थारु समुदायबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई

युग संवाददाता     242 पटक पढिएको    

थारु समुदायबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई

धनगढी / थारु कल्याणकारिण सभा कैलालीले थारु समुदायबाट कैलालीका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ । 
सभाले कैलारी गाउँपालिकाको हसुलियामा शनिबार कार्यक्रमको आयोजना गरी थारु समुदायबाट निर्वाचित जनप्रतिनिधिलाई ज्ञापन गरेको हो । थारु कल्याणकारिणी सभा कैलालीका कार्यबाहक सभापति माधव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थाकस केन्द्रीय सदस्य रामचरण चौधरी प्रमुख अतिथि रहेका थिए । यसैगरी, केन्द्रीय सदस्य प्रभातकुमार चौधरी विशिष्ट अतिथि रहेका थिए । 
कार्यक्रममा बोल्ने वक्ताहरुले थारु समुदायबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाईका साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । यसैगरी, थारु समुदायका जनप्रतिनिधिको संयन्त्र निर्माण गर्नु पर्ने, टीकापुर घटना राजनीतिक रहेकाले त्यसको सोही अनुसार समाधानका लागि आवाज उठाउनु पर्ने बताएका छन् । यस्तै, थारु समुदायमा रहेको प्रथाजन्य मूल्य मान्यतालाई कानूनी मान्यता दिनु पर्ने बताएका थिए । 
कार्यक्रममा थाकस केन्द्रीय सदस्यद्वय रामचरण चौधरी, प्रभातकुमार चौधरी, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरी, कैलारी गाउँपालिकाका ३ का वडा अध्यक्ष सन्तराम चौधरी, धनगढी ७ का वडा अध्यक्ष मोती राना, लम्कीचुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क कठरिया लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रम धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, लम्कीचुहा नगरपालिकामा जितेका जनप्रतिनिधिको सहभागिता रहेको थियो । 
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीबाट जितेका जनप्रतिनिधिको भने उपस्थिति थिएन । सो पार्टीबाट टीकापुर नगरपालिका प्रमुख रामलाल डङ्गौरा थारु, भजनी नगरपालिकाका प्रमुख केवल चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टी कैलालीमा ठूलो दल हो । यसैगरी, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना थारुको पनि कार्यक्रममा उपस्थिति थिएन । कार्यव्यस्तताको कारणले उनीहरु उपस्थित नभएको जनाइएको छ ।
कैलालीमा थारु समुदायबाट २७१ जना स्थानीय तहमा निर्वाचित भएका छन् । यो समुदायबाट दुई नगरपालिकामा नगर प्रमुख, तीन पालिकामा गाउँपालिका अध्यक्ष विजयी भएका छन् । टीकापुर नगरपालिकाको मेयरमा रामलाल डङ्गौरा थारु, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी निर्वाचित भए । यस्तै, जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी निर्वाचित भए । 
यस्तै, तीन नगरमा उपप्रमुख र तीन गाउँपालिकामा उपाध्यक्ष थारु समुदायबाट निर्वाचित भएका छन् । धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा कन्दकला राना, लम्कीचुहा नगरपालिकामा जुना चौधरी र घोडाघोडी नगरपालिकाको उपप्रमुखमा गुलियादेवी चौधरी निर्वाचित भएका छन् । 
यसैगरी जानकी गाउँपालिकाको उपाध्यक्षमा लालमतिदेवी कठरिया, जोशीपुरको उपाध्यक्षमा रेखादेवी कठरिया र कैलारी गाउँपालिकाको उपाध्यक्षमा भगवती चौधरी निर्वाचित भउका छन् । कैलालीमा थारु समुदायबाट वडा अध्यक्षमा ५८ र वडा सदस्यमा २०२ जना निर्वाचित भएका छन् ।



शनिबार ०४, असार २०७९ ०५:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.