कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई चुनावमा लैजान्छ -नेता  थापा

युग संवाददाता     672 पटक पढिएको    

कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई चुनावमा लैजान्छ  -नेता  थापा


पोखरा । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले कास्की निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा सांसद विद्या भट्टराई अब सांसद नभएको बताएका छन् ।  विद्या भट्टराई नेकपाबाट निर्वाचित भएकाले नेकपा विघटन भएसँगै उनको सांसद पद पनि घुमेको भन्दै अब भट्टराईलाई सांसद मान्न नसकिने स्पष्ट पारे ।

नेता थापाले कास्की क्षेत्र नं। २ अब खाली भएकाले अब छिट्टै निर्वाचन गर्नुपर्नेमा जोड दिए । साथै उपनिर्वाचनमा नेकपाबाट निर्वाचित सबै सांसद र स्थानीय निकायका जनप्रतिनिधिको पद गुमेको उनले जिकिर गरे । अब आफ्नो क्षेत्रको सांसद छान्ने अधिकार यहाँकै जनताको भएको उनले बताए ।


नेपाली कांग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घ नेल्टा गण्डकी प्रदेशको दोस्रो भेला एवं अधिवेशन उद्घाटन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई चुनावमा लैजानुपर्ने बताएका छन् । उनले कांग्रेसले वर्तमान प्रधानमन्त्री ओली नेकपाको तर्फबाट प्रधानमन्त्री बनेको भन्दै नेकपा विसर्जन भइसकेकाले अब उनलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिक हैसियत नभएको बताए ।

नेपाल कम्युनिस्ट पार्टीको मृत्यु भएको भन्दै नेता थापाले आफूले शोक व्यक्त गरे पनि नेकपाकै नेता कार्यकर्ताले शोक मनाउनुको साटो लोकगीत बजाएर नाचगान र लड्डु खाने काम गरेको टिप्पणी गरे ।

जनता समाजवादी पार्टीले आफ्नो निर्णय गर्न ढिलाइ गरेको भन्दै उनले ओलीलाई समर्थन गरे पनि या कांग्रेस माओवादी जसलाई समर्थन गरे पनि छिटो निर्णय गर्नुपर्नेमा जोड दिए ।  ‘कसलाई समर्थन गर्ने हो या आफै अघि सर्ने हो, जे गरे पनि छिटो निर्णय गर्नुपर्‍यो’, उनले भने, ‘जति अलमल हुन्छ देशले त्यति नै धेरै क्षति व्यहोर्छ ।’

नेता थापाले कांग्रेसले सरकारको नेतृत्व गरेर दायाँबायाँ नगरीकन जनतालाई सुशासन दिने, संविधानलाई लिकमा ल्याउने र देशलाई चुनावमा लैजाने काम मात्रै गर्ने स्पष्ट पारे ।  कम्युष्टिको भाग लिएर कांग्रेस धेरै समय सत्तामा बस्न नहुने भन्दै अहिले एउटा महान् अवसर आएको र यो अवसरलाई कांग्रेसले सही ढङ्गले सदुपयोग गर्नुपर्ने बताए ।

‘अझै पनि प्रधानमन्त्रीमा केपी ओलीलाई नै निरन्तरता दिनु भनेको देश र जनताले अझै धेरै क्षति व्यहोर्नु र दुःख पाउनु हो’, उनले भने । ओलीले स्वतन्त्र र निष्पक्ष ढङ्गले चुनाव गराउन नसक्ने र विश्वास पनि गर्न नसकिने स्पष्ट पार्दै नेता थापाले भने, ‘यस्ता दम्भी, अहङ्कारी असहिष्णु व्यक्तिले निष्पक्ष निर्वाचन गराउँछ भन्ने विश्वास गर्नु मूर्खता हो ।’



शुक्रबार ०६, चैत २०७७ ०४:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.