बालिका मृत्यु प्रकरण : निमित्त मेसुको एकोहोरो छानविन प्रतिवेदन

युग संवाददाता     252 पटक पढिएको    

बालिका मृत्यु प्रकरण : निमित्त मेसुको एकोहोरो छानविन प्रतिवेदन

डडेल्धुरा / डडेल्धुरा अस्पतालमा जेठ १९ गते (बिहीबार) भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका यनुसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ।

मृतक बालिकाका आफन्तले डाक्टरको चरम लापरबाहीले थापा मगरको मृत्यु भएको भन्दै आपत्ति जनाएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले ७२ घण्टा भित्र छानविन गरि दोषीलाई कारबाही गर्न अस्पतालका निमित्त मेसु डा. चेतराज भट्टलाई निर्देशन दिएको थियो। तर, एक सातापछि सार्वजनिक गरिएको प्रतिवेदनमा मेसु भट्टले एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरेपछि मृतकका आफन्त र सरोकारवालाले आपत्ति जनाएका छन्।

मेसु भट्टले सार्वजनिक गरेको छानविन प्रतिवेदन एकोहोरो र दोषी बचाउनका लागि हचुवाका भरमा सार्वजनिक गरिएको मृतकका बाबु प्रकाश थापाले गुनासो गरे। प्रतिवेदनमा उल्लेख गरिएको यनुसा दुईदिन अघि बिरामी भएको र अस्पतालले यनुसाको प्राथमिक उपचार गर्दा गर्दै मृत्यु भएको विषयमा गम्भीर आपत्ति देखाए। दोषी लुकाउन अस्पतालले विभिन्न बाहना गरिरहेको मृतक बालिकाका आफन्तको आरोप छ।

विशिष्ट विशेषज्ञ सेवासहित संघीय सरकार मातहत रहेको अस्पतालमा बाल रोग विशेषज्ञ डाक्टर समयमा नै उपस्थित नहुनु र रोग पत्ता नलगाइ अनावश्यक औषधि प्रयोग गरिएकोले यनुसाको मृत्यु भएको आफन्तको आरोप छ। अस्पतालले पीडित परिवारसहित सर्वदलीय, सर्वपक्षीय बैठकको आयोजना गरी घटनाको प्रतिवेदन सार्वजनिक गरेको थियो। मेसु भट्टले एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरेको सर्वपक्षिय आरोप पछि घटनाको पुनः छानविन गर्न तीन सदस्यीय छानविन समिति बनाइएको छ।

मेसु भट्टको संयोजकत्वमा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आसुतोष श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत सदस्य रहने गरी तीन सदस्यीय छानविन समिति बनाइएको अस्पतालले जनाएको छ। समितिलाई घटनाको सत्यतथ्य रुपमा छानविन गरी सीसी टिभी फुटेजसमेत संलग्न गरी प्रतिवेदन ल्याउन भनिएको छ। सर्वपक्षीय बैठकले अस्पतालको सुधारका लागि विभिन्न सुझावसमेत दिएको छ। अस्पतालको सेवा सुविधा बढाउनुका साथै व्यवस्थापनका पक्षमा व्यापक सुधार गर्नुपर्ने बिषयमा बैठकका सहभागिहरुले एकमत भएर सुझाव दिए।

अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझा र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट चेतराज भट्टले अस्पतालको सेवा र व्यवस्थापनका विषयमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे। सुदूरपश्चिम प्रदेशमा एकमात्र रिफरल अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पतालमा आवश्यक जनशक्ति नहुँदा गुणस्तरिय सेवा दिन सकिरहेको छैन भने यहाँका बासिन्दाले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता छ।



आइतबार २९, जेठ २०७९ ०१:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.