दसैँ लगत्तै काँग्रेस बैठक  महाधिवेशन सर्ने

युग संवाददाता     419 पटक पढिएको    

दसैँ लगत्तै काँग्रेस बैठक  महाधिवेशन सर्ने


काठमाडौँ । नेपाली काँग्रेसले दसैँ लगत्तै पार्टीको केन्द्रीय समिति बैठक बोलाएर महाधिवेशनको मिति सार्ने तयारी गरेको छ । नेपाली काँग्रेसले सत्ताको नेतृत्व लिएपछि काँग्रेसको १४औँ महाधिवेशन ओझेलमा परेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक बोलाउन दबाब दिँदै आइरहेका छन् । 

पौडेलको दबाबपछि सभापति देउवाले दसैँपछि पहिले पदाधिकारी बैठक बोलाएर त्यस लगत्तै केन्द्रीय समिति बोलाउने भएका हुन् । सो बैठकले प्रदेश र केन्द्रको महाधिवेशनको मितिलाई केही हेरफेर गर्ने बताइएको छ । 

‘महाधिवेशनको प्रक्रियामा अलमल भयो, केन्द्रीय समिति बोलाउनुस् भनेर मैले सभापति जीलाई भनेको छु, अब अलमल गरेर भएन भन्ने मेरो कुरा हो, शेरबहादुर जीले दसैँ लगत्तै बैठक बोलाउँछु भन्नु भएको छ,’काँग्रेस वरिष्ठ नेता पौडेलले हाम्रा कुरासँग भने । 

प्रधानमन्त्री देउवाले सत्ताको किचलो र मन्त्रीपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन् । कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नु पर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा प्रधानमन्त्री देउवा पार्टीका काममा भन्दा बढी सरकार र गठबन्धनका काममा अल्झँदै आएका छन् । 

जसका कारण काँग्रेसले अझै पनि १३ जिल्लामा वडा अधिवेशन नै सुरु गर्न सकेको छैन । १३ जिल्लामा वडा अधिवेशन नहुँदा महाधिवेशनको पूर्वनिर्धारित मिति प्रभावित भइसकेको छ । ‘महाधिवेशन त घोषणा भयो, तर अझै पनि हुनेकी नहुने अन्योल छ, अब यसरी पार्टी चल्दैन,’ नेता पौडेलले थपे । 


सभापति देउवाले भने निर्धारित मितिमा अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशनका लागि तय मितिसमेत संशोधन गर्ने तयारी गरेका छन् । उनी निकट एक नेताका अनुसार प्रदेश अधिवेशन मङ्सिर पहिलो साता गर्ने गरी तयारी भइरहेको छ । 

‘प्रदेश अधिवेशन कार्तिकमा अब गर्न सक्ने अवस्था छैन, मङ्सिर सम्म सार्ने विषयमा सभापतिले सल्लाह गर्दै हुनुहुन्छ, यसो हुँदा मङ्सिर पहिलो साता प्रदेश अधिवेशन हुन्छ, केन्द्रको समेत केही दिन पर सर्छ,’सभापति देउवा निकट ती नेताले भने । 

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले समेत प्रदेश र केन्द्रको पूर्व निर्धारित मिति हेरफेर गर्दै १४औँ महाधिवेशनको कार्यतालिका फेरी संशोधन गर्ने तयारी भएको बताउँदै आइरहेका छन् । 

यादवले १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु नभएकाले प्रदेश अधिवेशन र मङ्सिरका लागि तोकिएको महाधिवेशन केही दिन सर्ने अवस्था सृजना भएको बताएका हुन् । काँग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न नसकेपछि ती जिल्लाहरूमा त्यसपछिका तहका अधिवेशन हुन सकेको छैन ।

पछिल्लो पटक निर्धारित कार्यतालिका अनुसार काँग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँरनगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो ।

यसै गरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मङ्सिर सम्म काठमाडौँमा हुने उल्लेख छ । यीमध्ये धेरैजसो तालिका प्रभावित भइसकेको छ । हालसम्म काँग्रेसले ६४ जिल्लामा मात्रै वडा अधिवेशनसम्म सम्पन्न गरेको छ । 

निर्वाचन समितिले केही हिमाली जिल्लामा भने जिल्ला अधिवेशनसमेत सकाएको छ। काँग्रेसले २१ हिमाली जिल्लामा भने कार्यतालिकालाई नघाएर भए पनि जिल्ला अधिवेशन सुरु गरेको थियो ।
वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा दसैँपछि मात्रै अधिवेशन गर्ने भनिए पनि अधिवेशनको मिति अनिश्चित छ । 

प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलालीमा वडा अधिवेशन बाँकी छ । काँग्रेसले अझै रसुवा, रौतहट र बारा जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छैन ।



बुधबार २७, असोज २०७८ ०४:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.