कांग्रेसले देशभरी मनाउँदैछ मेलमिलाप र राष्ट्रिय एकता दिवस

युग संवाददाता     686 पटक पढिएको    

कांग्रेसले देशभरी मनाउँदैछ मेलमिलाप र राष्ट्रिय एकता दिवस


केपी ओलीको अलोकतान्त्रिक कदमविरुद्ध उत्रिन आह्वान
काठमाडौं । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो समय भारतको निर्वासन जीवन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गते हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आइएको छ ।

यसै सन्दर्भमा कांग्रेसले बिहीबार यो वर्षको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस केपी शर्मा ओली नेतृत्वको सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न केन्द्रीत हुने जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमविरुद्ध सबै शक्तिलाई एक ठाउँमा उभ्याउनका लागि केन्द्रित हुने बताएका हुन् । 

त्यस्तै पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका कार्यक्रम गरी ४५ औँ मेलमिलाप दिवस मनाउन लागेको जानकारी दिए । उनले सबै नेताहरु जिल्लाजिल्लामै भएकाले आफ्नो जिल्लाको प्रतिनिधित्व गर्दै सहभागीता जनाउने बताए । 

कांग्रेस सूचना संचार तथा प्रचार विभागले बिहीबार बिहान ९ः३० बजे कांग्रेस सभापति शेरबहादुर देउवा सम्मिलित छहाराी संवाद चलाउँदै छ । डा सुरेश आचार्य सहजकर्ता भएको उक्त कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरी र त्रिवि सिनासका डा। बद्री गौतम सहभागी हुनेछन् । उक्त कार्यक्रम ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयमा केन्द्रीत हुनेछ । यो कार्यक्रमलाई कांग्रेसको फेसबुक पेजमा लाइभ गरिने डा आचार्यले बताएका छन् । 

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरा पुगेका छन् । बिहान ११ः३० बजे पोखरामा उनले संवोधन गर्ने कार्यक्रम रहेको छ ।   

एकता दिवस, मेलमिलाप दिवस र वीपी स्वदेश फर्किएको दिन
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । 

दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किएका वीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति राजनीतिक दल र राजशक्ति राजा मिल्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

तर स्वदेश फर्केका वीपी, गणेशमान लगायतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै पक्राउ गरी सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । 

राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

मेलमिलापको नीति र कांग्रेस 
मेलमिलापको नीति हरेक क्षणमा नेपाली राजनीतिमा जरुरी छ । ठूला ठूला राजनीतिक परिवर्तनमा कांग्रेस आपसमा मात्र होइन सदावहार प्रतिद्धन्द्धी दलहरुसंग समेत मिलेर गइरहेको छ । 

अन्य दलहरुले पनि ३६४ दिन कांग्रेसलाई सराप्दा एक दिन पुस १६ गतेलाई मेलमिलापका रुपमा सम्झने गर्छन् । तर कांग्रेसभित्रै किचलो भइरहँदा यसको सान्दर्भिकतालाई पुष्टि गर्नुपर्ने कांग्रेस आफैमा अल्मलिइरहेको छ । 

पछिल्लो समय संस्थापन पक्षले एकलौटी ढंगले महाधिवेशनको समय एक वर्ष सारेर मिति सार्वजनिक गरेपछि इतर पक्ष आक्रोशित भएको छ । मेलमिलापको नीति कांग्रेसलाई जरुरी भए पनि उसले त्यतातर्फ ध्यान दिन सकेको छैन । विशेष गरी संस्थापनले चासो नदिएको हो । 

यसपटक त ओली सरकारले संविधान नै मिचेर असंवैधानिक तरिकाले संसद विघटन गरेपछि संविधानको रक्षार्थ पनि कांग्रेस एकजुट हुनु जरुरी छ । आफ्नो पार्टीभित्रमात्र नभई अन्य दलहरुलाई पनि समेटेर आफ्नै हातले लेखेको संविधानको रक्षा गर्नु मूख्य ध्येय बनेको छ । 



बिहिबार १६, पुष २०७७ ११:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.