विनाशकारी गोरखा भूकम्पको ४ वर्ष पूरा, काम अपूरा

देश

युग संवाददाता     1477 पटक पढिएको    

विनाशकारी गोरखा भूकम्पको ४ वर्ष पूरा, काम अपूरा

विनाशकारी गोरखा भूकम्पको ४ वर्ष पूरा, काम अपूरा


काठमाडौं । पछिल्लो सबैभन्दा ठूलो भूकम्प गएको चार वर्ष पूरा भएको छ । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७।६ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा ९ हजार मानिसले ज्यान गुमाए भने १८ हजारभन्दा बढी घाइते भए ।
भूकम्पबाट नेपालका १४ जिल्ला अतिप्रभावित क्षेत्रमा गनिए भने त्यसको प्रत्यक्ष असर ३१ जिल्लामा पर्यो । नौ लाख घर तथा भवन भत्के ।
भूकम्पपछि तीव्र गतिमा हुनुपर्ने पुननिर्माण हुन सकिरहेको छैन । चार वर्षको अवधिमा केबल ५० प्रतिशत काम पूरा भएको छ । सरकारी भवन त बनेनन् नै सर्वसाधारणले पनि राहत पाउन सकेनन् ।

राजनीतिक चपेटामा परेका कारण पुननिर्माण प्राधिकरणको नेतृत्व परिवर्तन हुनु अनि कामको गति फरक हुँदै गर्दा पीडितले पीडा बोकेर हिँडिरहनु परेको हो ।

कतिपय पीडित त आकाशलाई नै घरको छानो बनाएर बस्दाबस्दा परलोकसमेत भइसके । सरकार भने आफ्नालाई रोजगारी र आफ्नाका साना दुःखमा साथ दिँदै हिँडेर घरबार नै नभएकालाई बेवास्ता गर्दै हिँडेको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले अहिलेसम्म ८० प्रतिशत काम सकिएको र २० प्रतिशत हुने क्रममा रहेको बताए पनि काठमाडौं उपत्यकामै ठडिन नसकेका भवन हेरेरै यसको कामको प्रगति अड्कल लगाउन सकिन्छ ।

२० प्रतिशतमात्र काम बाँकी रहेको बताए पनि प्राधिकरणले अझै ४ खर्ब रुपैयाँ खर्च लाग्ने दावी गर्दै आएको छ ।

अपनाइएन सचेतना
नेपाल अन्त्यन्त जोखिमयुक्त राष्ट्रमा पर्छ । नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रको रूपमा रहेको विज्ञहरुले नै बताउँदै आइरहेका छन् । नेपाल इन्डियन प्लेटमाथि रहेको र उत्तरमा रहेको युरेसिएन प्लेटसँग इन्डियन प्लेट जोडिएको ठाउँमा रहेकाले खतरा निकै छ ।

यी दुई प्लेटबीच संघर्ष हुँदा नेपाललाई भूकम्पीय जोखिमयुक्त क्षेत्रका रूपमा लिने गरिएको छ । झन्डै पाँच करोड वर्षअघि दक्षिणको इन्डियन प्लेट उत्तरको युरेसिएन प्लेटसँग ठोक्किएको अध्ययनकर्ताको अनुमान रहेको छ ।

यति हुँदा पनि निर्माणमा कुनै सजगता अपनाइएको छैन । २०७२ सालको दशैंसम्म घर पुननिर्माण गर्नेदेखि नयाँ बनाउनेले निकै सावधानी अपनाए । तीन तल्ले घर भएकाले समेत भत्काएर दुई तल्लामा झारे ।

तर तिनै विद्धानहरुले अहिले ढालेको एक तल्लालाई क्षतिपूर्ति हुने गरी दुई तल्लाबाट पाँच तल्लामा पुर्याए । उनीहरुको तर्क रहँदै आएको छ – ९० सालपछि बल्ल आयो ठूलो भूकम्प । अब आउन फेरि ८० वर्ष छ के को चिन्ता ।

यथार्थ के हो भने बैशाख १२ को भूकम्पले जति क्षति गर्यो त्योभन्दा बढी क्षति त्यसपछि आएका पराकम्पनले पार्यो । बैशाख २९ गते आएको ठूलो पराकम्पनले धेरै घर ध्वस्त पार्यो । धेरैको ज्यान लियो ।

२०७२ साल यताको चार बर्षमा झण्डै ४५ हजार पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसबीचमा कुनै महिना दिनहुँजसो धेरै संख्यामा र कुनै महिना दिन बिराएर परकम्प आउने गरेको छ ।

यो क्रम धेरै वर्षसम्म रहने भूकम्पविद्हरु बताउँछन् । सबैभन्दा डरलाग्दो तथ्यांक के हो भने शक्तिशाली भूकम्पपछि सबै शक्ति बाहिर नआएको कारण पटक पटक भूकम्प जाने गर्छ । फेरि विज्ञहरुले नै भनेका छन् कि २०७२ को उक्त भूकम्पको जोड बाहिर निस्किएकै छैन । जसका कारण कुनै पनि बेला ठूलो भूकम्प जान सक्छ ।

यसले गर्दा मुलुक जतिबेला पनि भूकम्पको उच्च जोखिममा छ । यसको खतरा न्यूनिकरण गर्न लाग्ने मानिस नै हो । पुनर्निमाणको काम छिटोभन्दा छिटो सक्ने हो भने जनताले राहत पाउने थिए ।

आँशिक क्षति हुनेहरुका लागि त सरकारले वास्तासमेत गरेको छैन । यो भने पक्कै पनि गम्भीर विषय हो ।

 



बिहिबार १२, बैशाख २०७६ ११:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.