सीमा विवाद साम्य गर्न दुबै देशका अधिकारबीच छलफल

Yugnepal     773 पटक पढिएको    

सीमा विवाद साम्य गर्न दुबै देशका अधिकारबीच  छलफल
फायल फोटो

कञ्चनपुर – भीमदत्त नगरपालिका ९ ब्रम्हदेव क्षेत्रमा देखिएको सीमा विवादका बारेका नेपाल–भारतका सीमावर्ती क्षेत्रका अधिकारीहरुका बीच मंगलवार अनौपचारिक छलफल भएको छ । साताअघि भीमदत्त नगरपालिका ९ ब्रम्हदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तारवारका क्रममा भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि विवाद चर्किएको थियो । उक्त विषयमा नेपाल भारतका सुरक्षा अधिकारी बीच छलफल भएको हो ।

छलफलमा सीमालाई व्यवस्थित गर्ने, दशगजामा निर्माणको काम नगर्ने, सीमा नक्सांकनको कामलाई चाडै निरन्तरता दिने र तस्करी लगायतका अवैध कामलाई रोक्ने सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।

उनले बेला बेला भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरी जनतासँग आफै वार्ता गर्न खोज्दा सीमा विवाद उत्पन्न हुन गरेको बताउदै आगामी दिनमा दुबैपक्षले औपचारिक रुपमा समस्याको समाधान खोज्ने सहमति भएको बताए । उनले कहिलेकाही एसएसबी आफै नेपालमा आएर जनतासँग छलफल गर्न खोज्दा बढी विवाद हुने गरेको बताए ।

‘पब्लिकले एसएसबी र एसएबीले पब्लिकसँग डील गर्ने यो दुइटै कुुरा होइन,’ प्रजिअ खतिवडाले भने, ‘त्यसैले एसएसबीले केहि भन्नुछ भने सशस्त्रलाई भन्नुपर्यो । पब्लिकले पनि सशस्त्रलाई नै भन्नुपर्यो । मैले त्यहि कुरा मिटिङमा भनेको छु ।’ उनले दुबै पक्षबीच विवाद सृजना हुने गतिविधि रोक्न आफूले सशस्त्र प्रहरीलाई थप जिम्मा दिएको पनि प्रजिअ खतिवडाले बताए ।

‘यताको जनता र एसएसबी बीच छलफल वा भनाभन सृजना हुने गतिविधी रोक्न मैले सशस्त्रलाई जिम्मा दिएको छु,’ उनले भने, ‘सीमामा देखिएको समस्याबारे पहिले सशस्त्रले पहल गर्छ । नसके हामीले पहल गर्छौ । त्यसरी पनि भएन भने माथीबाट छलफल हुन्छ । तर, जनता आफै मैदानमा उत्रिएर समस्याको समाधान हुदैन ।’
यस्तै सामुदायिक वनमा तारवारका क्रममा एसएसबीले हस्तक्षेप गरेपछि ब्रह्मदेवका स्थानीयले भारतीय सुरक्षाकर्मीलाई गस्ती गर्न समेत अवरोध गरेका थिए । अनौपचारिक छलफलमा सीमाक्षेत्रमा दुबै देशका सुरक्षाकर्मीलाई गस्ती गर्न दिइने सहमति भएको प्रजिअ खतिवडाले बताए ।


छलफलमा नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, सशस्त्र प्रहरीका एसपी विरेन्द्रसिंह ऐर र नेपाल प्रहरीका एसपी मुकुन्द मरासिनीलगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो । भारतका तर्फबाट चम्पावतका प्रमुख जिल्ला अधिकारी ९डिएम० एन पाण्डेय, भारतीय सीमा सुरक्षा बलका अधिकारी लगायतको सहभागीता रहेको थियो ।

यसअघि पनि भारतीय पक्षले छलफलका लागि नेपाली पक्षलाई पत्राचार गरेको थियो । तर कोभिड १९ का कारण दुबै पक्षबीच वार्ता हुने नसकेपनि मंगलबार भने अनौपचारिक छलफलबाट सीमालाई व्यवस्थित गर्ने विषयमा दुबै पक्षबीच सहमति भएको हो ।



बुधबार २१, साउन २०७७ ११:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.