कोभिड–१९ अस्पताल भरिभराउ, नयाँ संक्रमितको उपचारमा चुनौती थपिँदै

युग संवाददाता     924 पटक पढिएको    

कोभिड–१९ अस्पताल भरिभराउ, नयाँ संक्रमितको उपचारमा चुनौती थपिँदै

 

टंक कुँवर/  रातोपाटी

 धनगढी बैशाख १४ कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै कैलालीको सेती प्रादेशिक कोभिड–१९ अस्पतालमा ‘कोभिड–१९’का बिरामीको संख्या ह्वात्तै बढेको छ । ५५ बेड क्षमताको सो अस्पतालमा ५२ जना कोरोना संक्रमित भर्ना भएका छन् ।


अस्पतालको आइसियूमा १५ जना बिरामी राख्ने क्षमता रहेकोमा मा ११ जना छन् भने भेन्टिलेटरमा ३ जनालाई राखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार अस्पतालका २५ जना बिरामी अक्सिजन सपोर्टमा छन् ।


संक्रमणको दोस्रो लहर बढेयता अधिकांश बिरामीलाई अक्सिजन, भेन्टिलेटर आवश्यक पर्ने देखिएको छ । सेती प्रादेशिक कोभिड–१९ अस्पतालमा रहेका बिरामी र उनीहरुको अवस्थालाई आधार मान्ने हो भने कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरुमा बेड क्षमता वृद्धि गरेरमात्र नभई भेन्टिलेटर, अक्सिजन क्षमता लगायतका पूर्वाधारमा पनि जोड दिनुपर्ने देखिएको छ ।  

यो अस्पतालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ प्रतिशत छ भने मृत्युदर ३।५ प्रतिशत रहेको अस्पताल प्रशासनले जनाएको छ ।

करिब करिब पूर्ण क्षमतामा सञ्चालन भएको यो अस्पतालमा नयाँ बिरामी भर्ना गर्नसक्ने अवस्था छैन । संक्रमण दर बढ्दै गएमा नयाँ बिरामीको उपचार कहाँ र कसरी गर्ने भन्नेबारे अन्योल छ ।

कोरोना अस्पतालमा भर्ना भएका सबै बिरामीको खान, बस्नदेखि उपचारको व्यवस्थापनसम्म सेती प्रादेशिक अस्पतालले नै गर्दै आएको छ ।

गत साउनमा प्रदेश सरकारले बिरामीको खानबस्न र उपचारका लागि भन्दै सेती अस्पताललाई ३४ लाख रकम दिएको सेती प्रादेशिक अस्पताल धनगढीका लेखा अधिकृत मदन महराले बताए । अहिलेसम्म बिरामीको सबै व्यवस्थापन सोही रकमबाट भईरहेको उनले बताए । बिरामीको संख्या बढ्दै जाने हो भने सोही अनुसारमा बजेटको समेत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिव्यक्ति खाना, फलफूलमा दैनिक ४७५ रुपैयाँ खर्च भईरहेको उनले बताए । उनका अनुसार बिरामीलाई बिहान नास्ता, दुई छाक खाना र दिउँसो फलफूल दिने गरिएको छ । सामान्य खालका बिरामीको उपचारमा दैनिक ३ हजार र जटिल खालका बिरामीको उपचार खर्च ४ हजारभन्दा माथि नै लाग्ने गरेको उनको भनाइ छ ।

यस अस्पतालमा भर्ना भएका अधिकांश बिरामी अस्पतालको सेवा–सुविधाप्रति सन्तुष्ट नै देखिएका छन् । गोदावरी नगरपालिका–३ का ४० वर्षीय संक्रमित पुरुष सोही अस्पतालमा उपचाररत छन् । उनी भन्छन्, ‘अस्पतालमा सबै कुरा ठिकै छ, खान, बस्न र रेखदेखमा राम्रै गरेका छन् ।’

बैतडीको दोगडाकेदार गाउँपालिका–५ का २७ वर्षीय पुरुष उक्त अस्पतालमा भर्ना भएको मंगलबार ८ दिन भयो । भारतबाट आएका उनी कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा छन् ।

‘अहिलेसम्म त अस्पतालले राम्रै व्यवस्था गरेको छ,’ उनले भने, ‘तर दैनिक नयाँ बिरामी थपिँदै गएका छन्, अहिले त अस्पताल नै भरिभराउ भइसकेको छ । यस्तै अवस्था रहे अब केही अप्ठ्यारो पो हुने हो कि भन्ने चिन्ता छ ।’

कोरोनाको संक्रमण दर दैनिक बढ्दै गएको र उपचार गर्ने अस्पतालमा बेड, भेन्टिलेटर, आइसियुसहितका प्राविधिक पक्षहरू कम रहेका कारण गम्भीर प्रकृतिका बिरामी बढेको अवस्थामा भयावह स्थिति निम्तिन सक्ने उनले बताए ।

बिरामीका आफन्तले भने अस्पतालमा बिरामीको संख्या बढेसँगै बिरामीको रेखदेख तथा उपचारमा पर्याप्त जनशक्ति परिचालन गर्न नसकेको गुनासो गरेका छन् । धनगढी चटकपुरका सिती जोशीका आफन्त कोरोना अस्पतालमा उपचाररत छन् । बिरामीलाई दिइएको अक्सिजन सकिँदासमेत अस्पतालले ध्यान दिन नसकेको उनको गुनासो छ । ‘आफ्नो बिरामीको अक्सिजन सिकियो भन्दा पनि कसैले चासो देखाउँदैन,’ उनले भने, ‘संक्रमण बढ्दै गएको छ, अहिले त यो अवस्था छ भने भोलिका दिन संक्रमितहरुको संख्या यसरी नै बढ्दै जाने हो भने अस्पतालमा बिरामीको अवस्था कस्तो होला रु’

कोभिड–१९ अस्पताल वा सरकारी अस्पतालले मात्र धान्न नसक्ने टिप्पणी गर्दै उनले बेलैमा सरकारले निजी अस्पताललाई पनि संक्रमितको उपचारमा प्रयोग गर्नुपर्ने खाँचो औंल्याए । ‘अहिले निजी अस्पतालले संक्रमितलाई भर्ना गर्नै मान्दैनन्,’ उनले भने, ‘बेलैमा सरकारले आवश्यक तयारी गरेन भने जटिल परिस्थिति निम्तिन सक्छ ।’



मङ्गलबार १४, बैशाख २०७८ ०२:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.