सुदूरपश्चिम प्रदेश सरकारले विश्वविद्यालय निर्माण गर्ने  संकेत

युग संवाददाता     1103 पटक पढिएको    

सुदूरपश्चिम  प्रदेश सरकारले विश्वविद्यालय निर्माण गर्ने  संकेत

 

 धनगढी असोज ९ चार वर्षसम्म ओझेलमा परेको सुदूरपश्चिम प्रदेश सरकारको विश्वविद्यालय निर्माण गर्ने योजना फेरि अगाडि बढ्ने संकेत देखिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विश्वविद्यालयको संभाव्यता अध्यययनका लागि २०७५ सालमै विज्ञ टोली सम्मिलित छानविन समिति गठन गर्ने निर्णय गरेको थियो । तर, तत्कालीन सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले विज्ञ टोलीको संयोजक हुन योग्य व्यक्ति नपाएको भन्दै फाइल चार वर्षदेखि थन्क्याएर राखेका थिए ।

फाइल थन्किएको चार वर्षपछि सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेश विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढाइने बताएका छन् । मन्त्री खड्काले विज्ञ टोली सम्मिलित समिति गठन गरी काम अगाडि बढाइने बताएका छन् ।

१० वर्षे शिक्षा योजनाको प्रारम्भिक खाका तथा अन्तरसम्बन्धका बारेमा प्रदेश सामाजिक विकास मन्त्रालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले प्रदेशको समग्र शैक्षिक सुधारका लागि विश्वविद्यालय निर्माण गरिनु आवश्यक रहेको बताए । विश्वविद्यालय निर्माणका लागि मन्त्रालयले पहिलेदेखि नै काम थाले पनि कार्यदलले पूर्णता नपाउँदा काम रोकिएको बताउँदै मन्त्री खड्काले केही दिनमै कार्यदल निर्माण गरिने आश्वासन दिएका हुन् ।

‘प्रदेशका सबै क्याम्पसलाई समेट्ने गरी विश्वविद्यालय निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ’, मन्त्री खड्काले भने, ‘त्यसका लागि हामी छिट्टै विज्ञ टोली सम्मिलित समितिको टुंग लगाउनेछौँ ।’

२४ फागुन २०७५ मा सामाजिक विकास मन्त्रालयको आयोजनामा गरिएको छलफलपछि विश्वविद्यालय स्थापनाको आवश्यकता छ वा छैन भन्ने निर्क्योल गर्न शिक्षाको विज्ञ टोली सम्मिलित समिति गठन गर्ने निर्णय गरिएको थियो ।

सो निर्णयपश्चात सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले २०७५ सालमै विज्ञ टोली गठन गरी सो टोलीले दिएको राय सुझावका आधारमा प्रक्रिया अगाडि बढाइने बताएका थिए । तर, चार वर्षसम्म पनि सो समिति गठन हुन नसकेपछि विश्वविद्यालय स्थापनाको अन्य प्रक्रिया अगाडि बढ्न सकेको छैन ।



शनिबार ०९, असोज २०७८ ०२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.