मुलुकको व्यापारघाटा थप चुलिँदै, वस्तु आयात निर्यातको दुरी बढ्दै

युग संवाददाता     262 पटक पढिएको    

मुलुकको व्यापारघाटा थप चुलिँदै, वस्तु आयात निर्यातको दुरी बढ्दै


काठमान्डौ माघ १३ मुलुक आर्थिक संकटतिर उन्मुख भइरहेका बेला अर्को व्यापारघाटा चुलिँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ ।

भन्सार विभागले चालू आर्थिक वर्षको ६ महिनाको वैदेशिक व्यापार आयात तथा निर्यातको अवस्था सार्वजनिक गर्दै मुलुक चरम व्यापार घाटामा गएको जानकारी गराएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापारघाटा ४६।६४ प्रतिशतले बढेको छ। यसरी ६ महिनामा ४६।६४ प्रतिशतले नेपालको वैदेशिक व्यापारघाटा भएर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापारघाटा ६ खर्ब ४४ करोड ६१ लाखको भएको थियो । एक वर्षको अवधिमा २ अर्ब ८० अर्ब ४ करोड ५६ लाख रुपैयाँले व्यापारघाटा वृद्धि भएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मुलुकको वैदेशिक व्यापार ५४।८६ प्रतिशतले वृद्धि भएर ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा ७ खर्ब २२ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक व्यापार भएको थियो । त्यस्तै, चालु आर्थिक वर्षको ६ महिनामा आयात र निर्यात दुबैमा वृद्धि भएको छ । पछिल्लो ६ महिनामा नेपालमा विभिन्न वस्तु तथा सेवा आयात ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो आयात ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको भएको थियो । यसरी गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षको ६ महिनामा ५९ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट निर्यात हुने वस्तु तथा सेवामा १ खर्ब १८ अर्ब ८५ करोड बराबर छ । गत आर्थिक वर्षमा यस्तो निर्यात ६० अर्ब ७९ करोड ९२ लाख गरिएको थियो । यो निर्यात गत वर्षको भन्दा ९५।४८ प्रतिशतले वृद्धि भएको छ।

चालू आर्थिक वर्षको ६ महिनामा नेपालमा १४८ देशबाट विभिन्न वस्तु तथा सेवा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको आयात गरिएको छ । पछिल्लो ६ महिनाको अवधिमा सबैभन्दा धेरै भारतबाट सामान आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। यसरी सो अवधिमा भारतबाट ६ खर्ब ३ अर्ब ५४ करोड ५१ लाखको सामान आयात भएको छ।

त्यस्तै भारतपछि सबैभन्दा धेरै सामान आयात चीनबाट भएको छ । चालू आर्थिक वर्षको ६ महिनामा चीनबाट १ खर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ । नेपालको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८९।३७ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १०।६३ प्रतिशत रहेको छ । यसरी आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार हाल ७।५ महिनाको लागि मात्रै आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको छ।

नेपालले दुई छिमेकी मुलुकबाट यति धेरै वस्तु आयात गरेतापनि नेपालबाट भारत र चीनमा एकदमै थोरै मात्र सामान निर्यात भएको छ। पछिल्लो ६ महिनाको अवधिमा नेपालले भारतमा ९६ अर्ब ५६ करोड तथा चीनमा ४५ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा डिजेलको आयात सबैभन्दा धेरै रहेको छ । डिजेल पछिल्लो ६ महिनामा ६१ अर्ब ४७ करोड रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै, पेट्रोल २९ अर्ब २७ करोड रुपैयाँ बराबरको आयात भएको छ भने सोयाविन तेल ३६ अर्ब ५४ करोड रुपैयाँको आयात भएको छ । जसमा २९ अर्ब २३ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्याँस आयात भएको छ । २७ अर्ब ४९ करोड रुपैयाँको पाम तेल आयात भएको छ।

यस्तै, निर्याततर्फ पनि सोयाविन तेल र पाम तेलको हिस्सा धेरै रहेको छ । प्रशोधन गरिएको पाम तेल ११ अर्बभन्दा बढीको निर्यात भएको छ भने सोयाविन तेल ३४ अर्ब रुपैयाँ भन्दा धेरैको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागको तथ्याङ्कले वैदेशिक व्यापारघाटा बढेको देखाएको छ भने यस अगाडि नेपाल राष्ट्र बैंकले समग्र मुलुकको वित्तीय विवरण अनुसार अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन् । मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने २ खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको छ । 
बैंकिङ खबरबाट  साभार  



बिहिबार १३, माघ २०७८ ०५:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2022
Anubhabi Technologies Pvt. Ltd.