कांग्रेस सभापतिमा ६ जना आकांक्षी, सचिवमा चार युवाको दावी

युग संवाददाता     490 पटक पढिएको    

कांग्रेस सभापतिमा ६ जना आकांक्षी, सचिवमा चार युवाको दावी

धनगढी – नेपाली कांग्रेस कैलालीको आगामी २७ गते हुने जिल्ला अधिवेशनमा नेतृत्वका लागि सभापतिबाहेकका पदमा युवा आकांक्षीहरु धेरै देखिएका छन्। यसअघि प्रदेश अधिवेशनका कारण जिल्ला अधिवेशन हुन नसकेको कैलालीमा यही २७ गते जिल्ला अधिवेशन हुन लागेको हो।

जिल्ला अधिवेशनका लागि कैलालीमा २ हजार ५७२ जना प्रतिनिधि छानिएका छन्। अहिलेसम्म पार्टी जिल्ला सभापतिको लागि ६ जनाले लबिङ गरिरहेका छन्। कैलालीका सभापति नरनारायण शाह मनु यसअघि दुई कार्यकाल सभापति भइसकेको हुँदा उनी यसअघि नै ‘रिङ आउट’ भइसकेका थिए। जिल्ला सभापति हुन विधान बाधक हुने भएपछि उनी प्रदेश महामन्त्री बनिसकेका छन्।

जिल्ला सभापति मनु प्रदेश महामन्त्री भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी प्रकाशबहादुर बमले पाएका छन्। उनी १३ औँ जिल्ला अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए। उनले अहिले कैलाली सभापतिमा लबिङ गरिरहेका छन्।

कैलालीको सभापतिको लागि लबिङ गरिरहेका अर्का आकांक्षी हुन् नारायण भट्ट। उनी पूर्वजिल्ला उपसभापति हुन्। उनी ११औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए। दीर्घराज भाट सभापति हुँदा उनले कार्यवाहक सभापतिको जिम्मेवारी पनि पाएका थिए। जिल्लाको उपसभापति भइसकेका भट्ट यसपटक सभापतिको प्रमुख दावेदारमध्ये एक हुन्।

१३औं जिल्ला अधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेर पराजित भएका युवा नेता भीम बडुवाल फेरि सभापतिको दौडमा छन्। १३औं अधिवेशनमा बडुवाल नरनारायण शाह मनुसँग पराजित भएका थिए। नेपाल विद्यार्थी संघ कैलालीका सभापतिसमेत भइसकेका उनी यसपटक पार्टी सभापतिको लागि लबिङ गरिरहेका छन्।

सभापतिका अर्का आकांक्षी गणेश देउवा पनि यसअघिको अधिवेशनमा सभापतिका लागि निर्वाचनमा होमिएका थिए। कैलाली क्षेत्र नम्बर ४ बाट दोस्रो संविधानसभामा टिकट पाएका खेमराज चौधरी पनि अहिले सभापतिको दौडमा छन्। उनी तत्कालीन अवस्थामा क्षेत्र नम्बर ४ को पार्टी सभापतिसमेत थिए। संविधानसभामा ६ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधिसभामा घटाएर ५ वटा निर्वाचन क्षेत्र तोकिएको थियो। त्यसपछि चौधरी क्षेत्र नम्बर ३ को पनि सभापति भए। क्षेत्रीय सभापति भइसकेका चौधरी अहिले जिल्ला सभापतिको लागि लबिङ गरिरहेका छन्।

अर्का आकांक्षी नवराज रावल हुन्। उनी सामाजिक संघसंस्थाहरूमा सक्रिय छन्। तीन कार्यकाल जिल्ला कार्यसमिति सदस्य रहेका उनी अहिले सभापतिको दौडमा छन्। सभापतिका सबै आकांक्षी केन्द्रीय सभापति शेरबहादुर देउवा निकट हुन्।

सभापतिको एक पदमा ६ जना आकांक्षी भएजस्तै अन्य पदमा पनि आकांक्षी धेरै देखिएका छन्। उपसभापतिमा अहिलेसम्म लोकराज पाण्डे आगो र प्रकाश देउवाको चर्चा छ। सभापतिपछि धेरैको रोजाइमा सचिव परेको छ। सचिवमा अमृत बिसी, नृप सुनार, केशव मिश्र र कृष्ण पाण्डेय रहेका छन्। सहसचिवमा अहिलेसम्म नेविसंघका पूर्वकेन्द्रीय सदस्य तपेन्द्र भुसालले मात्र आकांक्षा देखाएका छन्।

कैलालीमा १३ स्थानीय तह छन्। तीमध्ये ६ गाउँपालिका, ६ नगरपालिका र एक उपमहानगरपालिका रहेको छ। ६ गाउँपालिकाका एक पुरुष र एक महिला गरी १२ जना निर्वाचित हुनेछन्। त्यस्तै ६ नगरपालिकाका एक महिला र दुई पुरुष गरी १८ जना निर्वाचित हुनेछन्।



शनिबार १७, पुष २०७८ ०७:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.