क्षेत्रीय शहरी विकास आयोजना सम्झौता भएको पाँच महिनापछि काम शुरु

युग संवाददाता     1237 पटक पढिएको    

क्षेत्रीय शहरी विकास आयोजना सम्झौता भएको पाँच महिनापछि काम शुरु

धनगढी
धनगढी उपमहानगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत निर्माण हुने सडकहरूको सम्झौता भएको पाँच महिनापछि काम शुरु भएको छ । 
ठेक्का सम्झौता भएको २१ दिनभित्रै निर्माण कार्य शुरु गर्ने दाबी गरेको भए पनि निर्माण कम्पनीले पा“च महिनापछि बिहीबार एक समारोह आयोजना गरेर सडक निर्माण योजनाको शिलन्यास गरेको छ । 
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सडक शिलन्यास गरे । 
सो अवसरमा उनले भने– सम्झौता भएको लामो समय हुदा पनि सडक निर्माणको काम अगाडी बढ्न सकेको थिएन । आज शिलन्यास भयो, निकै खुसी छु । सपनाको परियोजनाले काम सुरु गरेको जस्तो महसुस भइरहेको छ । 
उनले थपे– यो आयोजनाअन्तर्गत कतिपय सडक क्षेत्राधिकारभित्र भवन लगायतका भौतिक संरचना छन् । त्यसैले पनि मुख्य सडक निर्माणमा स्थानीयको साथ र सहयोग नपाइदा पहिलो चरणमै मुख्य सडकको योजना अघि बढाउन सकेनौं ।
उनले दुई महिनाभित्रै कैलालीपुलदेखि सेतोपुलसम्मको सडकलाई समेटर थप १५ किलोमिटर सडकको टेण्डर आह्वान गर्ने तयारी रहेको बताए । भने– सडक क्षेत्रमा पर्ने भौतिक संरचना आफै भत्काएर विकास कार्यलाई सहज बनाउनु हुने विश्वास गरेको छु । 
उनले धनगढीको विकासका लागि आम सर्वसाधारण, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज लगायतको साथ र सहयोग आवश्यक रहेको बताए ।
शिलन्यास कार्यक्रममा उपप्रमुख भट्टले भनिन्– हामी निर्वाचित भएर आउनु अघि देखिनै धनगढीको एकिकृत विकास गर्ने योजना अन्तर्गत यो क्षेत्रीय सघन शहरी विकास परियोजनाको चर्चा थियो । तर, हामी निर्वाचित भएको तीन वर्षसम्म पनि काम हुन सकेको थिएन ।
उपप्रमुख भट्टले टेण्डर आह्वान, निर्माण कम्पनीसंग सम्झौता हु“दा पनि पहिलो योजना अघि बढ्नेमा केही शंका रहने गरेको बताइन् । उनले भनिन्– आज सडककोे शिलन्यास भएको छ । अब यसमा सबै सर्वसाधारणको साथ र सहयोग आवश्यक रहेको छ ।’
आयोजनाका सूचना अधिकारी श्याम बुढाथोकीले ‘निर्माण कम्पनीले विस्तृत परियोजना रिपोर्ट लगायतका प्रक्रिया पुरा गरे पनि ‘प्लान्ट’ राख्ने स्थानको टुङ्गो नभएको र चाडपर्व लगायतका कारण मजदुरको अभावका साथै खुटिया नदीमा नदीजन्य पदार्थको उत्खनन् नहु“दा तोकिएकै समयमा काम अघि बढ्न नसकेको’ बताए । 
आयोजनाका सूचना अधिकारी बुढाथोकीका अनुसार निर्माण कम्पनीले धनगढी उपमहानगरपालिका वडा नम्बर १, पुरानो एयरपोर्टमा ‘प्लान्ट’ राखेको छ ।

डीपीआरको आधा पनि सडक समेटिएन
क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा ४३ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको थियो । तर, आयोजनाको चर्चा भएको छ वर्षपछि उपमहानगरपालिकाले १० दशमलव २४ किलोमिटर सडक निर्माणको कार्य अघि बढाएको छ ।
आयोजना अन्तर्गत धनगढीमा विभिन्न आकारका २३ वटा सडक निर्माण गर्ने भनिए पनि पहिलो चरणमा सात वटा सडकको काम अघि बढाइएको छ ।
धनगढी उपमहानगरपालिकाका अनुसार पहिलो चरणमा ठेक्का पाएको कालिका कन्ट्रक्सनले सात वटा सडक निर्माण गर्ने छ । यस अन्तर्गत चरणमा गुल्म–चर्च रोड (दुई हजार सात मिटर), धनगढी मेनरोड (ट्राफिक चौराहादेखि कैलालीनालासम्म एक हजार तीन सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल (सात सय मिटर), क्याम्पस रोड–चटकपुर (तीन हजार छ सय ५० मिटर), धनगढी–खुटिया स्याउले रोड (आठ सय ७० मिटर), मालपोत रोड (चार सय ३० मिटर) र हसनपुर रोड (एक हजार एक सय ५० मिटर) रहेका छन् ।
धनगढीको मुख्य सडक ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको सडकको चौडाई ३० मिटर राखिएको भए पनि अहिले भने २४ मिटर कायम गरि अघि बढाइन लागेको छ । आयोजना सूचना अधिकारी बुढाथोकीले भने– सडकभित्र झण्डै ३० घर पर्न लागेपछि २४ मिटरको चौडाईमा काम अघि बढाइएको हो । यसको चौडाई घटाइएको होइन विस्तारै ३० मिटर नै पुराइने छ ।
सूचना अधिकारी बुढाथोकीका अनुसार आयोजना र उपमहानगरपालिकासंग घरधनीलाई मुआब्जा दिन सक्ने क्षमता नभएपछि अहिले सडकको चौडाई घटाएर योजना अघि बढाइएको हो ।
उनले सन् २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैया“ बजेट अपुग हुने भएकाले सडक निर्माणको काम चरणवद्ध रुपमा अघि बढाइएको बताए । पहिलो चरणको सडक निर्माणका लागि कालिका कन्स्ट्रक्सनसंग ६८ करोड पा“च लाख ९८ हजार रुपैया“मा ठेक्का सम्झौता भएको छ । 
एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रको टुङ्गो छैन 
क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत सडक, नालीसंगै एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रको पनि योजना रहेको छ । धनगढी उपमहानगरपालिकाले शुरुमा वडा नम्बर १ मा सो केन्द्रका लागि स्थान टुङ्गो लगाए पनि स्थानीयको विरोधका कारण काम अघि बढ्न सकेको थिएन । अहिले उपमहानगरपालिकाले वडा नम्बर ७ स्थित पटेला सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा सो केन्द्र बनाउने योजना अघि बढाएको छ ।
वन क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा मन्त्रीपरिषदको स्वीकृत आवश्यक भएपछि अहिले योजना अघि बढ्ने टुङ्गो छैन । उपमहानगरपालिका प्रमुख वडले भने– फोहोरमैला व्यवस्थापन केन्द्रको काम पनि अघि बढिरहेको छ । छिट्टै हामीले डिपिआर तयार गराई वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारि टेण्डर लगायतका निर्माण प्रक्रिया अघि बढाउने छौं ।
सर्वसाधारण नै वाधक
धनगढी उपमहानगरपालिकाको मुख्य सडकको चार किलोमिटरको काम अघि बढ्नुपर्ने थियो । तर, उपमहानगरपालिकाले पहिलो चरणमा एक किलोमिटर ३८ मिटरको मात्र काम अघि बढाएको छ । स्थानीयको सहयोग नहु“दा थप सडकको काम पहिलो चरणमा समेटिन सकिएको थिएन ।
 



शनिबार २७, मङि्सर २०७७ ०२:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.