बैतडीमा पूर्ण खोप सुनिश्चिताका लागि घरधुरी सर्वेक्षण

युग संवाददाता     302 पटक पढिएको    

बैतडीमा पूर्ण खोप सुनिश्चिताका लागि घरधुरी सर्वेक्षण

बैतडी / पूर्ण खोप सुनिश्चितताका लागि बैतडीमा घरधुरी सर्वेक्षण गर्न थालिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा घरधुरी सर्वेक्षण थालिएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार राष्ट्रिय खोप तालिकाअनुसार  बालबालिकाले सबै खोप लगाए÷नलगाएका बारेमा जानकारी लिनका लागि नमूनाका रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य भइरहेको छ । सबै पालिकाका तीन-तीन वडामा एक वडामा १५ घरधुरीका हिसाबले सर्वेक्षण कार्य भइरहेको हो ।

पालिकाहरुले यसअघि नै प्रत्येक घरमा घरधुरी सर्वेक्षण गरिसकेकाले सो कार्यलाई प्रमाणीकरण गर्नका लागि जिल्लाभरि घरधुरी सर्वेक्षण कार्य थालिएको उनले बताए । सोह्र महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए-नपाएको बारेमा सर्वेक्षण भइरहेको छ ।

जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई विभिन्न रोगविरुद्ध १२ खोप दिने गरिएको छ । प्रमुख भट्टले भने, “पालिकालेहरुले गरेको सर्वेक्षणलाई हामीले सही छ कि छैन भनेर प्रमाणीकरण गरिरहेका छौँ, सर्वेक्षणका क्रममा कुनै बालबालिका छुटेको पाइएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउँछौँ । ”

जेठ मसान्तसम्म सञ्चालन हुने घरधुरी सर्वेक्षण कार्यक्रममा स्वास्थ्यकर्मी, पत्रकार, खोप समन्वय समितिका पदाधिकारी, रेडक्रसकर्मीलगायतको सहभागिता रहेको छ । बैतडी जिल्ला २०७२ सालमा पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित गर्ने गरिएको छ ।

खोप पाउने उमेर समूहका बालबालिकाहरुले पूर्ण खोप पाएमा पालिकाहरुलाई प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिने र त्यसपछि स्वास्थ्य कार्यालयले प्रमाणीकरण गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिन्छ । यो वर्ष असार पहिलो साता पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी  छ । 



शनिबार २८, जेठ २०७९ ०१:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.