संक्रमण प्रताडित मेक्सिकोमा डिसेम्बर अन्त्यबाट निःशुल्क खोप, सेना र प्रहरीले बाढ्ने

युग संवाददाता     1036 पटक पढिएको    

संक्रमण प्रताडित मेक्सिकोमा डिसेम्बर अन्त्यबाट निःशुल्क खोप, सेना र प्रहरीले बाढ्ने


सिन्ह्वा, मेक्सिको सिटी । कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान शुरु हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिने बताएको छ । 

उपस्वास्थ्य मन्त्री ह्युगो लोपेज–गाटेलका अनुसार पहिलो चरणको खोप अभियान यही डिसेम्बर महिनाको तेस्रो साताबाट शुरु हुने र त्यो फेब्रुअरी २०२१ सम्म चल्नेछ । राजधानी मेक्सिको सिटी र उत्तरी कोहाउइला राज्यलाई पहिलो प्राथमिकतामा राखिएको पनि उनले जानकारी दिए । 

मेक्सिको सिटीमा आयोजित पत्रकार सम्मेलनमा उनले चिकित्सक र नर्सका साथै वृद्धवृद्धा समेतका अति जोखिममा परेका नागरिकलाई पहिलो प्राथमिकताका साथ खोप दिइने बताए ।  मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डका अनुसार यसै महिना करिब २ लाख ५० हजार डोज खोप मेक्सिको आइपुग्ने जानकारी दिएका छन् । 

मेक्सिकोमा सोमबारसम्म ११ लाख ८२ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र हालसम्म १ लाख १० हजार व्यक्तिको मृत्यु भइसकेको छ । 

राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले मेक्सिकोका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क वितरण गरिने घोषणा गरेका छन् । उनले सन् २०२१ को अन्त्यसम्ममा सबै नागरिकलाई खोप दिइसक्ने योजना अघि सारेका छन् । 

सरकारले यसअघि नै फाइजर–बायोएनटेक कम्पनीसँग ३ करोड ४४ लाख डोज खोपका लागि सम्झौता गरिसकेको छ जसमध्ये २ लाख ५० हजार डोज डिसेम्बर १७ भित्रमा मेक्सिको आइपुग्ने अपेक्षा गरिएको छ । 

मेक्सिकोको सेना र प्रहरीले खोप वितरणको जिम्मेवारी पाएको छ । मेक्सिकोको औषधि व्यवस्था विभागले आगामी डिसेम्बर ११ भित्रमा फाइजरको खोपलाई स्वीकृत गरिसक्ने ह्युगो लोपेज–गाटेलले बताएका छन् । बेलायतले फाइजर–बायोएनटेकको खोपलाई स्वीकृत गरी आम सर्वसाधारणलाई खोप दिन थालिसकेको छ । 

राष्ट्रपति ओब्राडोरले अन्य मुलुकको भ्याक्सिन पनि मेक्सिकोले खरिद गर्ने योजना बनाएको जानकारी दिएका छन्। मेक्सिकोले यसै साता चीनको करिब ३ करोड ५० लाख क्यानसिनो खोप ल्याउने गरी सम्झौता गरेको छ । 



बुधबार २४, मङि्सर २०७७ ०५:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.