नेपालपक्ष निरन्तर बेग्लै भेला र बैठकमा

युग संवाददाता     832 पटक पढिएको    

नेपालपक्ष निरन्तर बेग्लै भेला र बैठकमा

 

हाम्राकुराबाट

काठमाडौँ फागुन २७। प्रधानमन्त्री केपी ओलीले एमालेको अध्यक्ष भएका नाताले माधव नेपाल पक्षसँग कुराकानी गर्न आनाकानी गरिरहेका बेला नेपाल समूहले तीन दिनदेखि बेग्लै भेला र बैठकहरू सुरु भएका छन्। सर्वोच्च अदालतको फैसला लगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीभित्र एमालेको नवौँ महाधिवेशनपछिको शक्ति सन्तुलन मिलाउने गरी आफू निकटका स्थायी कमिटीका सदस्य, सांसद र केन्द्रीय सदस्यहरू बीच छलफल, बैठकहरू सुरु भएका हुन्।


अब बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक अगावै नेपाल समूहले केन्द्रीय कमिटी, संसदीय दल, प्रदेश र जिल्ला तहसम्म पूर्ववत् समूह सङ्गठित गर्ने प्रयासका लागि बैठकहरू सुरु भएका हुन्। मङ्गलवार समूह निकट सांसदहरूको भेला गरेका नेपालले त्यस क्रममै बुधवार केन्द्रीय कमिटी सदस्यको भेला, बैठक भएका छन्।

केन्द्रीय सदस्यलाई बदलिएको परिस्थितिबारे ब्रिफिङ गरे लगत्तै समूहबाट प्रतिनिधित्व गर्ने जिल्ला नेतृत्वको बेग्लै भेला गर्ने नेपाल समूहको तयारी छ। यद्यपि, भेलाको मिति भने टुङ्गो लगाएको छैन। सोमबार बसेको नेपाल समूहका स्थायी कमिटी सदस्यको भेलाले एमालेमै यथावत् क्रियाशील हुने, तर ओलीको व्यक्तिवाद विरुद्धको सङ्घर्ष र एजेन्डालाई निरन्तर उठाउने निष्कर्ष निकालेको थियो।

त्यस आधारमा मङ्गलवार सांसदहरूको बैठक बस्यो भने बुधवार साँझसम्म केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो। मङ्गलवारको भेलामा सांसदहरूले ३ जेठ ०७५ अघि अर्थात् २ जेठसम्म केन्द्रदेखि स्थानीय तह तथा जन वर्गीय सङ्गठनमा रहेको नेतृत्व जस्ताको–तस्तै ब्युँताएर अघि बढ्ने गरी प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसमक्ष प्रस्ताव गर्न सुझाव दिएका थिए।

‘हामीले अब एमालेको सङ्गठनात्मक संरचनालाई २ जेठ ०७५ को अवस्थामा फर्काउनुपर्छ, त्यस अनुसारको निर्णय होस्, कतिपय ठाउँमा व्यक्ति नभएको अवस्थामा बेग्लै कुरा हो,’ सांसदहरूको सुझाव उद्धृत गर्दै केन्द्रीय सदस्य समेत रहेका गणेश पहाडीले ‘केन्द्रीय सचिवालयले पनि स्थायी समितिका लागि त्यस्तै एजेन्डा ल्याउने गरी गृहकार्य गरोस् भन्ने हामीले सुझाव दिएका छौँ।’ स्थायी कमिटी बैठकको एजेन्डा गृहकार्य गर्न एमाले महासचिव ईश्वर पोखरेलले मङ्गलवार पदाधिकारीहरूको बैठक बोलाएका थिए। तर, अध्यक्ष ओलीले पदाधिकारीहरूको बैठक रोक्न निर्देशन दिएपछि बैठक स्थगित भएको छ।

भेलामा वरिष्ठ नेता नेपालले तत्कालीन एमाले ओलीको एकल निर्णयबाट विघटन भएको र अहिले अदालतको निर्णयबाट ब्युँतिएका कारण कसैले मनोबल कमजोर पार्नुपर्ने कुनै कारण नरहेको प्रस्ट्याएका थिए। त्यस्तै, उनले पार्टी एकता विधिसम्मत ढङ्गले नगरिएका कारण पनि नेकपामा थुप्रै विकृति, विसङ्गति आए पनि अहिले विगतको समीक्षा सहित एमालेलाई पुनः बलियो बनाउने र ओलीको व्यक्तिवाद विरुद्ध अन्तसङ्घर्षका लागि उच्च मनोबलका साथ प्रस्तुत हुनुपर्ने आवश्यकता औँल्याएका थिए।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका करिब ४५ सांसद सहभागी भेलामा पहाडी सहित परशुराम मेघी गुरुङ, भवानी खापुङ, झपटबहादुर रावल, राजबहादुर बुढा, पवित्रा निरौला खरेल, दीपकप्रकाश भट्टसहित एक दर्जनभन्दा बढीले सुझाव राखेका थिए। अधिकांशले केपी ओली र ओली प्रवृत्ति विरुद्धको अन्तसङ्घर्ष बारे नेतृत्वले बदलिएको परिस्थितिमा प्रस्ट पार्नुपर्ने र ठोस अवधारणासहित अघि बढ्दा उपयुक्त हुने सुझाव दिएका थिए।

एमालेको नवौँ महाधिवेशनबाट १४ जना पदाधिकारीसहित एक सय ८५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएका थिए। महाधिवेशनपछि मनोनीतसँगै दुई सय जनाको केन्द्रीय कमिटीमा नेपाल पक्षमा ९० जना स्पष्ट खुलेका छन्। १४ मध्ये पदाधिकारी आधा नेपाल पक्षका छन्। नेकपा बनेपछि वरिष्ठ नेता झलनाथ खनालको साथ नेपाल पक्षलाई छ भने उपाध्यक्ष वामदेव गौतम भने अहिले तटस्थ भूमिकामा छन्।

६५ सदस्यीय पोलिटब्युरोमा ओली–नेपाल पक्ष हाराहारी छ। जिल्ला कमिटीको बहुमत नेतृत्व नेपाल पक्षको छ भने २२ जन वर्गीय सङ्गठनको नेतृत्वमध्ये अधिकांश ओली पक्षका थिए। सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनः स्थापना गर्‍यो। त्यसको १२औँ दिनमा सर्वोच्चले ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै एमाले–माओवादीको एकीकरणलाई मान्यता दिएन। सर्वोच्चको यही फैसलाले ४१ महिनापछि एमाले र माओवादी ब्युँतिए।

एमालेको नवौँ महाधिवेशन २०७१ साल असारमा काठमाडौँमा सम्पन्न भएको थियो। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट असार ३१ गते हालका प्रधानमन्त्री केपी शर्मा ओली एमालेको अध्यक्षका रूपमा निर्वाचित भएका थिए। ओली १०४७ मत प्राप्त गरी विजयी भएका थिए। अध्यक्षका अर्का प्रत्याशी माधवकुमार नेपालले १००३ मत प्राप्त गरेका थिए।

त्यस्तै उपाध्यक्षमा वामदेव गौतम, भीम रावल, विद्यादेवी भण्डारी, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका थिए। महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए। माधव नेपाल पक्षले यही पुरानो भूमिकालाई आफ्नो पक्षबाट सशक्त उठाउने गरी आफ्ना समूहलाई प्रशिक्षित गर्ने तयारी गरिरहेको छ।



बिहिबार २७, फागुन २०७७ ०८:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.