नेकपा प्रचण्ड–नेपाल समूहको अपील

युग संवाददाता     557 पटक पढिएको    

नेकपा प्रचण्ड–नेपाल समूहको अपील

 

माघ ६ मंगलबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको असंवैधानिक कदमविरुद्ध कडा भएर उत्रने संकेत गरेको छ । त्यसको ट्रेलर स्वरुप गत आइतबार पुष्पकमल दाहाल प्रचण्डले आफूलाई लाठी खाने मन भएको भनी सरकारलाई आक्रामक हुने संकेत गरेका छन् । 


त्यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले ओली कहिल्यै पनि लोकतन्त्रमा विश्वास गर्ने नेता नभएको भन्दै गणतन्त्र विरोधीको व्यवहार देखाइसकेका छन् । सडक संघर्षबाटै संसद पुनःस्थापना गर्ने कसम आएर सडकमा उत्रेको प्रचण्ड नेपाल पक्षले यही माघ ९ गते काठमाडौं उपत्यकामा एक लाख भन्दा बढी कार्यकर्ता उतारेर ओलीको संसद विघटनविरुद्ध प्रदर्शन गर्ने भएको छ । बाग्मती प्रदेशको मात्रै कार्यक्रम भनिएको सो विरोध र्यालीमा एक लाख भन्दा बढी कार्यकर्ता उतार्ने योजना रहेको जनाइएको छ । 


यसैबीच जनतालाई तताउनका लागि प्रचण्ड नेपाल पक्षले अपील पनि सार्वजनिक गरेको छ । 

अपिलमा भनिएको छ–
‘प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध जागौं,
संविधानको रक्षा गर्न सडक संघर्षमा लागौं’
लोकतन्त्र समर्थक सम्पूर्ण जनसमुदाय र नेपाल कम्युनिष्ट पार्टी नेकपाका समस्त कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुमा हाम्रो अपील 
लोकतन्त्र पक्षधर जनसमुदाय र नेपाल कम्युनिष्ट पार्टी नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुक तथा मतदाता महानुभावहरु, 
नेपाली जनताको दशकौंको बलिदानपूर्ण संघर्षको परिणामस्वरुपः हामी देशमा निरंकुश राजतन्त्रलाई समाप्त गरी सामन्तवादको राजनीतिक आधारलाई उन्मूलन गर्न सफल भयौं । नेपाली जनताद्वारा आफ्नो सार्वभौमसत्ताको अभ्यास गरी संविधानसभाबाट नेपालको संविधान निर्माण गर्दै ऐतिहासिक राजनीतिक परिवर्तनका साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरियो । 

नेपाली जनताले कम्युनिष्ट पार्टीको सिद्धान्त, कार्यक्रम र घोषणापत्रलाई विश्वास गरेर प्रतिनिधिसभामा अत्यधिक मत झण्डै दुई तिहाई दिए । हाम्रो पार्टीप्रति जनताको यस्तो विश्वास कायम गराउनका लागि लाखौं कार्यकर्ताको अमूल्य श्रम, त्याग–तपस्या खर्च भएको छ ।

 लाखौं कार्यकर्ताले जीवनका सुन्दर दिनहरु पार्टी निर्माणमा लगाउनु भएको छ । यो पार्टी निर्माणमा हजारौं सहिदहरुले आफ्नो जीवनको बलिदान दिनुभएको छ । राष्ट्रियताको सुदृढीकरण, लोकतन्त्र र जनजीविकाको प्राप्तिको निम्ति भएको संघर्षमा प्रगतिशील समुदायले सदैव साथ दिनुभएको छ । पार्टी भूमिगत रहेका विगतका दिनमा आफ्नो गाँस काटेर हामीलाई पाल्ने, सहयोग गर्ने र अनेकन खतरा मोलेर पनि हामीलाई न्यानो आश्रय दिने जनसमुदायको त्याग र सहयोगबाट नै कमरेड पुष्पलालले पाँच जनाबाट सुरु गर्नुभएको पार्टी आज देशको प्रमुख राजनीतिक शक्ति बनेको हो भन्ने तथ्य जगजाहेर छ । 

जनताको अपार माया र विश्वासको शक्तिलाई आम जनताका गाँस–बास–कपास, शिक्षा, स्वास्थ र रोजगारीका समस्या समाधानमा लगाउनु पर्ने बेलामा पार्टीका अध्यक्ष र प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले संविधानको घाँटी निमोठ्दै प्रतिनिधिसभा विघटनको असंवैधानिक सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरे र राष्ट्रपतिबाट पनि सोच विचारै नगरी प्रधानमन्त्रीको लहलहैमा लागेर असंवैधानिक सिफारिसलाई सदर गर्ने काम भएको छ ।

२०७७ साल पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक घोषणापछि देशको राजनीति र हाम्रो पार्टीको संगठनात्मक जीवनमा गम्भीर समस्या उत्पन्न भएका छन् । तत्कालीन अवस्थामा पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीद्वारा चालिएको असंवैधानिक कदमले संविधानको मूल मर्म र भावनामा  प्रहार गरेको छ । अहिले यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्च अदालतले संविधानको अक्षर, मूल मर्म र भावनालाई गहिरोसँग आत्मसात गरी संविधानसम्मत फैसला नगरेसम्म नेपालको संविधान कार्यान्वयनमा अवरोध उत्पन्न भएको अवस्था छ । 

असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने कामको पक्षमा प्रधानमन्त्री केपी ओली र उनलाई साथ दिने मानिसहरुले जे जस्ता तर्क गरिरहेका भए तापनि यो सरासर प्रतिगमन हो, संविधान, लोकतन्त्र र संघीय गणतन्त्रमाथि गरिएको निर्मम प्रहार हो, देश र जनताको भाग्य एवम् भविष्यमाथि गरिएको कुठाराघात हो, कम्युनिष्ट पार्टी र यसको आदर्श तथा लोकतान्त्रिक मूल्य मान्यताप्रति गरिएको गम्भीर षड्यन्त्र हो भन्ने कुरा स्पष्ट छ । प्रधानमन्त्रीको प्रतिगामी कदमले आन्दोलनका समस्त उपलब्धीहरुलाई समाप्त हुने दिशातर्फ घचेट्ने खतरा समेत उत्पन्न गरेको छ ।



मङ्गलबार ०६, माघ २०७७ ०१:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.