कांग्रेस महाधिवेशन कहिले होला ? बुढानीलकण्ठमा बस्दै अनौपचारिक बैठक

युग संवाददाता     609 पटक पढिएको    

कांग्रेस महाधिवेशन कहिले होला ? बुढानीलकण्ठमा बस्दै अनौपचारिक बैठक

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन कहिले हुने भन्नेमा निकै अन्योल देखिएको छ । कोरोना भाइरसको महामारीका कारण आगामी फागुन ७ गतेदेखि काठमाडौंमा हुने भनिएको महाधिवेशन सोही मितिमा हुनेमा आशंका पहिलेदेखि नै कायम छ । 

सभापति शेरबहादुर देउवा पक्ष मिति सारेर महाधिवेशन गर्ने पक्षमा रहेको पाइन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । 

त्यसैगरी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह भने अहिलेसम्म फागुन ७ को तालिका अनुसार कामहरु नभएकाले फागुन ७ मै गर्न सकिने अवस्था नरहेकाले उपयुक्त समय खोज्नुपर्ने पक्षमा छ । 

कांग्रेसको अनौपचारिक बैठक बस्दै
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेसको अनौपचारिक छलफल हुँदैछ । 

कांग्रेस पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अनौपचारिक बैठक बुढानीलकण्ठमा १ बजे बस्नेछ । उक्त बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी र केही वरिष्ठ केन्द्रीय सदस्यहरु गरी २५–२६ जना सहभागी हुनेछन् । 

बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकार जुन रुपमा गइरहेको छ यसबारेमा कांग्रेसले बनाउने रणनीतिका बारेमा छलफल हुनेछ । कांग्रेसको कोभिड रोकथाममा सरकार असफल भएको भन्दै आलोचना गर्दै आइरहेको छ । 

यो सरकारले संविधान र लोकतन्त्र बचाउन सक्दैन भन्दै अब कांग्रेस कसरी अगाडि बढ्ने भनी रणनीति बन्न सक्ने मुख्यसचिव पौडेलले बताए । 

त्यसैगरी १४ औं महाधिवेशनको तयारी बारेमा पनि छलफल हुँदैछ । तर यसअघिका अनौपचारिक छलफलबाटसमेत पार्टी नेतृत्व कुनै निष्कर्षमा पुग्न सकेको छैन । 

कहिले होला महाधिवेशन 
महाधिवेशन गत वर्षको फागुनमै हुनुपर्ने थियो । सभापति देउवाले एक वर्ष पर सारेका थिए । उक्त निर्णयानुसार आगामी फागुनमा महाधिवेशन हुनैपर्ने थियो । तर कोरोना भाइरसको महामारीका कारणले गर्दा सम्भव नभएको भन्दै अहिलेसम्म गर्नुपर्ने पूर्व तयारीका कामसमेत भएका छैनन् । 

क्रियाशील सदस्यहरुको नामावलीसमेत तयार हुन सकेको छैन । वडादेखि नै गर्नुपर्ने कामले तीव्रता पाएको छैन । यद्यपि केही जिल्लाहरुले सक्रियता देखाएका छन् । 

केही केन्द्रीय सदस्यहरु अब कोरोनालाई बहाना बनाउन नहुने तर्क राख्छन् । कोरोनाले सबैभन्दा बढी प्रभावित अमेरिकामा निर्वाचन भएको र दोस्रो प्रभावित देश भारतको बिहार राज्यमा समेत निर्वाचन भएको उदाहरण दिँदै उनीहरुले यस्तो बहानाले राजनीतिक संस्कार डुब्ने बताउँछन् । 

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद मिनेन्द्रप्रसाद रिजालले आफूले अहिले नै यकिन गरेर महाधिवेशनको मितिबारे केही भन्न नसक्ने बताए । उनले भने, ‘आज छलफल छ । यो छलफलपछि केही कुरा गर्न सकिएला । सभापतिका कुरा सुनौं । त्यसभन्दा अगाडि केही भन्न सकिएन ।’

सहमहामन्त्री डा। प्रकाशशरण महतका अनुसार बिहीबारको अनौपचारिक बैठकमा महाधिवेशनको मितिको खाका बन्न सक्नेछ । उनले भने, ‘आज यसो सल्लाह होला । व्यवहारिक के हुन्छ भनेर निक्र्योल होला ।’

डा। महतले फागुनमै महाधिवेशन गर्न सम्भव नभएको संकेत गरे । उनले भने, ‘कठिन छ । चुनौतीपूर्ण छ । चुनौतीपूर्ण देखिन्छ । अब सरसल्लाहले कसरी जाने भनेर निष्कर्ष निस्कन्छ हेरौं न ।’

उनले भदौभन्दा उता जानै नमिल्ने भन्दै त्यसभन्दा अगाडि नै गर्नुपर्ने बताए । भने, ‘भदौ भन्दा उता त जानै मिल्दैन । गर्नैपर्छ । अब जति सकेसम्म पहिल्यैको कुरा हो ।’

कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार कार्तिक २१ गते बस्दैछ । यसअघि बैठक विभिन्न कारणले स्थगित हुँदै आएको छ । 

निर्वाचन समितिबाट मार्ग प्रशस्त
कांग्रेस केन्द्रीय निर्वाचन समितिले मार्ग प्रशस्त गरिदिएको छ । राधेश्याम अधिकारी नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन समितिका सबै सदस्यहरुले आफरुहरु मार्ग प्रशस्त गर्न तयार रहको जनाउँदै पार्टी केन्द्रीय कार्यालयलाई पत्र लेखेका हुन् ।  

१४ औं महाधिवेशन सहितका बाँकी काम गर्न नयाँ समिति निर्माणका लागि उनीहरुले आग्रह गरेका छन् ।  वरिष्ठ नेता पौडेलसहित असन्तुष्ट पक्षका २७ केन्द्रीय सदस्यले असोज १२ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझाएको १६ बुँदे विरोधपत्रमा निर्वाचन समितिमाथि पनि प्रश्न उठाएसँगै समितिका सदस्यहरुले मार्ग प्रशस्त गरेका हुन् । 

शीर्ष नेताहरुले नै निर्वाचन समितिको कामप्रति प्रश्न उठाएकाले आफूहरु नयाँ समिति गठनका लागि मार्गप्रशस्त गर्न तयार रहेको व्यहोराको पत्र दशैँअघि नै दर्ता गराएका थिए ।  

निर्वाचन समितिले बाँकी काम गर्न नसक्ने जनाकारी पनि सोही पत्रमार्फत दिएको जनाउँदै महामन्त्री पूर्णबहादुर खड्काले सोमबार पदाधिकारी, पूर्वपदाधिकारीसहितका नेताहरुको अनौपचारिक बैठकमा समितिको पत्र पढेर सुनाएका थिए ।    



बिहिबार २०, कार्तिक २०७७ १२:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.