देशव्यापी रुपमा समानन्तर कमिटी निर्माणको तयारीमा नेपाल समूह

युग संवाददाता     936 पटक पढिएको    

देशव्यापी रुपमा समानन्तर कमिटी निर्माणको तयारीमा नेपाल समूह

 


काठमाडौं   चैत ३  । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई निषेध गरेर फागुन २८ गते बालुवाटारमा नेपाल पक्षीय नेतारुको जिम्मेवारी खोसेपछि राष्ट्रिय भेलामार्फत समानान्तर कमिटी निर्माणको तयारीमा लागेका छन् । 


एकलौटी रुपमा नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल पक्षले चैत ४ र ५ गते पार्टीको राष्ट्रिय भेला बोलाएर  समानान्तर कमिटी बनाउन लागेका हुन् । देशव्यापी रुपमा समानन्तर कमिटी निर्माणको तयारीमा लाग्न आफू पक्षीय कार्यकर्ताहरुलाई निर्देशन दिइसकेका छन् । 

नेपाल पक्षले राष्ट्रिय भेलामार्फत आफ्ना कार्ययोजनाहरु तयार गर्ने भएको हो । राष्ट्रिय भेलामा केन्द्रीय सदस्य, सांसद, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी, जनसंगठनका पदाधिकारी र जनसंगठनका जिल्ला अध्यक्षहरु सहभागी हुने बेदुराम भुषालले जानकारी दिए । 

‘केपी ओलीले एमालेलाई विभाजनको दिशामा लैजानु भयो, हामी पुनर्गठन गर्छौं,’ उनले भने । ओलीले नेपाल पक्षलाई बाइपास गरेर नेताहरुलाई जिम्मेवारीविहीन बनाएपछि गत शुक्रबार आकस्मिक रुपमा सो पक्षका स्थायी समिति सदस्यहरुको बैठक बसेको थियो । शनिबार केन्द्रीय सदस्यहरुको बैठक राखेको थियो । आइतबार पनि नेपाल पक्षका नेताहरुले राष्ट्रिय भेलाको तयारी गरेका थिए । 

नेपाल पक्षले राष्ट्रिय भेलाको आयोजना गरेपछि दबाबमा परेको ओली समूहले सोमबार नेपाल पक्षसँग कुराकानी गरेका थियो । कुराकानीको क्रममा ओली पक्षले भेला रोकेर मंगलबारको चियापान र ७ गतेको केन्द्रीय कमिटीको बैठकमा आउन आग्रह गरेको थियो । 

तर नेपाल समूहले २८ गतेको निर्णयलाई फिर्ता नलिएसम्म आफूहरुले कुनै पनि गतिविधि नरोक्ने चेतावनी दिएपछि वार्ता निष्कर्षविहीन भएको थियो । 

सोमबार ओलीसँगको भेटपछि सोमबार साँझ नेपाल पक्षीय नेताहरुले अर्याल होटलमा आफू निकटका सांसदहरुलाई ब्रिफिङ गरेका थिए । त्यस लगत्तै सोही समूहको स्थायी कमिटी सदस्यहरुबीच छलफल भएको थियो । सो छलफलले ओलीले आफूहरुलाई अल्मल्याउने नीति लिएको निष्कर्ष निकालेपछि राष्ट्रिय भेला नरोक्ने नीतिमा पुगेका छन् ।

महाधिवेशन हुन नसकेको अवस्थामा महाधिवेशनले गर्ने महत्वपूर्ण निर्णयहरु त्यसअघि नै गर्नुपरेमा राष्ट्रिय भेलाको आयोजना गरिन्छ । प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा रहेका सांसदहरुविरुद्ध पनि केही कदम चाले के गर्ने भन्ने बारेमा पनि नेपाल पक्षले छलफल शुरु गरिसकेको छ । 

नेपाल पक्षका नेताहरुले सोमबार राति अबेरसम्म आफू पक्षका नेताहरुलाई राष्ट्रिय कार्यकर्ता भेलामा आउन आग्रह गरेका छन् । उनीहरुले सबै जसो जिल्ला कमिटीका सदस्यहरु र राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरुलाई भेलामा आउन आग्रह गरेका छन् । 

भेलामा ओली समूहमा रहेका केही नेताहरु पनि सहभागी हुने उनीहरुले अपेक्षा गरेका छन् । ‘पार्टी एक हुनपर्छ भन्ने समूहले ओलीलाई दबाब सिर्जना होस् भन्ने उदेश्यले सो समूहमा रहेका तर केही समय निष्कृय बसेका नेताहरु पनि सहभागी हुँदै हुनुहुन्छ’, नेपाल समूहका एक नेताले भने ।



मङ्गलबार ०३, चैत २०७७ ११:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.