कतारमा तीन पटकसम्म रोजगारी परिवर्तन पाइने

युग संवाददाता     2151 पटक पढिएको    

कतारमा तीन पटकसम्म रोजगारी परिवर्तन पाइने

 

काठमाडौं– कतारको सुरा काउन्सिलले आप्रवासी श्रमिकले अब तीन पटकसम्म रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था लागू गर्ने तयारी गरेको छ । केही दिनअघि बसेको काउन्सिलको बैठकले काउन्सिलले तोकेका निश्चित प्रक्रिया पूरा गरेपछि तीन पटकसम्म श्रमिकले रोजगारता परिवर्तन गरी आफूले चाहेको कम्पनीमा काम गर्न सक्ने जनाएको छ ।

कुनै पनि कम्पनीमा कार्यरत कूल प्रवासी श्रमिकमध्ये वर्षमा बढीमा १५ प्रतिशतले मात्र रोजगारदाताको स्विकृतिबिना नै रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गर्न पनि लागू गर्न लागेको जनाइएको छ । तर, रोजगारदाताको सहमति रहेको अवस्थामा भने यस्तो व्यवस्था लागू नगरिने जनाइएको छ ।

यसैगरी कुनै पनि आप्रवासी श्रमिकले कतार छाडेर बाहिरिन लागेको अवस्थामा रोजगारदातालाई कम्तीमा तीन दिन अगावै जानकारी दिनु पर्ने व्यवस्था पनि लागू गर्न लागिएको जनाइएको छ । सरकारी तथा अर्धसरकारी निकायद्वारा सञ्चालित कम्पनीमा श्रमिकलाई श्रममा लगाउँदा रोजगारदाताको सहमतिबिना रोजगारदाता परिवर्तन गर्न नपाउने व्यवस्था गर्न पनि काउन्सिलले जनाएको छ ।

यदि कुनै पनि आप्रवासी श्रमिकले आफूखुसी रोजगारदाता परिवर्तन गर्न चाहेमा आफूले काम गर्दै आएको कम्पनीले श्रमिक भर्नाका क्रममा बाचा गरेको लगानीको क्षतिपूर्तिस्वरुप तिराउन सकिने नियम पनि लागू गर्न लागिएको जनाइएको छ । यस्तै, कुनै श्रमिकको रोजगारदाता परिवर्तनसम्वन्धि आवेदन अस्वीकृत भएको अवस्थामा रोजगारदाताले आफूसँग भएका श्रमिकलाई काममा पुनः राख्न नचाहेमा उक्त विषयलाई सम्बोधन गर्नुपर्ने पनि काउन्सिलको बैठकले निर्णय गरेको छ ।

अवैधानिक कामदारको व्यवस्थापन गरिने
हाल कतारमा अवैधानिक रुपमा श्रम गरिरहेका विदेशी श्रमिकको विषयलाई मध्यनजर गर्दै अब बन्न लागेको नयाँ नियमअनुसार सम्बोधन गरिने काउन्सिलको बैठकले निर्णय गरेको छ । यद्यपि, यस विषय कस्ता खालका कानुनी व्यवस्था लागू गर्न खोजिएको छ भन्ने विषयमा यकिन जानकारी दिइएको भने छैन छ ।

आगामी सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फुटबल प्रतियोगिता आयोजनालाई विशेष मध्यनजरका साथ यस्ता खालका नयाँ नियम निर्माण गर्न लागिएको जनाइएको छ । त्यसो त कतारले खाडी क्षेत्रमै पहिलो मुलुकका रुपमा श्रमिकको न्यूनतम ज्याला यसअघि नै निर्धारण गरिसकेको छ ।

यदि कुनै रोजगारदाताले आप्रवासी श्रमिकलाई न्यूनतम् तोकिएको ज्याला उपलब्ध नगराएमा कारबाही गर्ने जनाइसकेको छ । यसअघि श्रमिकलाई न्यूनतम् ज्याला नदिइएको अवस्थामा रोजगारदातालाई एक बर्षसम्म जेल तथा १० हजार कतारी रियाल जरिवाना हुने जनाइएको छ



बिहिबार १३, फागुन २०७७ ११:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.