किसान महासंघमा ओली र गौतमको समानान्तर कमिटी

युग संवाददाता     898 पटक पढिएको    

किसान महासंघमा ओली र गौतमको समानान्तर कमिटी


अनलाइनखबरबाट
५ चैत, काठमाडौं । नेकपा एमालेको जनसंगठन अखिल नेपाल किसान महासंघमा पनि समानान्तर बैठक बोलाइएको छ । एमाले उपाध्यक्ष तथा किसान महासंघका अध्यक्ष वामदेव गौतमले ललितपुरको धोबिघाटमा किसान महासंघको राष्ट्रिय समितिको बैठक राखेका छन् ।

सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि गौतमले शुक्रबार महासंघको अध्यक्षको हैसियतमा बैठक राखेका हुन् । एमाले र माओवादीबीच एकता अगाडि गौतम महासंघका अध्यक्ष थिए । तर, पार्टी एकीकरण पछि भने गौतम महासंघको इन्चार्ज बनेका थिए, हरि पराजुली अध्यक्ष बनेका थिए ।

अदालतले एमालेको २ जेठ २०७५ कै पार्टी संरचना र विधान ब्युँताइदिएपछि गौतमले फेरि अध्यक्षको हैसियतमा बैठक राखेका हुन् ।

उता एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली समूहले पनि अखिल नेपाल किसान महासंघको नाममा बैठक बोलाएको  छ ।ओलीले शनिबार किसान महासंघको स्थायी कमिटी र पर्सि राष्ट्रिय समितिको बैठक बोलाएका छन् । महासंघका उपाध्यक्ष रहेका प्रेम दंगाललाई ओलीले अध्यक्षको जिम्मा दिएका छन् ।

‘प्रधानमन्त्री केपी ओली तर्फको महासंघको म अध्यक्ष हुँ र मेरो नेतृत्वको महासंघ वैधानिक हो’, दंगालले भने । यो समूहले पर्सि, ८ चैतमा नयाँ केन्द्रीय नेतृत्वको शपथ कार्यक्रमसमेत राखेको छ । बैठकलाई अध्यक्ष ओलीले नै सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

ओली समूहले किसान महासंघको ४४५ सदस्यीय केन्द्रीय कमिटी र ७५ सदस्यीय स्थायी कमिटी बनाएको छ । दंगालका अनुसार, सबै प्रदेश र जिल्ला तहमा समेत कमिटी निर्माण भइसकेको छ ।

प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजित हुँदा ओली समूहले २२ माघमै आफ्नो समूहको किसान महासंघको राष्ट्रिय भेला गरेको थियो । तर, अदालतले एमाले ब्युँताएपछि पनि २३ फागुन अगाडि बनेको कमिटीलाई बदर नगर्ने ओली समूहको अडान छ ।

अन्य जनसंगठन र भूगोलका कमिटीहरुमा भने ओली र वरिष्ठ नेताद्वय झलनाथ खनला र माधवकुमार नेपाल समूह बीच समानान्तर गतिविधि भइरहेको छ ।

किसान महासंघमा खनाल र नेपाल समूहले भने छुट्टै कमिटी नबनाउने भएको छ । ‘वामदेव गौतम नेतृत्वमा रहेको किसान महासंघ एमालेको वैधानिक संगठन हो, त्यसैलाई हाम्रो समर्थन छ’, एमाले सचिव योगेश भट्टराईले भने ।



शुक्रबार ०६, चैत २०७७ ०४:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.