कैलालीको तराईमा बाढीर डुवान र पहाडी क्षेत्रमा पहिरो

Yugnepal     944 पटक पढिएको    

कैलालीको तराईमा बाढीर डुवान र पहाडी क्षेत्रमा पहिरो


शेरबहादुर ऐर /अनुमोदन खबर


खानीडाँडा  । सिमसिम पानी परिरहेको छ । कमलो माटोमा पानी भरिएर बाटो हिलाम्मे छ । हिँड्न खोज्दा खुट्टा नै चिप्लिने । तीन वर्षअघि चुरे गाउँपालिका वडा नम्बर ५ देखि वडा नम्बर १ जोड्ने कट्रेनी सडक काटिएको थियो । सो सडकबाट अघि बढ्दा ठाउँ–ठाउँमा डाँडा छन् । वर्षा भइरहेको छ, डाँडामा माटो बगिरहेको छ ।

कमलो माटो । सडकको ठाउँ–ठाउँमा पहिरो गएको छ । खहरे खोला बग्ने ठाउँमा पानी निकासका लागि बनाइएको ‘ह्युमपाइप’ को माटो बगिसकेको छ । भाँसिएको माटोले ‘ह्यूमपाइप’ पनि टिक्न सक्ने अवस्था छैन । काटिएको सडकमा भर्खरै फुटेका मुलहरूका पानी बगिरहेका छन् ।

सडकको अवस्था देखाउँदै चुरे गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरबहादुर तामाङले भने– मंसिरमा यो सडक बनायो । असारमा बग्छ ।

उनले हरेक वर्ष पहिरोका कारण सडकमा लागत बढ्दै गएको बताए । काटिएको सडकका मोडहरूका डाँडामा रहेका रुखहरू पनि ढल्ने अवस्थामा पुगेका छन् । कतिपय मोडमा ठुलठुला रुख ढलेका छन्् । रुख र डाँडाबाट बगिरहेको माटोले पैदलयात्रा समेत सहज छैन ।


‘गाडी गुडाउनका लागि बनाइएको यो सडकमा मानिस पनि हिडन नसक्ने अवस्था आउँछ हरेक वर्षामा’ स्थानीय करन रोक्कामगरले भने । उनले काटिएका सडकमा वर्षामा पहिरो गएर आवागमन अवरुद्ध हुने गरेको बताए । सो सडकका कारण बस्ती पनि जोखिममा रहेका छन्् । शुक्रबार राती कटे«नीमा अचानक आएको पहिरोका कारण २८ घरपरिवारका एक सय ५१ जना विस्थापित हुने अवस्थामा छन् । वडाध्यक्ष तामाङले भने– यो वस्ती सडकका कारण नभई अन्य कारणले पहिरोको जोखिममा रहेको छ ।

कटे«नी सडक वडा नम्बर १ सम्म पुगेको छैन । सो सडकले अहिलेसम्म एउटा वस्तीलाई मात्र छोएको छ । ‘सडक बने हामीलाई खानीडाँडाको बजारसम्म पुग्न सजिलो हुन्छ’ स्थानीय डम्मर रोक्कामगरले भने– हामीले औषधीउपचार गर्न तथा यहाँका बालबालिकाको अध्ययनका लागि खानीडाँडा बजारमै जानुपर्ने बाध्यता छ ।

सो बस्ती खानीडाँडा बजारबाट झण्डै एक घन्टाको पैदल यात्रामा पुगिन्छ । स्थानीय डम्मरले भने– हिउद तथा गर्मीमा बजार पुग्न आधा घण्टा लाग्छ । तर, वर्षातमा पहिरो र चिप्लो बाटोका कारण एक घण्टा लाग्छ ।

खानीडाँडाको मुख्य बजारदेखि गुणीगाउँ जोड्ने सडकमा पनि ठाउँ–ठाउँमा पहिरोले अवरुद्ध बनाएको छ । बिहीबार पहिरोले घर पुरेपछि विस्थापित भएका त्यस वस्तीका मानिस राहत लिन बजारमै रहेको अस्थायी प्रहरी विटमा आउँदै थिए । स्थानीय बिर्ख धामीले भने– पहिरोले गर्दा यहाँसम्म पुग्न पनि असहज छ ।

कठिन पैदल यात्रापछि प्रहरी बिट पुगेका उनले थकित मुद्रामा भने– सडक भए पनि दुःख, नभएपनि दुःख ।

चुरे गाउँपालिकामा निर्माणाधीन यी सडकमात्र होइनन्, अहिले खोलिएका नयाँ ट्रयाकका सडकहरूमा पहिरोले गर्दा अवरुद्ध भएका छन् । वातावरण विषयमा लेख्ने पत्रकार मिन ठकुरीले भने– चुरेमा जता मन लाग्यो त्यतै सडक खन्नु हुँदैन ।


हरेक वर्ष वर्षायाममा कैलालीको तराईमा बाढी तथा डुवान र पहाडी क्षेत्रमा पहिरो तथा बाढीको समस्या बृद्धि हुने गरेको छ । दुर्गम मानिएको कैलालीका पहाडी दुई गाउपालिका ९चुरे र मोहन्याल० का अधिकांस बस्ती पहिरोको जोखिममा रहेका छन् । पत्रकार ठकुरीले भने– चुरेका खहरे खोलाहरूले नै तराईमा बाढी तथा डुवानको समस्या बढ्ने गरेको छ ।

चुरे गाउँपालिकाका अहिले सबै वडाहरू सडक सञ्जालसंग जोडिएका छन् । गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरले भने– हामीले सबै वडालाई सडक सञ्जालसंग जोडे पनि वर्षातमा भने पहिरोका कारण बाटो अवरुद्ध हुने गरेको छ ।

गाउँपालिकाले सबै वडामा सडक सञ्जाल पुगाएपछि सबै टोल बस्तीसम्म सडक पुर्याउने योजना लिएको छ ।

गाउँपालिकाका अध्यक्ष धनबहादुरले अहिले खैराला जाने र ढुङ्गेनी सडकमा स्काभेटर लगाएर बाटो खोल्ने काम भइरहेको बताए ।



सोमबार १९, साउन २०७७ ०६:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.