कैलालीमा २१ हजार हेक्टरमा लगाएको धानबालीमा पूर्ण क्षति

युग संवाददाता     1171 पटक पढिएको    

कैलालीमा २१ हजार हेक्टरमा लगाएको धानबालीमा पूर्ण क्षति

 

धनगढी । धान उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको कैलालीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति पुगाएको छ । वर्षा र डुवानले जिल्लाभरि करिब २१ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली पूर्ण रुपमा क्षति भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माका अनुसार  प्रारम्भीक तथ्यांक उल्लेख गर्दा  २१ हजार हेक्टरको धानबाली पूर्ण रुपमा नष्ट भएको जानकारी दिए ।  लामो समय पानीमा रहेकाले धान टुसाउन थालेकाले झन समस्या भएको उनले बताए ।

कैलालीमा ७० हजार हेक्टरमा धानबाली लगाइन्छ । ज्ञान केन्द्रका अनुसार प्रतिहेक्टर औषत ४५ क्वीन्टल धान उत्पादन हुने गरेको छ ।उत्पादकत्वका आधारमा करिब साढे नौ लाख क्वीन्टल धान नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्वीन्टल धान दुई हजार रुपैयाँका दरले हिसाब गर्दा पनि धानबालीमा वर्षाले करिब दुई अर्ब रुपैयाँको क्षति भएको शर्माले बताए । तोरी, मसुरो, आलुसमेतमा गरी करिब तीन अर्बको क्षति भएको अनुमान रहेको उनले जानकारी दिए ।

कुल धानबाली लगाउने क्षेत्रमध्ये ५० प्रतिशतमा भित्र्याइसकेको र १५ प्रतिशतजति काट्न बाँकी रहेको ज्ञान केन्द्रले जनाएको छ । धानबालीमा ठूलो क्षति हुँदा अन्न उत्पादन घट्ने र यसले खाद्यान्न अभावको समस्या हुनसक्ने सम्बन्धित अधिकारीहरुले बताएका छन् ।



सोमबार ०८, कार्तिक २०७८ ०१:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.