देउवा र मोदीबिच केके भए कुराकानी

युग संवाददाता     612 पटक पढिएको    

देउवा र मोदीबिच केके भए कुराकानी

 

भीष्मराज ओझा

कार्तिक १६


  ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिच द्विपक्षीय भेटवार्ता भएको छ । 

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन यहाँ आएका उनीहरूबिच मङ्गलवार भेटवार्ता भएको हो ।

स्थानीय समयानुसार बिहान भएको मैत्रीपूर्ण भेटवार्तामा उनीहरूबिच दुई देशबिचको सम्बन्धलाई अझ कसरी प्रगाढ र सुदृढ बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए।

भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई रासायनिक मलको आपूर्तिमा भारतले गरेको सहयोगको निरन्तरताका लागि आग्रह गरेका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आवश्यकता ठानेर नेपाललाई सहयोग गर्छौ भनेका थिए ।

यसै गरी प्रधानमन्त्री देउवाले दक्षिणी पश्चिमी सिमाना नेपालगन्ज र महेन्द्रनगरबाट विमान प्रवेश बिन्दुको लागि स्वीकृति दिन भारतलाई आग्रह गरेका थिए । त्यसमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकतालाई आफूले सकारात्मक रूपमा लिएको बताउनुभएको सचिव पौड्यालले जानकारी दिए ।


प्रधानमन्त्री देउवाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण, भूकम्पपछिको पुनः निर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भारतले गरेको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए । 

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रवार राति संयुक्त अधिराज्य पुगेका थिए । यही कात्तिक १४ देखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ यही कात्तिक २६ गतेसम्म चल्नेछ । प्रधानमन्त्री देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो ।

नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, विभिन्न मन्त्रालयका सचिव, उच्च सरकारी अधिकारी र सञ्चारकर्मीलगायत छन् ।



मङ्गलबार १६, कार्तिक २०७८ ०७:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.