कांग्रेसले स्थानीय तहको छुट्टै घोषणापत्र बनाउने

युग संवाददाता     398 पटक पढिएको    

कांग्रेसले स्थानीय तहको छुट्टै घोषणापत्र बनाउने

काठमाडौं  फागुन २५ । नेपाली कांग्रेसले स्थानीय तहका लागि छुट्टै घोषणापत्र बनाउने भएको छ । पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपा वीपीनगरमा  आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहका लागि प्राथमिकताका साथ घोषणा पत्र बनाइने बताए । 

उनले भने, ‘केन्द्रको घोषणा पत्र बनाएजस्तै स्थानीय तहको पनि घोषणापत्र बनाइने छ । स्थानीय घोषणा पत्रले विभिन्न स्थानीय निकायको अलग अलग चरित्र भएकाले सोही अनुसार घोषणा पत्र बनाइने छ ।’

उनले ‘हरेक कामलाई भारी हरेक हातलाई जिम्मेवारी’ भनेझैं सबै नेपाली कांग्रेसका कार्यकर्तालाई जिम्मेवारी दिने पनि बताए । उनले भने, ‘सामाजिक संजालमा कम्युनिष्ट पार्टीहरु अगाडि छन् । काम मात्र गरेर पुग्दो रहेनछ प्रचार पनि गर्नुपर्ने रहेछ । तसर्थ यो माध्यमलाई पनि हामीले भरपूर प्रयोग गर्छौं ।’

उनले आफूहरुले नै मागेअनुसार एमसीसी आएको भन्दै यसप्रति कम्युनिष्टहरुले छरेको भ्रम चिर्न पुस्तिकासमेत तयार गरेर गाउँगाउँमा बाँड्ने बताएका छन् । 

केन्द्रीय पदाधिकारीहरु आवश्यकताअनुसार जुनसुकै जिल्लामा पुग्ने डा। महतले बताएका छन् । कसैको संसदमा पनि जिम्मेवारी भएकाले आवश्यकताअनुसार पार्टीले खटाउने बताए । 

डा महतले कार्यसम्पादन समितिको सहमतिअनुसार गठबन्धन गरेर जाने कि के गर्ने भनेर पछि नै छलफल गर्ने बताएका छन् । अहिले तत्काल केही नबोल्ने बताए । तर उनले हरेक पार्टीले बढी भन्दा बढी सिट जित्न खोज्ने भएकाले त्यसका लागि कांग्रेस पनि लाग्ने र निर्वाचनसम्म सँगसँगै जाने तर प्रक्रियामा कसरी जाने भन्नेबारे पछि नै बताउने बताए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले मतपत्रको हरियो रङ्गमा आपत्ति जनाएकोबारेमा डा। महतले ‘हरियो रङ्गले नै आपत्ति हो भने वनजंगल पनि फाँड्न पर्ने हो कि । तर एउटा स्पष्ट कुरा के हो भने उहाँलाई कांग्रेस सशक्त भएर अगाडि आएको बुझ्नु भएको होला ।’

पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले भने, ‘बैशाख ३० को निर्वाचनको घोषणालाई आ–आफ्ना दृष्टिकोण र विचार लिएर जाँदैछौं । हाम्रो पार्टीका मुद्दाहरु महत्वपूर्ण राष्ट्रिय मुद्दाहरु लिएर जानेछौं । पार्टी सभापतिको दृढताले त्यो पूरा भएको छ ।’

कार्य सम्पादन समितिको बैठक बसेर व्यापक छलफल गरेर आफूहरु निष्कर्षमा पुगेर गठबन्धनबारे निर्णय गर्ने पनि खड्काले बताए । 

यसैबीच, आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले तयारीलाई तीव्रता दिन थालेको छ ।कांग्रेस केन्द्रीय कार्यालयले केन्द्रीय सदस्यहरुलाई एक–एक जिल्लाको जिम्मा दिएर खटाएको हो । उनीहरुलाई खटाइएको जिल्लामा एक महिना रहेर प्रचारप्रसार गर्नका लागि आफूहरु जनताको बीचमा जाने प्रवक्ता डा महतले बताए । निर्देशन दिइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पछिल्लो समय अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीबारे कम्युनिष्ट नेताहरुले अफबाह फैलाइरहेको भन्दै कांग्रेस नेताहरुमाथि उक्त भ्रमको जालो तोडेर मतदातालाई सम्झाउनु ठूलो चुनौती आइपरेको छ । 

एक महिने अवधिमा केन्द्रीय सदस्यहरुले जिल्लामा कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर चुनावी एजेन्डा प्रचारप्रसार गर्नेछन् । 

कसलाई कहाँ खटाइयो  विवरणसहित 
प्रदेश १ अन्तर्गत ताप्लेजुङमा तारामान गुरुङ, पाँचथरमा राजिब ढुङ्गाना, इलाममा सरिता प्रसाई, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा आङगेलु शेर्पा, धनकुटामा रामहरि खतिवडा, भोजपुरमा सुशीला शर्मा ढकाल, खोटाङमा कल्पना चौधरी, सोलुखुम्बुमा माया राई, ओखलढुङ्गामा सरस्वती बजिमय, उदयपुरमा प्रदीपकुमार सुनुवार, झापामा उमेशजङ्ग रायमाझी, मोरङमा केसवकुमार बुढाथोकी र सुनसरीमा अमृत अर्याल खटिएका छन् । 

त्यस्तै मधेस प्रदेश अन्तर्गत सप्तरीमा महेन्द्रकुमार राय, सिराहामा दिनेश यादव, धनुषामा मञ्जु खाँण, महोत्तरीमा रमेश लेखक, सर्लाहीमा नगीना यादव, रौतहटमा कल्याण गुरुङ, बारामा अजयकुमार चौरसिया र पर्सामा डा। चन्द्रमोहन यादव रहेका छन् । 

त्यस्तै बागमती प्रदेश अन्तर्गत दोलखामा हरिशरण नेपाली, रामेछापमा कुन्दनराज काफ्ले, सिन्धुलीमा मुक्ताकुमारी यादव, काभ्रेपलाञ्चोकमा उर्मिला केसी, सिन्धुपाल्चोकमा गंगादेवी अवाल, रसुवामा रमा कोइराला पौडेल नुवाकोटमा मदनबहादुर अमात्य, धादिङमा डा। गोविन्दप्रसाद पोखरेल, चितवनमा उदय शम्शेर राणा, मकवानपुरमा श्यामकुमार घिमिरे, भक्तपुरमा जीतजङ्ग बस्नेत, ललितपुरमा अम्बिका बस्नेत र काठमाडौंमा मोहनबहादुर बस्नेत खटिएका छन् । 

गण्डकी प्रदेश अन्तर्गत गोरखामा नानु बास्तोला, लमजुङमा अञ्जली श्रेष्ठ, तनहुँमा मधु आचार्य, कास्कीमा ध्रुव वाग्ले, मनाङमा गणेश लामा, मुस्ताङमा अजयबाबु शिवाकोटी, पर्वतमा प्रतिमा गौतम, स्याङ्जामा ध्यानगोविन्द रञ्जित, म्याग्दीमा चम्पादेवी खड्का, बागलुङमा दिनमान पाख्रिन र नवलपुरमा टेकप्रसाद गुङङ्ग खटिएका छन् । 

त्यस्तै लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासीमा मदनकृष्ण श्रेष्ठ, कपिलवस्तुमा गोविन्द भट्टराई, पाल्पामा सरस्वती अर्याल तिवारी, अर्घाखाँचीमा शान्ति परियार, गुल्मीमा दिनेश कोइराला, रुकुम पूर्वमा रुपा विक, रोल्पामा अब्दुल सत्तार, प्यूठानमा टेकबहादृुर गुरुङ्ग, दाङमा प्रदीप पौडेल, बाँकेमा दीपक गिरी र बर्दियामा गुरु बराल रहेका छन् । 

त्यस्तै कर्णाली प्रदेश अन्तर्गत रुकुम पश्चिममा सुशीला थिङ, सल्यानमा जीवन राना, डोल्पामा डा। गोपाल दहित, जुम्लामा कृष्णकिशोर घिमिरे, मुगुमा कर्णबहादुर बुढा, हुम्लामा योगेन्द्र चौधरी, कालिकोटमा चन्द्रबहादुर केसी, जाजरकोटमा अब्दुल रज्जाक, दैलेखमा जानकी सिंह र सुर्खेतमा मानबहादुर नेपाली खटिएका छन् । 

त्यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरामा अर्जुनबहादुर सिंह, बझाङमा मैकुलाल बाल्मिकी, डोटीमा रामजनम चौधरी, अछाममा सीताकुमारी राना, दार्चुलामा राजीवविक्रम शाह, बैतडीमा यज्ञराज जोशी, डडेलधुरामा ईश्वरी न्यौपाने, कञ्चनपुरमा नैनसिंह महर र कैलालीमा गोविन्दबहादुर शाह खटिएका छन् । वैकल्पिकमा विद्यादेवी तिमल्सिना रहेकी छिन् । 

त्यस्तै अर्का वैकल्पिकमा जावेदा खातुन जागा रहेकी छिन् । 



बुधबार २५, फागुन २०७८ ०५:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.