एमालेको इतिहासमा पहिलो पटक विधान महाधिवेशन

युग संवाददाता     679 पटक पढिएको    

एमालेको इतिहासमा पहिलो पटक विधान महाधिवेशन
फोटो फायल

 


काठमाडौं  असोज १४। नेता प्रधान होइन नीति प्रधान पार्टी हो भन्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले इतिहासमा पहिलोपटक विधान महाधिवेशन गर्दैछ । असोज १५ शुक्रबार देखि १७ गते आइतबार सम्मका लागि तोकिएको महाधिवेशनमा पाँच हजार भन्दा बढी प्रतिनिधिहरुले भाग लिँदै छन् ।
 
ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न हुने  विधान महाधिवेशनबाट एमाले आगामी चार वर्षका लागि नीतिगत धारणाहरु पास गर्नेछ । महाधिवेशनबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधनलाई पास गर्नेछ ।

‘महाधिवेशनमा नेतृत्व चयनप्रति बढी केन्द्रीत हुन थालेपछि पार्टीले नीतिमाथि छलफल गर्न विधान महाधिवेशन आयोजना गरेको हो’, पार्टीका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने । उनका अनुसार यस महाधिवेशन धेरै अर्थमा महत्वपूर्ण छ । सचिव भट्टराईका अनुसार महाधिवेशनलाई भव्य र सभ्य बनाउन पार्टीपंक्तिलाई पूर्णरुपमा परिचालन गरेको छ ।
 
विधान महाधिवेशन आयोजक कमिटी सदस्य एवं मिडिया संयोजक खिमलाल भट्टराईले  महाधिवेशनको तयारीलाई भव्य र सभ्य बनाउन सबै पक्षलाई परिचालन गरिएको बताए । एमालेले स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा महाधिवेशनमा व्यवस्थापन कमिटी गठन गरेको छ । जसमा कृष्णगोपाल श्रेष्ठ, सुशीला नेपाल, पासाङ शेर्पा, खिमलाल भट्टराई, विनोद श्रेष्ठ, सुजिता शाक्य सदस्य रहेका छन् । 

सो कमिटीको सचिवमा शेरबहादुर तामाङ रहेका छन् । विधान महाधिवेशनको पूर्व सन्ध्यामा मंगलबार पार्टी अध्यक्ष ओली आफैले मिडियासँग अन्तरक्रिया गरेका थिए । त्यसक्रममा ओलीले पार्टीको विधान महाधिवेशन भन्दा पनि सरकारको आलोचना गर्नमा समय खर्चेका थिए । 

विधान महाधिवेशन आयोजक कमिटी सदस्य एवं मिडिया संयोजक भट्टराईका अनुसार  शुक्रबारबाट शुरु हुने विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रको प्रतिनिधि, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू र केन्द्रले मनोनीत गर्ने १० प्रतिशतसमेत गरी पाँच हजारभन्दा बढी संख्यामा प्रतिनिधिहरुको सहभागिता रहनेछ । 

‘भूगोल, जनसंगठन, पेशागत संगठन, प्रवास संगठनबाट सहभागी हुने प्रतिनिधि छनोट भएको छ । समावेशीका आधारमा महिला, दलित, जनजातिको पनि उल्लेख्य सहभागिता हुनेछ’ मिडिया संयोजक भट्टराईले भने ।
 
उनका अनुसार विभिन्न स्थानमा डिजिटल बोर्डबाट महाधिवेशनका गतिविधि प्रत्यक्ष प्रसारण गरिनेछ । त्यसका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा राखिएका बोर्डमार्फत् लाइभ गर्ने आवश्यक तयारी गरिएको छ ।

‘प्रचारप्रसारका लागि अहिले वाल पेन्टिङ गरिएको छैन । डिजिटल बोर्डको प्रयोग गरेर प्रचारप्रसार गर्छौं, सञ्चार क्षेत्रको सहयोग पनि हुन्छ, भव्य र ऐतिहासिक विधान महाधिवेशन गर्ने हाम्रो लक्ष्य छ। यो ऐतिहासिक रुपमा सम्पन्न गर्ने र यसलाई हाइटेक बनाइनेछ’, भट्टराईले भने । उनले यो महाधिवेशनले संगठन सुदृढ गर्न मद्दत गर्ने बताए ।
 
विधान महाधिवेशनको तयारीको सम्बन्धमा बिहीबार दिउँसो रामहादुर थापा ‘बादल’ ले पत्रकार सम्मेलन गरेर जानकारी दिने भएका छन् । उनले व्यवस्थापनको बारेमा जानकारी दिने कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको सहभागी संख्या र उनीहरुको व्यवस्थापनको बारेमा जानकारी दिइने छ ।
 
‘व्यवस्थापनको सन्दर्भमा प्रतिनिधिहरु सातदोबाटोसम्म आफै जानेछन् र बिहानको खाना र दिउँसोको खाजा सम्मेलन केन्द्रमा नै खुवाउने, साँझको खाना चाहिँ प्रतिनिधिहरुले बसेको ठाउँमा खानुहुनेछ’, कार्यालय सचिव तामाङले भने । खाना र खाजा खुवाउनका लागि क्याटरिङ व्यवसायीहरुसँग टेन्डर गरिएको छ । 

सम्मेलन केन्द्रमा सहभागीहरुलाई बिहान ९ बजेदेखि ११ बजेसम्मको समय खानाका लागि निर्धारण गरिएको छ । ११ बजेदेखि दिनभर छलफल भएर साँझ ५ बजे सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ । 

दिउँसो एक घण्टा भने प्रतिनिधिहरुलाई खाजा खानका लागि समय तोकिएको छ । 

महाधिवेशनमा उपस्थितहरुको आवासको व्यवस्थापन प्रदेश कमिटीले नै गर्ने प्रबन्ध मिलाइएको छ ।

‘काठमाडौंमा सम्पर्क मञ्चको सहयोग लिएर प्रदेश कमिटीले व्यवस्थापनको काम गर्नुहुन्छ, केन्द्रको तर्फबाट गर्नैपर्ने थोरै केही संख्यामा नगरी नहुने आवासको व्यवस्थापन मात्रै गर्नेछौं’,  तामाङले भने । । हाम्राकुराबाट 



बिहिबार १४, असोज २०७८ ०१:२० मा प्रकाशित

#कोरोना भाइरस //

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.