अझै अधिकांश विद्यार्थीले पाएनन् पुस्तक

युग संवाददाता     275 पटक पढिएको    

अझै अधिकांश विद्यार्थीले पाएनन् पुस्तक

बाजुरा, ८ असार । नयाँ शैक्षिक सत्रमा भर्ना भएका बाजुराका अधिकांश विद्यार्थी पुरानै पाठ्यपुस्तक पढ्न बाध्य भएका छन् । 
कतैकतैका विद्यार्थीले भने नयाँ किताब पनि पढ्न पाएका छन् । बाजुराका पुस्तक डिपोबाट समयमै किताब पाएका विद्यालयका विद्यार्थीले नयाँ पुस्तक पढ्न पाएका छन् । शैक्षिक सत्र सुरु भएसँगै बाजुराका विद्यालय सञ्चालनमा आएका भए पनि किताब बिक्रेताले समयमै किताब विद्यालयलाई उपलब्ध नगराएपछि अधिकांश विद्यालयका विद्यार्थीले पुरानै किताब पढ्नुपरेकोे छ । 
बाजुराको बूढीगङ्गा नगरपालिका–४, महेन्द्र प्राथमिक विद्यालय कक्षा ५ का पविन कटुवालले कक्षा ४ बाट पास भएर ५ कक्षामा जानेबित्तिकै नयाँ किताब पाएको बताए । महेन्द्र प्राविका प्रधानाध्यापक भवानी रेग्मीले पविन एन्ड ललित स्टेसनरीले समयमै किताब उपलब्ध गरिदिएपछि सबै विद्यार्थीले नयाँ किताब पढ्दै आएको बताए । 
उनले अनुसार कक्षा १, २ र ३ मा १८–१८, चारमा ३० र पाँचमा ३७ सेट किताब माग गरिएकोमा सबै किताब समयमै उपलब्ध भएको हो । योसँगै त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, तोली छतारा, पन्धारालगायतका झन्डै ३४ वटा विद्यालयका ७५ प्रतिशत विद्यार्थीले पनि नयाँ किताबबाटै पठनपाठन गर्दै आएका छन् । 
शैक्षिक सत्र सुरु भएसँगै बाजुराका विद्यालय सञ्चालनमा आएका भए पनि कतिपय विद्यालयमा समयमै किताब नआइपुगेपछि त्यहाँका विद्यार्थी अहिलेसम्म नयाँ किताबको पर्खाइमा बसेका छन् । अहिलेसम्म किताब नआइपुग्दा अधिकांश शिक्षकले इन्टरनेटको सहायताले ह्वाइट बोर्डमा लेखेर पठनपाठन सञ्चालन गर्न बाध्य भएका छन् । 
बाजुराको बूढीगङ्गा नगरपालिका–२, धुरालसैन माविका प्रधानाध्यापक महासिंह थापाले भने–‘नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी भर्ना त लियौँ तर अहिलेसम्म पाठ्यपुस्तक नआइपुग्दा पढाउन समस्या छ ।’ बाजुरा डेल्टा स्टोरका पुस्तक बिक्रेता चन्दबहादुर खातीले कक्षा १, २ र ३ कक्षाका पाठ्यपुस्तक वितरण भइरहेको र बाँकी किताब आइनसकेकाले विद्यालयलाई उपलब्ध गराउन नसकेको बताए । 
जनक शिक्षा सामग्रीको प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका बुक डिपोलाई पुस्तक वितरण गर्दै आएको छ । जनक शिक्षाले बाजुरा र दार्चुलालाई पहिलो प्राथमिकता दिएर किताब वितरण गर्न प्रादेशिक कार्यालय धनगढीलाई निर्देशन दिएको भए पनि अझै बाजुरा र दार्चुलाका अधिकांश विद्यालयमा किताब पुगेका छैनन् । 
बूढीनन्दा नगरपालिका शिक्षा समन्वय समितिका संयोजक दयाराम केसीले १ देखि ५ कक्षासम्मका सबै पाठ्यपुस्तक आइसकेको भए पनि ६ देखि १० कक्षाको किताब नआएकाले विद्यार्थीलाई पठनपाठन गर्न निकै समस्या भएको बताए । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुराका २७४ विद्यालयले ८२ प्रतिशतभन्दा बढी विद्यार्थी भर्ना गरेका छन् । 

भर्ना भएका अधिकांश विद्यार्थीले अहिलेसम्म किताब पाएका छैनन् । यो वर्ष मतपत्र छपाइका कारण किताब छाप्न ढिलाइ भएकाले विद्यालयले समयमै पाठ्यपुस्तक नपाएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका संयोजक हर्कबहादुर सिंहले बताए । 



बुधबार ०८, असार २०७९ ०३:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.