बस्ती जोगाउन २० लाख रुपैयाँ लागतमा तटबन्ध

युग संवाददाता     210 पटक पढिएको    

बस्ती जोगाउन २० लाख रुपैयाँ लागतमा तटबन्ध

धनगढी / नदीबाट प्रभावित बस्तीलाई जोगाउनका लागि २० लाख रुपैयाँ लागतमा भौतिक र जैविक तटबन्ध निर्माण गरिएको छ । कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नपुर गाउँलाई जोगाउनका लागि मोहना नदीमा तटबन्ध गरिएको हो । 
वर्षा याममा मोहना नदीले शिवरत्नपुर गाउँतर्फ कटान गर्दै आएको छ । थप क्षति हुनबाट जोगाउनका लागि भौतिक र जैविक तटबन्ध बनाइएको तटबन्ध निर्माण उपभोक्ता समितिका सचिव स्यानु चौधरीले जानकारी दिए । 
उनका अनुसार गाउँपालिकाबाट प्राप्त १५ लाख रुपैयाँ बजेटमा भौतिक तटबन्ध बनाइएको छ । जेठ १५ गते नै भौतिक तटबन्ध निर्माणको काम सकिएको थियो । भौतिक तटबन्धको काम सकिएपछि पाँच लाख रुपैयाँ लगानीमा आठ सय मिटर जैविक तटबन्ध बनाउने कार्य भएको सचिव चौधरीले बताए ।  
गतवर्ष असोज–कात्तिकमा आएको बाढीले बालीनालीमा नोक्सान गर्नुका साथै जग्गा कटान गरेको थियो । नदीले नोक्सान गरेपछि शिवरत्नपुरवासीले कटान नियन्त्रण गर्न माग गरेका थिए । सो गाउँमा ९५ परिवारको बसोबास रहेको छ । तटबन्ध निर्माणमा गाउँवासीले नै जनश्रमदान गरेका छन् । 
खाद्य बैङ्कको १५ लाख रुपैयाँ बजेटबाट भौतिक र विपद् जोखिम न्यूनीकरणको पाँच लाख गरेर २० लाख रुपैयाँ लगानीमा तटबन्ध निर्माण कार्य भएको गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले बताए । गतवर्ष कात्तिकमा बेमौसमी वर्षा भइ आएको बाढीले अत्यधिक क्षति गरेपछि गाउँपालिकाले खाद्य बैङ्क स्थापना गरेको थियो । शिवरत्नपुर मोहना नदी पारि रहेको विकट बस्ती हो । भारतको चन्दन चौकी नजिक बस्दै आएको सो गाउँवासीले भारतीय वन अधिकारीको ज्यादति खेप्दै आएका छन् । त्यसैगरी, वर्षा याममा मोहना नदीका कारण सृजित समस्या भोग्दै आएका छन् । 



सोमबार ०६, असार २०७९ ०८:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.