महाकालीमा चार लेन पुलको निमार्ण कार्य ५१ प्रतिशत

युग संवाददाता     761 पटक पढिएको    

महाकालीमा चार लेन पुलको निमार्ण कार्य ५१ प्रतिशत

 

 महेन्द्रनगर    कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदाली स्थित महाकाली नदीमा निर्माण भैरहेको चार लेन महाकाली पुलको निर्माण कार्य ५१ प्रतिशत सकिएको छ । कोरोना भाइरसका कारण निर्माण कार्य प्रभावित बनेको पुलको निर्माण कार्य हाल आएर तिव्र गतिमा शुरु भएको छ ।

   निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले लकडाउन खुलेपछि निर्माण कार्यलाई तिव्र रुप दिएपछि  निर्माण गर्नु पर्ने लक्षको ५१ प्रतिशत निमार्ण कार्य सकिएको जनाएको छ ।

 कोरोना भाइरसका कारण लक्ष अनुसार भौतिक प्रगति समात्न नसकेको कम्पनीले हाल भने कामलाई जोड दिएको छ । पुलको स्ल्याव राख्ने ढलान हाल्ने, बाटो भरान लगायत ड्रेन बनाउने कामले पनि गति लिएको कम्पनीले जनाएको छ । “पुलको निर्माणमा एकदमै गति दिईएको छ, पुलमा निर्माण गर्नु पर्ने ३२ ओटा स्ल्याव मध्य ६ ओटा स्ल्याव निर्माण गरिसकेको अवस्था छ ।” कुमार सीएसईसी जेभी कम्पनीका इन्जिनियर किशोर राज पाण्डेयले भने, “निर्माण हुने बाटोमा भरान गर्ने कार्य पनि सकिएको छ, १५ किलोमीटर निर्माण गर्नु पर्ने ड्रेनको निर्माण कार्य पनि साढे ४ किलो मिटर जति सकिएको छ ।”

 महाकाली पुल निर्माणको बाँकी काम भने चालु अवस्थामा रहेको इन्जिनियर पाण्डेयले बताए । महाकाली चार लेन निर्माणको सम्झौता ३ अर्ब २७ करोड ९३ लाख ३४ हजारमा भएको थियो । सीमा नाका गड्डा चौकीसम्म जोड्ने ६ किलोमीटर र महाकाली नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमीटर चार लेनको पहुँच मार्गको निमार्ण कार्य पनि लगभग सकिएको छ ।

     यस्तै पुलको ३४ ओटा पिल्लर मध्य ३० ओटा पिल्लरको काम सकिएको छ । कम्पनीका अनुसार पुलको लम्बाई ८ सय मीटर र चौडाई भने २३।८ मीटर रहेको छ । कम्पनीका इन्जिनियर किशोर राज पाण्डेले कोरोनाको महामारीले गर्दा घर गएका कामदारहरुलाई निर्माण कार्यमा प्रशासनसँगको सहकार्यमा सुरक्षाका उपाय अवलम्वन गरेर निर्माण कार्य चलिरहेको छ ।

 यस्तै उता गड्डाचौकी र भुजेला खोलामा पर्ने २ ओटा साना पुलको निर्माण कार्य सकिएको कम्पनीले जनाएको छ । सम्झौता अनुसार पुल निर्माण कार्य २०७८ जेठमा सकिने छ ।

   “काम गर्ने सिजन फागुनदेखि जेठ महिना भएकोले सिजनमा कोरोनाले काम गर्न पाइएन ।, सिजनमा काम गर्न नपाउँदा केही निर्माण कार्य पछाडि धकेलिएको भए पनि कम्पनीले निमार्ण कार्यको समयसीमा भित्रै पुल निमार्ण गरिसक्ने लक्ष लिएको छ ।” इन्जिनियर पाण्डेयले भने ।

  इन्जिनियर पाण्डेयका अनुसार सम्झौतामा चार लेनको महाकाली पुल निर्माण कार्य २०७४ भदौमा सुरु भएर २०७७ भदौमा सम्पन्न हुने भनिए पनि केही प्राविधिक कारण एक वर्ष बीचमा थप गरिएको थियो । थप गरिएपछि २०७७ भदौबाट एक वर्ष थप गरेर २०७८ जेठ १९ गते सम्म समय तोकिएको निर्माण कम्पनीले जनाएको छ ।



आइतबार ०७, भदौ २०७७ ०१:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.