोषमा ७ करोड विनियोजन गरिएको छ । यसअघिका जनतासँग जनप्रतिनिधि कार्यक्रम, महिला हिंसा न्यूनिकरण, अनाथ असहाय छात्रवृत्ति, निःशुल्क रक्त संचार, सडक मानवमुक्त नगर, हाम्री छोरीः प्यारी छोरी, सामुदायिक पशु व्यवस्थापन, होम टु हस्पिटल, टीकापुर अस्पताल चिकित्सक सहयोग, प्राविधिक शिक्षा छात्रवृत्ति, आमा बुवासँग उपमेयर, उज्यालो टीकापुर जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७६ करोड ७० लाख बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । पालिकाले शुक्रवार १० औँ गाउँसभा मार्फत कुल ७६ करोड ७० लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो । 

बर्दगोरियामा संघीय सरकारबाट ४४ दशमलव ६९ करोड र प्रदेश सरकारबाट १ दशमलव ५१ करोड बजेट सुनिश्चित भएको छ । पालिकाको आन्तरिक आय २ करोड ५० लाख हुने अनुमान गरिएको छ । नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान १३ करोड ६ लाख, विशेष अनुदान ३ करोड ९५ लाख, समपूरक अनुदान २ करोड ८० लाख, निशर्त अनुदान १२ करोड ५८ लाख, केन्द्र सरकारको राजस्व बाँड्फाँडबाट ९ करोड ५२ लाख २६ हजार र सशर्त पुँजिगत अनुदान २ करोड ७८ लाख गरी कुल  ४४ करोड ६९ लाख २६ हजार प्राप्त हुने भएको छ ।

यस्तै प्रदेश सरकारको विशेष अनुदान २७ लाख ५० हजार, वित्तीय समानिकरण अनुदान ८९ लाख १८ हजार, समपूरक अनुदान ११ लाख राजस्व बाड्फाडबाट   हजार गरी कुल १ करोड ५१ लाख २९ हजार प्राप्त हुने जनाइएको छ । 

यता गाउँपालिकाको आन्तरिक स्रोतबाट ७५ लाख, राजस्वबाट ७५ लाख र गाउँपालिकाको अन्य स्रोत रोयल्टी समेत गरी बाट करिब १ करोड गरी आगामी आर्थिक वर्षमा २ करोड ५० लाख रकम संकलन हुने अनुमान गरिएको छ । पालिकामा सामाजिक सुरक्षा भत्तामार्फत २० करोड प्राप्त हुने छ भने ८ करोड रुपैयाँ बैङ्क मौजदाद रहेको जनाइएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ३८ करोड बढीको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।शुक्रबार बसेको नगरसभाको बैठकमा बजेट कार्यक्रम प्रस्तु गर्दै लम्कीकी मेयर शुशीला शाहीले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि १ अर्ब ३८ करोड ४४ लाख २५ हजार बराबरको अनुमानित वजेट, नीति तथा क्रार्यक्रम प्रस्तुत गरेकी हुन् । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सडकलाई प्राथमिकता दिइएको छ ।

कैलालीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ९० करोड ६४ लाख ७५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गौरिगंगाको १२औँ नगरसभामा उपप्रमुख भोजबहादुर बमले संघीय समानीकरणतर्फ १७ करोड ७० लाख, सशर्त अनुदानबाट २० करोड ५२ लाख, सशर्त अनुदान पुँजीगतबाट तीन करोड १४ लाख, समपूरक अनुदान पुँजीगतबाट ८० लाख, विशेष अनुदानबाट ५० लाख, प्रदेश समानीकरणबाट एक करोड ३० लाख १९ हजार आयको अनुमानित विवरण पेस गरे ।

यस्तै, समपूरक अनुदानबाट ७३ लाख, विशेष अनुदानबाट २५ लाख, मूल्य अभिवृद्धि कर, अन्त शुल्कबाट १४ करोड ५२ लाख ८२ हजार, वन रोयल्टीबाट ३५ लाख, घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट दुई करोड, सवारी साधनबाट ८५ लाख ७६ हजार, सामाजिक सुरक्षा तथा संरक्षण भत्ताबाट २२ करोड ५० लाख, आन्तरिक राजस्वबाट तीन करोड ६५ लाख ७० हजार, अन्य रकम एक करोड ८१ लख २८ हजार आयको विवरण पेस गरिएको छ ।

कैलालीको भजनी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७० करोड ६९ लाख १७ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । भजनीमा चालुतर्फ १७ करोड ५५ लाख र पुँजीगततर्फ ५३ करोड १४ लाख १७ हजार रुपैयाँको बजेट उपप्रमुख राजु तिरुवाले प्रस्तुत गरे । भजनीको आन्तरिक आय दुई करोड ७५ लाख हुने अनुमान गरिएको छ । नगरपालिकाले सुशासन कायम गर्न नगर प्रहरी राख्ने, जनतासँग मेयर, आमासँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब एक करोड २३  लाख २९ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न नगरसभाले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, खेल क्षेत्रलाई प्राथमिकता दिंदै आगामी आर्थिक बर्षका लागि बजेट कार्यक्रम प्रस्तुत गरेको हो । 

कैलालीको जानकी गाउँपालिकाले आगमी आर्थिक बर्षका लागि ६९ करोड ३० लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । जानकीको दशौं गाउँसभामा उपाध्यक्ष लालमती कठरियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालुतर्फ ४५ करोड ८४ लाख पाँच हजार ५ सय १६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २३ करोड ५४ लाख ९४ हजार ४ सय ८३ रुपैयाँको अनुमानित बजेट पेश गरेकी हुन्। आयतर्फ आन्तिरिक स्रोत राजस्व परिचालनबाट तीन करोड नौ लाख  ५५ हजार, संघीय सामानीकरण अनुदानबाट १५ करोड ८६ लाख, संघीय राजस्व बाँडफाँटबाट १३ करोड ५२ लाख  ५१ हजार, संघीय सशर्त अनुदानतर्फ २४ करोड ३० लाख प्राप्त हुने जनाइएको छ । 

कैलालीको मोहन्याल गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४४ करोड ८९ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको गाउँसभाले ४४ करोड ८९ लाख १२ हजार रकमको बजेट पेस गरेको हो । कैलालीको चुरे गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४६ करोड ५१ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बजेट प्रस्तुत गर्दै चुरे गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधारलाई प्राथमिकतामा राखेको जनाएको छ । 



शनिबार ११, असार २०७९ ०९:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.