टीकापुरका अधिकांश भाग डुबानमा

युग संवाददाता     595 पटक पढिएको    

टीकापुरका अधिकांश भाग डुबानमा


  कार्तिक ३ कर्णाली नदीले टीकापुर नगरपालिका– ५ सिमरैनीमा झन्डै १०० मिटर बाँध फुटाएको छ । बाँध फुटेपछि नदी बस्ती तथा खेतमा पसेको छ । बाढीका कारण टीकापुरका अधिकांस भाग डुबानमा परेका छन् । आइतबारदेखिको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेपछि टीकापुर डुबानमा परेको हो । कर्णाली नदीका बिभिन्न स्थानमा निर्माण गरिएको तटबन्ध भत्किएको छ ।

त्यस्तै रानी जमरा कुलरिया र ज्ञानी कुलोमा पानीको उच्च बहाव हुँदा टीकापुरका अधिकांश भाग डुबानमा परेका छन् । ज्ञानी कुलो र जमरा कुलोमा पानीको बहाव उच्च हुँदा टीकापुरको ब्लक नं। ८ जलमग्न भएको छ । जमरा कुलोको पानीका कारण टीकापुर बजार क्षेत्र पनि जलमग्न भएको छ ।

कर्णाली नदीको बाढीले शाहीपुर, बनगाउँ, धनसिंहपुर, सती पनि डुबानमा परेको छ । हुलाकी सडक र अरुणाफाँटा जलमग्न भएको छ । बनगाउँ र सती बजारसँग जोडिएको बर्दिया जोड्ने हुलाकी मार्ग कर्णाली नदीको बाढीले बगाउँदा बर्दियासँगको सडक सम्पर्क टुटेको छ ।
टीकापुर वडा नं। २ बजारमा पनि जमराबाट आएको पानी पसिरहेको छ । वडा नम्बर ५, ६, ७, ८ र ९ को अधिकांश खेतीयोग्य जमिन जलमग्न भएको छ ।  ब्लक नं। २० पनि जलमग्न भएको छ । ब्लक नं। १८, १९ र २० पनि डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले कर्णाली नदीमा आएको बाढीले टीकापुर क्षेत्रका अधिकांश भागमा डुबानमा परे पनि मानवीय क्षति नभएको बताए ।

 


माछा मार्न गएका तीन जना अझै बेपत्ता

कैलालीमा माछा मार्न गएका तीन जना अझै फेला परेका छैनन् । जिल्लाको लम्कीचुहा नगरपालिका( ३ ढुङ्गेबजार बस्ने ६१ वर्षीय खडक घर्तीमगर, सोही ठाँउ बस्ने ३५ वर्षीय विक्रम घर्तीमगर  र २६ वर्षीय खडक राना मगर बेपत्ता भएका हुन् ।


सोमबर स्थानीय नदीमा माछा मार्न गएका बेला उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोमबार बेपत्ता भए पनि प्रहरीलाई भने मंगलबार मात्रै जानकारी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।

बेपत्ताको खोजीकार्य भइरहेको उनको भनाइ छ ।



बुधबार ०३, कार्तिक २०७८ ०१:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.