अर्थतन्त्रको हिरो वैदेशिक व्यवसायी हुन्ः अध्यक्ष गोल्छा

युग संवाददाता     746 पटक पढिएको    

अर्थतन्त्रको हिरो वैदेशिक व्यवसायी हुन्ः अध्यक्ष गोल्छा
तस्बिरः भवानी निरौलाको फेसबुकबाट


लोकराज रुम्दाली

काठमाडौं– निजी उद्योगीहरूको साझा संगठन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशको अर्थतन्त्रको हिरो वैदेशिक रोजगार व्यवसायीहरू भएको बताएका छन् । बिहीबार काठमाडौंका बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्याङ्क्वैटमा नेपाल वैदेशिक रोजगार व्यावसायी संघद्वारा आयोजित बधाई एवं शुभकामना कार्यक्रममा प्रतिव्यक्ति आय १ हजार १ सय डलर पु¥याउन वैदेशिक रोजगार व्यवसायीको हात भएको बताउँदै उनीहरू देशको अर्थतन्त्रको हिरो भएको उनले बताए ।
‘देशको प्रतिव्यक्ति आय १ हजार १ सय डलर पुर्‍याउन र रेमिट्यान्स भित्र्याउनमा विशेष योगदान वैदेशिक रोजगार व्यवसायीहरूको रहेको छ । जुन हामी सबैलाई थाहा नै छ,’ उनले भने, ‘त्यसैले देशको अर्थतन्त्रको हिरो उहाँहरू नै हो । अब थप हामी सबै एक ठाउँमा उभिएका छौँ ।’
महासंघद्वारा आगामी वैदेशिक रोजगार व्यवसाय क्षेत्रको समस्या समाधानका लागि निर्माण गरिने वैदेशिक रोजगार फोरमको अध्यक्षताको जिम्मेवारी संघको तर्फबाट वस्तुगत सदस्यमा विजयी अध्यक्ष विष्णुप्रसाद गैरैलाई दिइने घोषणासमेत उनले बताए । महासंघमा ५४औँ साधारणसभाबाट नवनिर्वाचित पदाधिकारी तथा वस्तुगत केन्द्रीय सदस्यमा विजयी टिमलाई बुधबार संघद्वारा साझा बधाई एवं शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।
यसैगरी साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा निर्वाचित अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा निर्वाचित दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा निर्वाचित रामचन्द्र संघाई, कोषाध्यक्ष सकुन्तलाल हिराचन, पूर्वसांसद् तथा संविधान सदस्य महेन्द्र शेरचनलगायतका पदाधिकारीहरूले आयोजित कार्यक्रममा आफ्ना भनाइहरू राखेका छन् । महासंघमा निर्वाचित सबै पदाधिकारीलाई पूर्वसांसद तथा संविधानसभा सदस्य शेरचनले प्रमानपत्रसहित सम्मान गरे ।
सम्मान कार्यक्रममा बोल्दै महासंघका बरिष्ठ उपाध्यक्ष ढकाल वैदेशिक रोजगार क्षेत्रसँग आफ्नो लामो समयदेखिको अटुट सम्बन्ध रहेको बताएका छन् । २० वर्षदेखि आफू वैदेशिक रोजगार क्षेत्रसँग जोडिएर एकसाथ काम गर्दै आएको र यस क्षेत्रमा आइपरेका समस्याबारे आवाज उठाएको स्मरण पनि उनले गरे ।
उनले भने, ‘दुई देशकदेखि मैले वैदेशिक क्षेत्रसँग सहकार्य गर्दै आएको छु । देशको बेरोजगारी समस्या समाधानदेखि लिएर रेमिट्यान्स भित्राउन महत्वपूर्ण भूमिका खेल्ने यस क्षेत्रलाई सम्मानित, मर्यादित र व्यवस्थित बनाउनुपर्छ भन्नेमा म विगतदेखि नै प्रतिवद्ध रहिआएको छु र रहिरहनेछु ।’ वैदेशिक व्यावसायीहरूबाट महासंघमा वस्तुगत तर्फ प्रतिनिधि आएपछि अब वैदेशिक रोजगार क्षेत्रमा देखिएका हरेक समस्याको समाधानमा सँगसँगै यात्रा गर्ने पनि उनले बताए ।
यसैगरी वस्तुगतर्फबाट उपाध्यक्षमा विजयी अञ्जन श्रेष्ठले झन्डै तीनदशक लामो इतिहासमा पहिलोपटक महासंघका वैदेशिक रोजगार व्यवसायीको प्रतिनिधि आएको र महासंघमा सबै पदाधिकारीलाई सम्मान गरेकोमा खुसी महसुस भएको बताएका छन् । निर्वाचनपछि सबै व्यवसायी एक भएको बताउँदै महासंघको सदस्यमा संघको तर्फबाट जुझारु व्यक्तित्व पठाएकोमा सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीप्रति आभार प्रकट व्यक्त पनि उनले गरे ।
साथै, वैदेशिक रोजगार व्यवसायीलाई सरकारले हेर्ने दृष्टिकोण अझै राम्रो नहुनु दुःखद पक्ष रहेको भन्दै वैदेशिक रोजगारमा पठाउने व्यवसायी र रेमिट्यान्स भित्र्याउने व्यवसायीलाई सरकारले समान ढंगले हेर्नुपर्ने पनि उनले बताएका छन् । सबै व्यवसायीलाई हेर्ने नजर, कामदार तथा व्यवसायी अनुकूल समय सान्र्दभिक ऐन संशोधन र नीति निर्माणमा महासंघ हातेमालो गरेर अघि बढने प्रतिवद्धता उनले जनाए ।
यसैगरी महासंघमा वैदेशिक रोजगार क्षेत्रको प्रतिनिधित्वले अझ गरिमा बढाएको पूर्वसांसद तथा संविधान सदस्य शेरचनले बताएका छन् । संघका संस्थापसमेत रहेका उनले २८ वर्षमा पनि वैदेशिक रोजगार क्षेत्रको अवस्थामा सुधार नआएकामा दुःख प्रकट गरे । साथै, झन्डै तीन दशकपछि महासंघमा वैदेशिक क्षेत्रको आगमनले अब नयाँ फड्को मार्न लागेको संकेत उनले गरे ।
वैदेशिक रोजगार व्यवसायी संघको तर्फबाट पहिलोपटक महासंघको वस्तुगततर्फ केन्द्रीय सदस्यमा निर्वाचित विष्णुप्रसाद गैरेले संघलाई महासंघमा पु¥याउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । महासंघमा निर्वाचित भएपछि अब वस्तुगत क्षेत्र अर्थात् विशेषगरी वैदेशिक रोजगार व्यवसाय क्षेत्रको समस्यालाई हल गर्ने उनले प्रतिबद्धता जनाए ।
पछिल्लो समय वैदेशिक क्षेत्रलाई हेर्ने नजर जटिल रहेको र राज्यले यस क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तनमा महासंघले भूमिका खेल्नेमा आफू आसावादी रहेको उनले बताएका छन् । वैदेशिक रोजगार क्षेत्रको समस्या समाधानमा संघले यस अघिदेखि नै सरकारलाई पटक–पटक घच्घच्याए पनि सरकारले त्यसलाई बेवास्ता गरेकोमा अब महासंघ मिलेर सरकारसँग यस क्षेत्रको समस्या समाधानको पहल थालिने उनले बताए ।



शुक्रबार २६, मङि्सर २०७७ १२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.