धनगढीका नगर प्रमुख नृप वडको राजनीतिक यात्रामा छलाङ

Sunil Auji     809 पटक पढिएको    

धनगढीका नगर प्रमुख नृप वडको राजनीतिक यात्रामा छलाङ


धनगढी– पुस ८ पार्टीको नगरसभापति रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृप वड एकैचोटी केन्द्रीय सदस्य निर्वाचित भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित खुलातर्फको केन्द्रीय सदस्यमा वड दोस्रो लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

पाँच जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका चा जना र डा। शेखर कोइराला प्यानलका एक जना विजयी भएका छन्। दलित खुलातर्फ मानबहादुर नेपाली पहिलो र नृप बहादुर वड दोस्रो लोकप्रिय मत ल्याएर विजयी भएका हुन्।

वडको राजनीतिक यात्रा
नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रीय सदस्यमा निर्वाचित भएका नृप बहादुर वडको जन्मघर अछाम हो। ०३६ सालतिर बुबा–आमाको साथमा धनगढी झरेका उनी त्यसयता धनगढी उपमहानगरपालिका वड नम्बर ५ मा बस्दै आएका छन्।

घरपरिवारका अरु कसैको पनि राजनीतिसँग साइनो नभएका वडको विद्यार्थीकालदेखि राजनीतिक यात्रा तय भएको हो। नेविसंघमा २०४६ सालदेखि आवद्ध हुँदै २०५० सालतिर उनी कांग्रेसको राजनीतिमा आएका हुन्।

२०४९ सालमा पार्टीको क्रियाशील सदस्यता पाएका उनी २०५१ मा धनगढी–५ जाइका वडा सभापति र २०५७ मा धनगढी नगर सचिव बने। त्यसरी जिल्लामा कांग्रेस नेता चाहिँदा र गाउँमा कसैलाई गाह्रोसाह्रो पर्दा खोजिने नाम बन्यो, नृप वड।

पारिवारिक पृष्ठभूमि सामान्य किसान परिवार र त्यसमाथि दलित समुदायमा जन्मिएका उनको बाल्यकाल दुःखमै बित्यो। हातमुख जोर्न गाह्रो नभए पनि आर्थिक अभावमा त्यसबाहेकका कुरा परिवारका लागि विलासी वस्तुसरह थिए। त्यसक्रममा वडाको सभापति हुँदै नगर सचिवसम्म भए।

राजनीतिक जीवनमा खासै समस्या नभोगेको बताउने वडले जेलनेल पनि भोगेका छन्। ०६२र६३ को दोस्रो आन्दोलनमा उनी पक्राउ परे। त्यस क्रममा ९६ दिनसम्म जेल बसे।

माओवादी द्वन्द्वको समयमा पनि उनले गाउँ छाडेनन्। द्वन्द्वकै बेला नगर सभापति बनेका उनले धनगढीमा २०६२र६३ को आन्दोलनको नेतृत्व गरे। त्यो बेला कांग्रेस र एमालेका धेरैजसो जिल्ला नेता काठमाडौँ या भारत पलायन भएका थिए।

अर्थोपार्जनका लागि नृपले धनगढीमा खोलेको होटल पुष्पाञ्जली केन्द्रबाट आउने कांग्रेस नेता र स्थानीय नेता–कार्यकर्ताको जमघटस्थल त बन्यो, तर त्यही कारण घाटामा गएर लगानी डुब्यो। आठ वर्षदेखि धनगढी नगर सभापति रहेका नृप वड स्थानीय तह निर्वाचनमा मेयरमा समेत जिते।

त्यसपछि १४ औँ महाधिवेशनअन्तर्गत कैलालीबाट महाधिवेशन प्रतिनिधिमा मत ल्याउनेमा दोस्रो नम्बरमा आए। उनको त्यो राजनीतिक छलाङले उनी दलित कोटाबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएर राजनीतिक यात्रा सुनिश्चित गरेका छन्।



बिहिबार ०८, पुष २०७८ १०:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.