अझै खुलेन बन्द छोटी भन्सार

युग संवाददाता     461 पटक पढिएको    

अझै खुलेन बन्द छोटी भन्सार

कैलाली  फागुन १ । कैलालीको भजनी नगरपालिका–५ मा रहेको पृथ्वीपुर छोटी भन्सार दुई वर्षदेखि बन्द छ । कोरोना संक्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी भन्सार सबै सीमानाका खुला भइसक्दा पनि सञ्चालनमा आउन नसकेको हो ।     

छोटी भन्सार बन्द हुँदा भन्सार कार्यालय परिसर नाजुक अवस्थामा पुगिसकेको छ । कार्यालय परिसरमा झारपात उम्रनुका साथै भवन संरक्षण अभाव देखिएको छ ।

सरकारले भारतसँग सीमा जोडिएका सबै सीमानाका खुला गर्ने निर्णय गरे पनि बन्द भएको उक्त भन्सार सञ्चालनमा नआउँदा त्यहाँबाट संकलन हुँदै आएको राजस्व बन्द भएको छ ।     

खक्रौलास्थित सत्ती भन्सार कार्यालय मातहतको उक्त छोटी भन्सार बन्द हुँदा त्यस क्षेत्रबाट चोरी तस्करीका घटनासमेत बढ्दै गएका छन् । भन्सार कार्यालय खुला हुँदा स्थानीयले भन्सार महसुल तिरेर घरायसी सामान ल्याउने गरेका थिए ।  
   
भजनी नगरपालिका– ५ का सुरेन्द्र चौधरी भन्सार तथा आसपास क्षेत्रमा रातीको समय निकै हलचल हुने गरेको बताउँछन् । ‘यस क्षेत्रबाट चोरी तस्करीका सामान निकै आयात हुने गरेको छ । यो विषय सत्ती भन्सार, प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिलाई पनि थाहा छ’, उनी भन्छन्, ‘सबै तस्करसँग मिलेका छन् । कसैले केही बोल्ने कुरै भएन । कहिलेकाहीँ बार्गेनिङ नमिलेपछि मात्रै एक्सन लिने काम हुन्छ ।’

सत्ती भन्सार कार्यालयका प्रमुख विमलकुमार साह कोरोनाका कारण पहिलो चरणको बन्दाबन्दीको समय बन्द भएका देशभरका कुनै पनि छोटी भन्सार सञ्चालनमा आउन नसकेको बताउँछन् ।

भन्सार विभागबाट अख्तियारी नआएका कारण छोटी भन्सार सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ । ‘हामीले चाहेर पनि भन्सार खुला गर्न सक्दैनौं । विभागको अख्तियारी चाहिन्छ । त्यो अख्तियारी अहिलेसम्म आएको छैन’, भन्सार प्रमुख साह भन्छन्, ‘कुनै पनि छोटी भन्सार सञ्चालनमा आएका छैनन् । अख्तियारी आएपछि हामीलाई भन्सार सञ्चालनमा ल्याउन कुनै कठिनाइ छैन ।’
    
छोटी भन्सार बन्द भएकै कारण चोरी तस्करीका घटना नबढे पनि राजस्व संकलन भने बन्द भएको छ । वार्षिक करिब ४० लाखभन्दा भन्दा बढी राजस्व संकलन छोटीबाट हुँदै आएको थियो । दुई वर्षदेखि राजस्व सञ्चालन हुन नसकेको उनले बताए । साह भन्छन्, ‘घरायसी सामान ल्याउनेबाट सामान्य भन्सार रकम संकलन हुने गरेकामा अहिले त्यसको निगरानी गर्ने कोही छैन । भन्सार बन्द हुँदा घरायसी सामान ल्याउन बन्द गर भन्न सकिँदैन ।’ रासस



आइतबार ०१, फागुन २०७८ ०४:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.