आधा कोर्ष पनि नपढाएर एसईई दिँदै धनगढी नमूना माविका विद्यार्थी

युग संवाददाता     614 पटक पढिएको    

आधा कोर्ष पनि नपढाएर एसईई दिँदै धनगढी नमूना माविका विद्यार्थी

 

धनगढी बैशाख १३ । सुदूरपश्चिमको प्रदेशको राजधानी धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रमै रहेको धनगढी नमूना प्राविधिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आधा कोर्स पनि नपढेर एसईई परीक्षा दिन बाध्य छन् ।

प्राविधिक शिक्षा अन्तरगत कक्षा ९ बाटै सिभिल ईन्जिनियरीङ समेत सञ्चालन गरिरहेको यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पूरा कोर्स नपढेरै हाल सञ्चालन भइरहेको एसइई परीक्षामा सहभागी छन् । 

नमुना विद्यालय र प्राविधिक शिक्षाका नाममा राज्यबाट बर्सेनि लाखौँ रुपैयाँ अनुदान पाउने गरेको भए पनि न त नमूना विद्यालयमा हुनुपर्ने मापदण्ड पूरा गरिरहेको छ न त प्राविधिक तर्फको पढाइलाई नै गुणात्मक बनाउन सकेको छ ।

 खास गरी प्राविधिक तर्फको विज्ञान र गणितको कोर्स आधा मात्र पढाएको त्यहाँ अध्ययनरत विद्यार्थीको दुखेसो छ । विज्ञान विषयमा त आधा कोर्स नै बाँकी रहेको विद्यार्थीले बताएका छन् । 

विज्ञान पढाउने शिक्षक जयप्रकाश भट्टले विद्यालयको व्यवस्थापनले सहयोग नगर्दा ५० प्रतिशत मात्र कोर्स पढाएको स्विकारेका छन् । उनले भने कोभिडका कारण विद्यालय सञ्चालन ढिलो भयो, मेरो कोर्स सकिएको छैन भन्दा पनि प्राचार्यले वास्ता गरेनन् । तर उनको जवाफ गैर जिम्मेवार रहेको छ । 

उनले भने( म इमानदार शिक्षक हु, अरू वर्ष र अन्य कक्षामा त कोर्स सकेको छु नि तपाईँले बुझ्दा हुन्छ, कक्षा दसमा मात्र सकिएन ५० देखि ५५ नम्बरको पढाएकै छु, त्यति पढे पनि पास भइहाल्छ नि ।

यस्तै गणित विषयको हालत पनि रहेको छ । गणित विषयको पनि आधा कोर्स मात्र पढाइ भएको थियो एक अभिभावकले भने पटक पटक विद्यालयमा गएर गुनासो गरेपछि अन्तिममा आएर दुई चार दिनमा छुटेको कोर्स पढाए जस्तो मात्र गरे । 

गणित विषयकी शिक्षिका गीता रानाले पनि आफ्नो पढाइ सँगै गर्नुपर्ने भएकाले समयमा पूरा कोर्स पढाउन नसकेको स्विकारेकी छन् । विद्यालयमा होम वर्क चेक समेत नहुने गरेको विद्यार्थीको गुनासो छ । अहिले नपढेरै एसइई परीक्षा दिँदा परीक्षा बिग्रिएपछि अभिभावक निकै आक्रोशित भएका छन् ।

पटक पटक पढाइमा लापरबाही भइरहेकोबारे विद्यालय मा गएरै गुनासो गर्दा पनि विद्यालय प्रशासनले सुधार नगरेको अभिभावकको गुनासो छ । एक अभिभावले भने प्राविधिक शिक्षा पढाएर बालबालिकाको भविष्य राम्रो होला भनेर अरू विद्यालयबाट धनगढी नमुना माविमा भर्ना गरे, यहाँ त झन् भविष्य नै बिग्रने देखियो । 

यता विद्यालयका प्राचार्य लक्ष्मणदत्त भट्टले भने शिक्षक तथा विद्यार्थीले आफूलाई कोर्ष नसकिएको बारे समयमा जानकारी नगराएको दावी गरिरहेका छन् ।



मङ्गलबार १३, बैशाख २०७९ ०८:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.