विरोध प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?

युग संवाददाता     707 पटक पढिएको    

विरोध प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?
संसद विघटनको विरुद्ध काठमाडौं कांग्रेसले गरेको विरोध कार्यक्रम। फाइल तस्विर


 २०७७ माघ ४ 


काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको निणर्यलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ। कांग्रेसले गत १३ पुसमा १६५ वटै प्रतिनिधि सभातर्फका निर्वाचन क्षेत्र, २५ पुसमा ३३० वटै प्रदेश निर्वाचन क्षेत्र र ३ माघमा ७५३ वटै स्थानीय तहका पालिकाहरुमा संसद विघटन बिरुद्ध विरोध प्रदर्शन पनि गर्यो । र ८ माघमा फेरी देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनको तयारी गरिरहेको छ । तर संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्रहुँदै स्थानीय तहका केन्द्रसम्म आन्दोलन हुँदा पनि पार्टीका बैठकमा जस्तै संसद विघटनको मुद्दामा नेताहरु आन्दोलन र निर्वाचन भन्नेमा विभाजित मानसिकताबाट अघि बढिरहेको देखिन्छ । 


खासगरी पार्टीको संस्थापन पक्षका नेताहरु आन्दोलन पनि गर्ने र चुनावी तयारी पनि गर्ने भन्ने मानसिकतामा रहेको देखिन्छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरु भने संविधानमाथी नै प्रश्न उठेकाले पहिले संविधान जोगाएर मात्रै निर्वाचनको तयारीमा लाग्नु पर्ने बताउँदै आएका छन् । ‘संसद विघटन बिरुद्धको आन्दोलनले नेता कार्यकर्ताहरुमा उत्साह थपेको छ, पार्टीलाई आन्दोलनले उर्जा दिएको छ, र संसद पुर्नंस्थापना नहुँदासम्म आन्दोलन गरेरै अघि बढ्नु पर्छ भन्ने राय आन्दोलनबाट आएको छ,’ कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन, ‘कांग्रेसले आन्दोलनबाटै संविधानलाई बचाउनु पर्छ ।’ 


तर सभापति शेरबहादुर देउवाले भने प्रदर्शनपछिको विरोध सभालाई सम्बोधन गर्ने क्रममा संसद पुर्नस्थापनाका विषयमा अदालतमा मुद्दा विचाराधिन रहेकाले कांग्रेसले सो विषयमा अदालतलाई ‘यसो गर उसो गर नभन्ने’ भन्दै धारणा दिंदै आइरहेका छन । उनले जारी आन्दोलनबाटै निर्वाचनको तयारी गरिने समेत बताउँदै आइरहेका छन् । 

सभापति देउवाको धारणामा उपसभापति विमलेन्द्र निधिले पनि सहमती जनाएका छन् । उपसभापति निधिले केही दिन अघि जनकपुरमा आयोजित एक कार्यक्रममा कांग्रेसले अदालतले लिने निणर्य मान्ने र आन्दोलनबाट नै चुनावको तयारी गर्ने धारणा राखेका थिए । उनले आन्दोलनले पार्टीको तल्लो तहसम्म उर्जा पैदा भएको बताए ।

कांग्रेस महामन्त्री डा शशांक कोइराला भने संसद पुर्नस्थापनाका लागि पार्टीले थप शशक्त आन्दोलनका कार्यक्रम ल्याउनु पर्ने बताउँछन्। ‘आन्दोलनमा जनताको उत्साह देखिएको छ, आन्दोलनले कांग्रेसको संगठनलाई देखाएको पनि छ, अझै थप शशक्त आन्दोलन घोषणा गरेर संसद पुर्नस्थापनामा पार्टीले दबाब बढाउनु पर्छ,’ महामन्त्री कोइरालाले हाम्राकुरासँग भने । 

कांग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतले आन्दोलनबाट जनतामा उत्साह आएको र पार्टीको सन्देश केन्द्रहुँदै स्थानीय तह र वडा वडासम्म पुर्याउन सफल भएको बताए । ‘आन्दोलनबाट एउटा उर्जा आएको छ, पार्टीको सन्देश केन्द्रबाट प्रदेश हुँदै स्थानीय तह र गाउँगाउँसम्म पुगेको छ, यो जनतामा जाने अभियान पनि हो,’ सहमहामन्त्री महतले हाम्राकुरासँग भने । उनले पार्टीले नेताकार्यकर्ताहरुबाट प्राप्त सुझावका आधारमा आगामी केन्द्रीय समिति बैठकमा जारी आन्दोलनको समीक्षा गर्ने र थप आवश्यक रणनीति बनाउने जानकारी दिए । 

कांग्रेसको पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार अब ८ माघमा देशभरका ७५३ वटा स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा संसद विघटनको विरोधमा विरोध प्रदर्शन हुने कार्यक्रम छ ।



आइतबार ०४, माघ २०७७ ०५:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.