साउदीमा श्रमिकको संख्या घट्दै

युग संवाददाता     1034 पटक पढिएको    

साउदीमा श्रमिकको संख्या घट्दै

 


काठमाडौं– पछिल्लो समय साउदी अरबमा विदेशी श्रमिकको संख्यामा ८ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । सन् २०२० को जुन देखि २०२१ को जुन महिनाको एक वर्षको अवधिमा साउदीमा ५ लाख ७१ हजार ३ सय ३३ विदेशी श्रमिकको संख्यामा कमी आएको र यो ८।५१ प्रतिशत रहेको साउदी सरकारी निकाय गोसीले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

साउदीमा यसअघि ६७ लाख ६ हजार आप्रवासी श्रमिक रहेकामा यो संख्या सन् २०२१ को जुन महिनासम्म घटेर ६१ लख ३५ हजारमा झरेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । साउदी अरबले पछिल्ला केही वर्षयता विदेशी श्रमिकमाथिको निर्भरता हटाउने नीति लिएका कारण आप्रवासी श्रमिकको संख्यामा कमी आएको समाचारमा जनाइएको छ । कतिपय क्षेत्रको काममा विदेशीलाई लगाउन नपाइने व्यवस्था गरिएको तथा केही क्षेत्रको कामा सिमित संख्यामा मात्र विदेशी श्रमिक राख्न पाइने व्यवस्थाका कारणले पनि विदेशी श्रमिकमा कमी आएको अनुमान गरिएको बताइएको छ । केही मलहरूमा सिमित कामका लागि बाहेक विदेशी नागरिकलाई रोजगारीमा राख्न नपाउने अभ्यास पछिल्लो समय साउदीमा कार्यान्वयनमा आएको छ ।

त्यस्तै त्यहाँका केही सपिङ सेन्टरहरूमा समेत यो व्यवस्था एक महिना अगाडिदेखि लागू भएको समाचारमा जनाइएको छ । पछिल्ला केही वर्षयता साउदी सरकारले साउदीकरण अभियान अगाडि बढाइरहेको र सोहीअनुसार विदेशी श्रमिकमाथिको निर्भरता हटाउँदै लगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसले मुलुकमा उपलब्ध रोजगारीमा साउदी नागरिकहरूलाई नै आवद्ध गर्ने लक्ष्य राखिएको बताइएको छ ।

गत अप्रिलमा सामाजिक विकास मन्त्रालयले गरेको निर्णय कार्यान्वयनका क्रममा मलहरूमा सिमित कामबाहेक अन्य काममा सतप्रतिशत साउदी नागरिकलाई नै रोजगारीमा राख्नु पर्ने नियम ल्याइएको र यो व्यवस्था कार्यान्वयनमा आएको जनाइएको छ । यसले साउदी नागरिकहरूका लागि थप ५१ हजार रोजगारी उपलव्ध गराउने विश्वास लिइएको समाचारमा जनाइएको छ । क्याफे तथा रेस्टुराँहरूमा भने ५० प्रतिशत विदेशी नागरिकलाई रोजगारीमा राख्न पाइने व्यवस्था छ । यसैगरी हाइपर मार्केट तथा सुपरमार्केटहरूमा पनि यस्तै व्यवस्था रहेको समाचारमा उल्लेख गरिएको छ ।

सफाइ कार्य, सामान ओसारपसार गर्ने, मर्मत कार्य तथा हजामको काममा भने विदेशी श्रमिकले काम गर्न पाउने व्यवस्था रहेको बताइएको छ । ती काममा विदेशी श्रमिक राख्न रोजगारदाताहरू स्वतन्त्र छन् । साउदी अरबको नयाँ नियमअनुसार सपिङ मलहरूमा कार्यरत कुल श्रमिकमध्ये २० प्रतिशतभन्दा बढी विदेशी हुन नपाइने व्यवस्था रहेको बताइएको छ । उनीहरूका लागि छुट्टै पहिरनको समेत व्यवस्था हुनु पर्ने नियम लागू गरिएको बताइएको छ ।

चार महिनाअगाडि नै त्यहाँको मन्त्रीस्तरिय निर्णय अनुसार यो नियम लागू गरिएको र अगस्टदेखि कार्यान्वयनमा समेत आएको बताइएको छ । यो नियम कार्यान्वयनमा आएपछिको समयमा पनि कुनै रोजगारदाताले सो निर्णय कार्यान्वयन नगरेमा आर्थिक जरिमाना तथा सजायसमेत हुने बताइएको छ ।



शनिबार १६, असोज २०७८ ०४:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.