बैतडीको हवाई सेवा अढाई महिनादेखि बन्द

युग संवाददाता     308 पटक पढिएको    

बैतडीको हवाई सेवा अढाई महिनादेखि बन्द

बैतडी /  बैतडीको हवाई सेवा अढाई महिनादेखि बन्द रहेको छ। गत चैत १० गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो। साताको एक दिन बिहीबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो। नियमित रूपमा उडान हुने गरेकोमा हाल यात्रु नपाउँदा बन्द रहेको बैतडी नागरिक उड्डयन कार्यालय, पाटनका वरिष्ठ अधिकृत चेतराज भट्टले बताए।  समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रहरूमा बढी उडान भरिरहेको हुनाले पाटन आउन नसकेको हो। उनले भने, ‘यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन, लुक्ला र जोमसोमतिर पर्यटकहरूको घुइँचो छ, उतैतिर बढी उडान भर्ने गरेको छ।’

अढाई महिनादेखि बन्द रहेको हवाई सेवा अबको दुई हप्तासम्म पुनः सञ्चालनमा आउने समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिए। उनले भने, ‘लुक्ला जोमसोमलगायतका पर्यटकीय क्षेत्रमा हाल उडान भइरहेको छ, उता बढी यात्रुको चाप हुने सिजन हो, अब उताको सिजन सकिँदै छ, केही हप्तापछि यता नियमित रूपमा सञ्चालन हुन्छ।’ १८ यात्रु क्षमताको समिट एयरको जहाजका साप्ताहिक रूपमा उडान हुँदै आएको थियो। यसअघि गत पुसदेखि पनि यहाँको हवाई सेवा बन्द भएको थियो। यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द रहेकोमा फागुन पहिला साता सञ्चालन भएको थियो। 

यसैबीच बैतडी–धनगढी हवाई भाडा महँगो भएको यात्रुको गुनासो छ। १७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको बताएका हुन्। गत चैतमा हवाई सेवा सञ्चालनमा रहेको बेला बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार ६ सय रुपैयाँ थियो। सम्पर्क व्यक्ति भट्टका अनुसार अब ४ हजार ६ सयभन्दा भाडा बढ्नेछ। उनले भने, ‘इन्धनको मूल्य बढेकाले हवाई भाडा पनि अझै बढेर आउँछ।’ शुरुमा हवाई सेवा सञ्चालन हुँदा ३ हजार ८५० रुपैयाँ भाडा रहेको थियो।  

पाटनमा विमानस्थल २६ वर्षपछि वि स २०७७ असोज अन्तिम साताबाट पुन सञ्चालनमा आएको हो। वि.सं. २०३२ सालमा पाटनमा विमानस्थल निर्माण शुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो। त्यतिवेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो। २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो।



बिहिबार २६, जेठ २०७९ ०२:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.