नेविसंघले देशैभरका क्याम्पसहरुमा तालाबन्दी गर्दै

Yugnepal     715 पटक पढिएको    


मंगलबार बिहान ९ बजे देशभरिकै प्रमुख शहरहरुमा १० जना विद्यार्थी उपस्थित भई विरोध प्रदर्शन 

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले सोमबार देशैभरका क्याम्पसहरुमा तालाबन्दी गर्दैछ । नेविसंघका अध्यक्ष राजिब ढुङ्गानाले प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले उठान गरेका जायज र विद्यार्थी हक हितसॅग सम्वन्धित मागहरुका सम्वन्धमा त्रिवि पदाधिकारीहरुसंग वार्ताको पहल गर्न जाँदै गर्दा पक्राउ परेका सम्झना खत्री लगायत आड जना त्रिविका विद्यार्थी नेताहरुलाई तथा वीरगंजमा कोरोना संक्रमितहरूको उपचारमा भएको लापरवाही विरुद्ध र संक्रमणकै कारणबाट मृत्यु भएकाहरुलाई क्षतिपूर्ति तथा नियमित स्वास्थ्य सेवा सुचारुको माग राख्दा पक्राउ परेका विकास तिवारीलाई रिहा गर्नुको सट्टा झुठा मुद्दा लगाई फसाइएको घटनाको घोर भत्सर्ना गर्दै तत्काल रिहा गर्न माग गर्दै देशैभरका क्याम्पसहरुमा तालाबन्दी गर्न लागेको जनाएका हुन् । 

कोरोना संक्रमणले आक्रान्त पारेको यस्तो संन्त्रासपूर्ण अवस्थामा पनि जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्नुको सट्टा जनताको पक्षमा आवाज उठाउनेहरुलाई झुठा मुद्दा लगाइ फसाउने यो ओली सरकार जनताको सरकार हुनै सक्दैन भन्दै नेविसंघले यस्तो संकटको समयमा पनि विद्यार्थी नेताहरुलाई झुठा मुद्दा लगाइ फसाउने तथा राज्य आतंक मच्चाउने कार्य तुरुन्त बन्द गर्न मागसमेत गरेको छ । 

नेविसंघले ओली सरकारलाई चेतावनीसमेत दिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘जसरी माता पिताले सधैँ आफ्ना सन्ततिको भलो चिताउँछन् । त्यसै गरी एउटा शिक्षक वा प्राध्यापकले सधै आफ्नो विद्यार्थीको भलो चिताउँछन् । अभिभावक र सन्ततिको झैं प्राध्यापक र विद्यार्थीको सम्वन्ध हुने गर्दछ। तर, प्राध्यापन पेशा सँग कहिँ कतै साइनो नभएका, अर्कै पेशाको प्रतिनिधित्व गर्दै राजनैतिक पॅहुचका भरमा त्रिभुवन विश्वविद्यालयमा नियुक्त भएर आएका वर्तमान उपकुलपतिले जसरी विद्यार्थी र प्राध्यापकहरुलाई झुठा मुद्दा लगाएर फसाउन आफ्नो सम्पूर्ण समय र वुद्धि खर्च गरी राख्या छन्, त्यसले उपकुलपति त्रिविलाई सुधार गर्न, प्राज्ञिक नेतृत्व लिन त्रिविमा आएका हुन् कि राजनीति गरी त्रिविलाई तहस नहस पार्न आएका हुन् भन्ने कुरा प्रष्ट हुन्छ । वर्तमान उपकुलपतिलाइ न त्रिविको सुधार र उत्थान सँग मतलब छ, न प्राज्ञिक मर्यादा कायम राख्न । समग्रमा वर्तमान उपकुलपति त्रिविको प्राज्ञिक मर्यादा  वचाएर लैजान सक्ने हैसियत नै राख्दैनन् भन्ने कुरा यस विचका विभिन्न घटना र व्यवहार मार्फत आंफैले पुष्टि गरी सकेका छन‌। त्यसैले सम्पूर्ण गुरुवरहरुमा यस्ता अप्राज्ञिक र शुद्ध राजनैतिक व्यक्तित्वका कारण भोलि कहिँ कुनै अप्रिय घटना घटे, त्यसलाइ सम्पूर्ण प्राज्ञिक जगत माथि प्रहार गरिएको घटनाका रुपमा नलिई दिनु हुन विनम्र आग्रह गर्दछौं ।’
 
नेविसंघले पक्राउ परेका नेविसंघका विद्यार्थीहरु रिहा नहुन्जेल आन्दोलन जारी रहने पनि जनाएको छ । 

नेविसंघले मंगलबार भदौ २ गते बिहान ९ बजे देश भरिका प्रमुख शहरहरुमा १० जना विद्यार्थीहरु उपस्थित भई,  सुरक्षित दुरी कायम राख्दै विरोध प्रदर्शन गर्न आह्वान समेत गरेको छ 



सोमबार ०१, भदौ २०७७ ११:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.