नेपाली कांग्रेसका सभापति देउवा बोल्ड डिसिजन’ गर्दै

युग संवाददाता     890 पटक पढिएको    

नेपाली कांग्रेसका सभापति देउवा बोल्ड डिसिजन’ गर्दै
तस्वीर – फाइल

  काठमाडौं फाल्गुण १३ । नेपाली कांग्रेसको पदाधिकारीको बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा कुराकानी हुने पौडेल जानकारी दिए । उनका अनुसार पार्टीको आगामी १४ औं महाधिवेशनका बारेमा पनि कुराकानी हुनेछ । 

बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने छन् । बैठकमा पछिल्लो घटनाक्रमले कांग्रेसभित्र ठूलो जिम्मेवारी आइपरेको छ । 

सर्वोच्च अदालतले संसद ब्युँताइदिएपछि अब सत्ता समीकरणका बारेमासमेत पनि कांग्रेसलाई ठूलो अवसर आएको छ । 

झण्डै दुई तिहाई बहुमतको नेकपा आपसमा फुटेर असमझदारी बढेसँगै कांग्रेसलाई सहभागी गराएर सत्ता चलाउने रणनीतिमा नेकपाको प्रचण्ड–नेपाल समूह तथा ओली समूह लागेको छ । 

त्यसैगरी जनता समाजवादी पार्टी  जसपा  नेपाल पनि सत्तामा जानका लागि आतुर देखिएको छ । यो अवस्थामा कांग्रेसकै नेतृत्वमै पनि सत्ता समीकरण बनाउने सहमतिका लागि आफूहरु तयार रहेको भनी बुधबार प्रचण्ड–नेपाल समूहले प्रस्ताव गरिसकेको अवस्थामा कांग्रेसमाथि ठूलो निर्णयको आवश्यकता रहेको छ । 

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पनि देउवालाई नेतृत्व दिएर सत्ता समीकरण मिलाउन सकिने गरी यसअघि नै तयारी गरेको चर्चा समेत चलेको छ । 

पार्टीभित्रै पनि अहिले कांग्रेस छोटो समयका लागि सत्तामा जान नहुने बताइएको छ । कम्युनिष्टहरुसँग मिलेर जानुभन्दा पार्टीको १४औं महाधिवेशनलाई सफल पारी आगामी निर्वाचनमा दुई तिहाईकै मत ल्याउने गरी जनतामा जान पनि माग भइरहेको छ । 

यो परिस्थितिबीच कांग्रेस संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले ‘बोल्ड डिसिजन’ गर्नुपर्नेमा जोड दिइएको छ । 

तर ज्योतिषी विद्यामा विश्वास गर्ने देउवालाई ‘सात पटक प्रधानमन्त्री हुने योग छ’ भनेका भरमा पाँचौं पटक प्रधानमन्त्री बन्न आतुर देखिएको विश्लेषणसमेत हुने गरेको छ । 

ओलीलाई फाल्नुपर्ने अवस्थामा सत्ता साझेदारी गर्न सकिने तर देउवाले नेतृत्व लिन नहुने तर्क पनि गरिएको छ । 

पदाधिकारी बैठक भए पनि अन्तिममा निर्णय गर्ने देउवाले नै भएकाले यसपालि स्मरणीय बोल्ड डिसिजन गर्ने अपेक्षा गरिएको छ । अहिले सत्ताको नेतृत्व गर्दा आगामी प्रतिनिधिसभाको नियमित निर्वाचन गर्दा पार्टीलाई फाइदा पुग्ने तर्कसमेत गरिएको छ । 

तर एक पुराना कांग्रेसी भन्छन्, ‘गिरिजाबाबुको सरकारको चुनाव पनि देखियो, देउवाजीको चुनावको परिणाम पनि देखियो, अब त्यो बहाना पुरानो भइसक्यो ।’

गत मंगलबार सर्वोच्च अदातलते प्रतिनिधिसभा ब्युँताएपछि १३ दिनभित्र प्रतिनिधिसभा बैठक बस्नेछ । संसद बस्नासाथ सत्ता परिवर्तनको प्रक्रिया अगाडि बढ्ने भएकाले देउवालाई सत्ताको नेतृत्व गर्ने ठूलो अवसर आएको छ । 

तर २०७४ को निर्वाचनले कांग्रेसलाई प्रतिपक्षकै हैसियतमा राखेकाले पार्टी संगठनलाई जोड दिनुपर्ने आवाज उठिरहेको छ । 

अहिलेको संसद समीकरण अनुसार देउवाका दायाँ बायाँ दुवै हातमा लड्डु नै लड्डु छ । तर अहिले छोटो समयका लागि लड्डु खाने कि आगामी चुनावपछि कांग्रेसको नेतृत्वमा ढुक्कले पाँच वर्ष सत्ता चलाउने गरी अहिलेदेखि रणनीति बनाउने भन्नेबारेमा सोच्न पनि पाका नेताहरुले सुझाउन थालेका छन् । 



बिहिबार १३, फागुन २०७७ ११:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.