कोरोना रोकथामका लागि ३ वटा स्थानीय तह सिल

Yugnepal     860 पटक पढिएको    

कोरोना रोकथामका लागि ३ वटा स्थानीय तह सिल


धनगढी । कोरोना संक्रमणको दर बृद्धि हुन थालेपछि स्थानीय तहहरु रोकथाम तथा नियन्त्रणका लागि सक्रिय भएका छन । सरकारले लकडाउनलाई खुकुलो गरेसंगै प्रदेशमा कोरोना संक्रमितको दर पनि ह्वात्तै बढीरहेको छ ।

कोरोना संक्रमित फेला परेका स्थानीय तहहरुले रोकथाम तथा नियन्त्रणका लागि सिल गर्ने काम अघि बढाएका छन । सुदूरपश्चिम प्रदेशमा शनिबारसम्म डडेल्धुराको अमगरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिका तथा कैलालीको गोदावरी नगरपालिकाले नगरपालिकामा सिल गर्ने निर्णय गरिसकेका छन ।

कोरोनाको जोखिम बढेपछि अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र कैलालीको अत्तरिया क्षेत्र बन्द गरिएको हो ।
शुक्रबार गोदावरी नगरपालिकाले अपिल जारी गरि बन्दका लागि आग्रह गरेपछि उद्योग बाणिज्य संघको सहमतिमा शनिबारदेखि अत्तरिया बजार बन्द गरिएको हो ।

गोदावरी नगरपालिकामा कोरोना संक्रमण फैलिदै गएको र एक जना संक्रमितको मृत्यु भएकोले अर्को सूचना जारी नहुँदासम्म नगरपालिका लगायत अत्तरिया बजार पूर्ण रुपमा बन्द गरी बजार क्षेत्रमा भिडभाड नगरिदिन अपिल गरेको छ ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले नगर क्षेत्रमा संक्रमण बढ्दै गएका कारण केही दिनका लागि बजार व्यवसाय बन्द गर्ने समझदारी भएको बताए । उनले तत्काल १५ दिनका लागि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्ने गोदावरी नगरपालिका लगायतका निकायसँग समझदारी भएको जानकारी दिए ।

गोदावरीमा गत जेठ २४ गते पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । जेठ ३२ गते कोरोना पुष्टि भएका गोदावरी १ का ४६ बर्षिय पुरुषको भने मृत्यु भईसकेको छ ।

कोरोनाको जोखिम बढेपछि डडेल्धुराको जिल्ला सदरमुकाम समेत रहेको अमरगढी नगरपालिका शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि सिल गरिएको थियो ।

डडेल्धुराको गन्यापधुरा नगरपालिका सिल गरिएको दोश्रो दिन अमरगढी नगरपालिका पनि सिल गरिएको हो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गन्यापधुरा गाउँपालिकाले बिहीबारदेख एक साताका लागि नगरपालिका सिल गरेको थियो ।

अमरगढी नगरपालिकामा चार जना मात्रै कोरोना संक्रमित पत्ता लागेको सील गरि हाल्नु पर्ने अवस्था नभए पनि नजीकका पालिकाहरुमा बढेको संक्रमणले प्रभाव पार्न सक्ने भएकोले सिल गरिएको मेयर बिशेश्वर प्रसाद ओझाले बताए ।

आफनो नगरपालिकामा संक्रमित थोरै संख्यामा पत्ता लागे पनि अन्य स्थानीय तहमा क्वारेन्टिइनबाट घर पठाइएका शंकास्पद संक्रमितहरु बजार घुम्न थालेपछि जोखिम बढेको मेयर ओझाले बताए ।

मेयर ओझाले प्रमुख बजारहरु बागबजार, तुफानडाँडा, किर्तिपुर, स्याउले, भात्काँडा, पोखरा सबै सील गरिएको जानकारी दिए ।

अमरगढी नगरपालिकासंगै जोडिएको गन्यापधुरा गाउँपालिकाले ५६ जनामा संक्रमण रहेको पत्ता लागेपछि शुक्रबार बिहान ११ बजेदेखि गाउँपालिका सील गरेको थियो ।

गन्यापधुरा गाउँपालिकाले एक हप्ताका लागि गाउँपालिका सील गरेको छ । अमरगढी नगरपालिकाले अनिश्चितकालका लागि सील गर्ने निर्णय गरेको मेयर ओझाले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका सबै पहाडी जिल्ला जोड्ने राजमार्ग डडेल्धुरा भएरै नै जाने गर्छन् । बजार सील गरेपछि अन्य जिल्लामा हुने आवागमनलाई असर नपार्न अमरगढी नगरपालिका क्षेत्र भरी गाडी रोक्न नपाउने गरी सञ्चालन हुन दिइने उनले बताए ।



आइतबार ०७, असार २०७७ ०१:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.