वाणिज्य बैंकहरूले नबढाई तोके चैत महिनाको ब्याजदर, कुन बैंकको कति ?

युग संवाददाता     1023 पटक पढिएको    

वाणिज्य बैंकहरूले नबढाई तोके चैत महिनाको ब्याजदर, कुन बैंकको कति ?

 

बैंकिङ खबरबाट /  बैंक तथा वित्तीयसंस्थाहरूले चैत महिनादेखि निक्षेपको ब्याजदर बढाउन सक्ने चर्चा गरिए पनि अधिकांश वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन् । कोभिड १९ को प्रभाव न्यून हुँदै जाँदा लगानीको वातावरण बन्दै गएपछि बैंकहरूको कर्जाप्रवाह पनि बढ्दै गएको छ । यसले महामारीका कारण सिर्जित अधिक तरलता विस्तारै न्यून हुँदै गएपछि ब्याजदर बढ्ने चर्चा सुनिँदै आएको थियो । यद्यपि, अझै पनि अधिक तरलताकै अवस्था रहेको र सरकारले पठाएको विकास खर्च बैंकिङ प्रणालीमा भित्रिएकाले तत्कालै तरलता अभावको अवस्था सिर्जना नहुने विश्लेषकहरूले बताउँदै आएका छन् ।

वाणिज्य बैंकहरूले चैत महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा अधिकांश बैंकले पुरानै ब्याजदर कायम गरेका छन् । बैंकहरूले साधारण ब्याजदर परिवर्तन गरेका छैनन् भने मार्जिनप्रतिको कर्जालाई सहयोग गर्ने गरी ब्याजदर कायम गरेका छन् । केही बैंकले मुद्दती खाताको ब्याजदर घटाएका छन् । निक्षेपको ब्याजदर घट्नुले अझै तत्कालै तरलता अभावको समस्या नआउने संकेत गर्दछ । यद्यपि, पछिल्लो २ महिनामा मात्र बैंकहरूको कर्जाप्रवाह करिब डेढ खर्ब रुपैयाँले बढ्दा निक्षेप भने ४४ अर्बले मात्र बढ्नुले अधिक तरलताको समस्या हट्नेक्रममा रहेको देखाउँछ । हाल बैंकिङ प्रणालीमा करिब ४० अर्ब मात्र तरलता रहेको छ । कर्जाप्रवाहमा आएको तीव्रताले तरलता खुम्चिनुका साथै अन्तरबैंक कारोबार बढेसँगै अन्तरबैंक कारोबारको ब्याजदर भने तीव्र गतिमा बढेको छ । केही महिनाअघि मात्र पनि १ प्रतिशतभन्दा कम रहेको अन्तरबैंक कारोबारको ब्याजदर अहिले करिब ४ प्रतिशतको सेरोफेरोमा घुमिरहेको छ । यसरी अन्तरबैंक कारोबारको ब्याजदर बढ्नुलाई भने भविष्यमा कर्जाको ब्याजदर बढ्ने संकेतका रूपमा समेत बुझिने गरेको छ, यद्यपि यसलाई मात्र निकट भविष्यमै ब्याजदर बढ्नुको कारक भने मान्न सकिँदैन ।

ब्याजदरमा उतारचढावले सेयरबजारलगायत महत्त्वपूर्ण वित्तीय क्षेत्रमा सोझो प्रभाव पार्दछ । पछिल्लो समय सेयरबजारले गति लिनुको प्रमुख कारकका रूपमा अधिक तरलताका कारण घटेको ब्याजदर र सेयर कर्जाको सीमा वृद्धि गरिनुलाई मानिँदै आएको छ । तर, केही साताअघि देखि ब्याजदर बढ्ने हल्ला चुलिएपछि बजार पुनः प्रभावित बन्दै आएको छ, यद्यपि बजारको यो गिरावटलाई राजनीतिक बदलावको उपजको रूपमा समेत हेरिएको छ । यसर्थ, यतिवेला ब्याजदर द्वितीय बजारका लगानीकर्ता, अन्य व्यवसायी र सर्वसाधारणको समेत चासोको केन्द्र बनेको छ ।

कुन बैंकको ब्याजदर कति ?
एनआइसी एसिया
एनआइसी एसिया बैंकले आधारदर ६.६९ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २.१ देखि ३.५ प्रतिशत र मुद्दतीका लागि ७.१० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले पुरानै ब्याजदर कायम गरेको हो ।

हिमालयन बैंक
हिमालयन बैंकले चैत महिनाका लागि मुद्दतीतर्फको ब्याजदर घटाएको छ । बैंकले ४ प्रतिशतदेखि ७ प्रतिशतसम्म रहेको बैंकको मुद्दती खाताको ब्याजदर ३.५ देखि ६.५ प्रतिशतमा झारेको छ । अन्य बैंकले यस्तो खातामा ३ देखि ६ प्रतिशतको हाराहारीमा ब्याज दिइरहेका छन् । हिमालयन बैंकले पुस महिनाकै आधारदर ६.८३ प्रतिशतलाई नै निरन्तरता दिएको छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले चैत महिनाको ब्याजदर सार्वजनिक गर्दै आधारदर ६.०७ प्रतिशत कायम गरेको छ । मुद्दतीतर्फ परिपक्व हुने समयका आधारमा ४.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याजदर कायम गरेको बैंकले साधारण बचततर्फ २ देखि ४ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले आधारदर ६.४० प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २ देखि ४ प्रतिशत र मुद्दतीमा ४.७५ देखि ६.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

स्टान्डर्ड चाटर्ड बैंक
स्टान्डर्ड चाटर्ड बैंकले चैत महिनाको ब्याजदर सार्वजनिक गर्दै पुस महिनाकै आधारदर ६.०७ प्रतिशत कायम गर्ने भएको छ । मुद्दतीतर्फ परिपक्व हुने समयका आधारमा ४.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याजदर कायम गरेको बैंकले साधारण बचततर्फ २ देखि ४ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

सेन्चुरी बैंक
सेन्चुरी बैंकले आधारदर ७.७९ प्रतिशत कायम गर्दै साधारण निक्षेप २.७५ देखि ४.७५ प्रतिशत ब्याद दिने भएको छ भने मुद्दतीतर्फ ५.५० देखि ७.५० प्रतिशत तोकेको छ ।

एनएमबी बैंक
एनएमबी बैंकले आधारदर ७.११ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा ३.१ देखि ५.१ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले आधारदर ७.१९ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २ देखि ४ प्रतिशत र मुद्दतीतर्फ ४ देखि ७ प्रतिशत ब्याजदर तोकेको छ ।

सानिमा बैंक
सानिमा बैंकले आधारदर ६.४७ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २ देखि ४ प्रतिशत ब्याद दिने भएको छ । बैंकले मुद्दती खाताको ब्याजदर ५.५ देखि ६.५ प्रतिशत तोकेको छ ।

नबिल बैंक
नबिल बैंकले आधारदर ५.५८ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २.५१ देखि ४.५१ प्रतिशत र मुद्दतीतर्फ ६.०१ देखि ७.५१ प्रतिशत ब्याजदर तोकेको छ ।

सिटिजन बैंक इन्टरनेसनल लिमिटेड
सिटिजन बैंकले आधारदर ७.८५ प्रतिशत कायम गर्दै साधारण निक्षेपतर्फ २ देखि ४ प्रतिशत र मुद्दतीतर्फ ६.५ देखि ७ प्रतिशत ब्याज दिने भएको छ ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले आधारदर ७.८५ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २.५ देखि ४.५ प्रतिशत र मुद्दतीमा ५ देखि ७ प्रतिशत ब्याजदर तोकेको छ ।

सनराइज बैंक
सनराइज बैंकले आधारदर ७.१२ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २.५ देखि ४ प्रतिशत ब्याज दिने भएको छ । बैंकले मुद्दतीतर्फको ब्याजदरभने ७ प्रतिशत तोकेको छ ।

मेगा बैंक
मेगा बैंकले आधारदर ६.९७ प्रतिशत कायम गर्दै साधारण निक्षेप १.५ देखि ५.५ प्रतिशत दिने भएको छ भने मुद्दती खाताका लागि ६.५ देखि ७.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले आधारदर ५ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २.७५ देखि ४ प्रतिशत दिने जनाएको छ । बैंकले मुद्दतीतर्फ ६ देखि ७.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले आधारदर ९.१७ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २ देखि ४ प्रतिशत र मुद्दतीमा ६.५ देखि ७ प्रतिशत
ब्याज दिने जनाएको छ ।

ग्लोबल आइएमई बैंक
चुक्तापुँजीको हिसाबले देशकै सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमईले आधारदर ६.६७ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २ देखि ४ प्रतिशत ब्याज दिने भएको छ । बैंकका मुद्दती निक्षेपकर्ताले ७ प्रतिशत ब्याज पाउने भएका छन् ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले आधारदर ७.६७ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २ देखि ३.५ प्रतिशत ब्याज दिने भएको छ । बैंकले मुद्दतीतर्फ भने ४.५ देखि ७ प्रतिशत ब्याजदर तोकेको छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले आधारदर ७.२५ प्रतिशत कायम गर्दै साधारण निक्षेपतर्फ २.५ देखि ४.५ प्रतिशत र मुद्दतीतर्फ ६ देखि ७ प्रतिशत ब्याजदर तोकेको छ ।

एनसिसी बैंक
एनसिसी बैंकले आधारदर ७.९४ प्रतिशत कायम गर्दै साधारण निक्षेपमा २.५ देखि ५ प्रतिशत ब्याज दिने भएको छ । मुद्दतीतर्फ भने बैंकले ६ देखि ८ प्रतिशत ब्याजदर तोकेको छ ।



मङ्गलबार ०३, चैत २०७७ ११:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.